माननीयज्यू, ल्याइयो त पारिबाट तेल ?
काम–कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर भनेझंै संसद्मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगमाथि रस्साकस्सी चलिरहेका बेला सांसदको एउटा टोली चीनमा घुमफिर गरिरहेको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भिष्मराज आङदेम्बेको नेतृत्वमा १० सदस्यीय टोली चीन गएको हो । टोलीमा एमालेका सुवाषचन्द्र ठकुरी, माओवादी केन्द्रकी भेषकुमारी रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशकुमार लामा, नेपाली कांग्रेसका डिकबहादुर लिम्बूलगायत सभासद् थिए । त्यसैगरी, समितिका सचिव भरत खड्कासँगै आयल निगम र आपूर्ति मन्त्रालयका अधिकारी पनि टोलीका सदस्य हुन् ।
चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सम्भावना खोज्न गएको टोलीमा पेट्रोलियमसम्बन्धी कुनै पनि प्राविधिक व्यक्ति संलग्न थिएनन् । यसअघि चारपटक गएर निकै मिहिनेतसाथ अध्ययन गरेका आयल निगमका सुशील भट्टराईको प्रतिवेदन निगमले त्यत्तिकै थन्क्याएको छ ।
चीनको उपभोक्ता ऐनलगायत विषय बुझ्ने बहानामा गएको टोलीले बजार अध्ययन त गरेको छ तर कहाँ–कहाँ ज्याकेट र न्यानो लुगा किन्न पाइन्छ भनेर सोधखोजचाहिँ राम्रैसँग भएको छ । बेइजिङ पुग्दा काठमाडौंभन्दा बढी चिसो भएकाले टोलीको पहिलो काम नै ज्याकेट र न्याना लुगाको बजार पत्ता लगाउने ध्याउन्नमा थियो ।
गत वर्षदेखि नै चीन जान जुर्मुराएको उक्त टोलीलाई चिनियाँ पेट्रोल आपूर्ति गर्ने मुख्य निकाय पेट्रो चाइना र नेपाल आयल निगमबीचमा के कस्तो सम्झौता भएको छ भन्ने कुराको ख्याल थिएन । गैरप्राविधिक र निर्णायक क्षमता नभएको बुझेरै चीनका सम्बन्धित निकायले भेट गर्न आनाकानी गरे । टोलीमा संलग्न एक प्रतिनिधिले बताएअनुसार बेइजिङस्थित नेपाली दूतावासले भेट गर्न पठाएको अनुरोधपत्रलाई पेट्रो चाइनाका अधिकारीले ठाडै अस्वीकार गरिदिए । त्यति मात्र होइन, टोलीलाई डो¥याउने एक जना नेपालीले गर्दा पनि चिनियाँहरू सशंकित भएका थिए । चीनमै पहिले पढेका विश्वास श्रेष्ठले टोलीलाई डो¥याएको देख्दा दूतावासका अधिकारी दंग परेका हुन् । ती अधिकारीले भने, ‘धन्न, हाम्रो दूतावासमा मिनिष्टर काउन्सिलर विनोद आचार्य बेरोजगार रहेछन् । उनले हामीलाई सांघाई र हङकङ घुम्न सहयोग गरे । नत्र त हामी लम्फू र लण्ठु हुने रहेछौँ ।’
२४ कात्तिकमा बेइजिङ पुगेको टोलीको खुस्किसकेको धोती बाँध्ने काम दुई जना अधिकारीले भेट गर्न समय दिएर सम्भव भयो । त्यो भेट पनि नेपाली दूतावासले बल्लतल्ल मिलाएको थियो । चिनियाँ उद्योग तथा राज्य प्रशासनका चाङ माओ र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशनका चाङ थोङसँग शिष्टाचार भेट भएको हो । ‘भेटमा चिनियाँ चिया खानेबाहेक खासै प्रगति भएन ।’ ती सदस्यले हाँस्दै भने, ‘आफू त पहिलोपटक आएको । चिनियाँले चियाचाहिँ थपेको थप्यै गर्दा रहेछन् । त्यो ग्रिन टि टर्राेबाहेक भएन । भेट पनि उस्तै टर्राे भयो ।’
दोभाषेको भरमा आराम कुशलका कुरादेखि नेपाल र चीन असल छिमेकी मुलुक हुन् भन्नेबाहेक अरू केही कुरा नभएको उनले बताए । भेट गरेर बाहिर निस्केपछि केही सदस्यले यो त साह्रै परम्परागत कुरा भयो । हाम्रो कामको त केही कुरै भएन भनेर गुनासो पोख्दा आङ्देम्बेले भने, ‘अब केपी ओलीले त नसकेको काम हामीले के सक्नु र † तैपनि यिनीहरूले विकासचाहिँ प्रलय नै गरेका रहेछन् । यही हेर्न पाइयो । माननीयज्यूहरूले यही विकास हेरेको अनुभव पनि त लिने मौका पाउनुभयो नि !’
बेइजिङबाट सांघाई अनि हङकङ र मकाउको एक हप्ते चक्कर लगाएर टोली आज काठमाडौं फर्कंदै छ । टोलीले चीनमा ३० लाखभन्दा बढी खर्च गरेको छ । यो पैसा नेपाल आयल निगमले चुक्ता गर्नुपर्नेछ । नेपाली जनताले तिरेको करबाट यत्तिका धनराशि तिर्न आयल निगम तयार हुनुको पछाडि पनि रमाइलै कहानी लुकेको छ ।
व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आयल निगमलाई चीनबाट तेल ल्याउने कुरा के भयो, कहाँ पुग्यो भनेर हैरान पारेपछि लौ तिमीहरू नै गएर कुरा गर, हामीले सकेनौं भन्नका लागि निगमले लुतो पन्साउन सांसदलाई त्यता पठाएको हो ।
अनि के–के अनुभव पाइयो त भन्ने जनआस्थाको प्रश्नमा ती सदस्यले भने, ‘के हुनु नि ! बडेमाका अग्ला–अग्ला घर हेरियो । बेइजिङदेखि सांघाईसम्म रकेटझैं कुद्ने रेल चढियो । होटल र भेटघाटमा टन्नै ग्रिनटी पिइयो । सिन्का च्यापेर साह्रैै दुःखले खाना खाइयो । अनि नेपालमा पत्रकारले तेल ल्याउनुभयो त भन्लान् भनेर एक–एक सिसी तेल पनि ल्याइयो ।’ तर, उनले ल्याएको तेल गाडीको ट्यांकीमा हाल्ने नभई आफ्नै ट्यांकीमा हाल्ने खालको रहेको पनि स्पष्ट पार्दै भने, ‘चीनमा त त्यस्तो तेल धेरै सस्तो पर्दो रहेछ नि † काठमाडौंमा यो जाडोलाई ओखती हुने भयो ।’
टिप्पणीहरू