केपी ओलीका नाममा रावलको आतंक, लेखराजको कठालो समातियो

केपी ओलीका नाममा रावलको आतंक, लेखराजको कठालो समातियो

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि प्रधानमन्त्री तथा पार्टी अध्यक्षको नाममा हैकम चलाएको र सार्वजनिक कार्यक्रममा उपद्रो मच्चाउन खोजेको आरोप लागेको छ । अध्यक्षको आडमा उनले पार्टी अनुशासन तोडेर जथाभावी गर्दै हिँडेको बताइन्छ ।

पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टसँग पनि रावलले लफडा गरेको दाबी गरिएको छ । केन्द्रीय सदस्य नारदमुनि राना र प्रदेशका पूर्व उद्योग,पर्यटन,वनमन्त्री लक्ष्मणकिशोर चौधरीसँगको 'घुसकाण्ड' मा नाम जोडिएको विषयलाई लिएर सम्झाउन खोज्दा उनले माओवादी पृष्ठभूमिका लेखराजको कठालो समात्न खोजेको चर्चा चलाइएको छ । 

एमाले स्रोतका अनुसार नारदमुनिलाई काण्डमा बचाउन नहुने भन्दै रावलले लेखराजलाई हप्कीदप्कीसमेत गर्न भ्याइसकेका छन् । माओवादीहरुले सच्चा एमालेसँग धेरै निहुँ नखोज्नसमेत चेतावनी दिने गरेको दाबी छ । यो सब उनले अध्यक्ष ओलीको नाम भजाएर गरिरहेको नेताहरु बताउँछन् ।  

प्रदेश कमिटीका एक नेता भन्छन्, 'रावलसँग न प्रदेश सभामा एक जना सांसद छन्,न त कार्यकर्ता नै सन्तुष्ट । तर पनि ओलीको नाममा उनको हैकम चलिरहेको छ ।' 

अरुको काण्ड खोतलेर बाहिर ल्याएको बात लागेका रावलमाथि सरकारी सुविधा दुरुपयोग गरेको आरोप छ । बालकोटसँग नजिक हुन नसकेका कमरेडहरुको भनाई पत्याउने हो भने प्रदेशका कानून मन्त्री आफ्नै पार्टीका समानुपातिक सांसद हिरा सार्कीलाई फस्ल्याङ्गफुस्लुङ्ग पारेर मन्त्रालयको कार चढ्ने गरेका छन् । जबकि सत्तापक्षीय संसदीय दलको नेतालाई प्रदेश सभा सचिवालयले गाडी उपलब्ध गराउने कानूनी व्यवस्था छ । तर,रावलले भने भिआइपीहरुको सवारीको लागि कानुन मन्त्रालयले राखेको महँगो गाडीमा आँखा लगाएका हुन् । 

कानुनत: सरकारी गाडी त्यसरी दिन नमिल्ने अडान राख्दा सार्कीलाई पदबाट खुस्काइदिने धम्की दिएर बाध्य पारिएको भन्नेहरु पनि नभएका होइनन् । तर, रावलका सहयोद्धा कन्चनपुरका एक कमरेड भने मन्त्रीलाई थर्काएर गाडी लिएको कुरा विश्वास गर्न नसकिने बताउँछन् । 

यता,एउटा सरकारी कार्यक्रममा अतिथि बनेर गएका बेला बवण्डर मच्चाएको आरोप पनि रावलकै थाप्लोमा खनिएको छ । भनिएअनुसार मुख्यमन्त्री कार्यालय मातहतको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बजेट तयारीका सन्दर्भमा सांसदहरुलाई प्रशिक्षण कार्यक्रम राखेको थियो । कैलालीको गोदावरीस्थित बाटिका होटलमा आयोजित कार्यक्रममा ५३ जना माननीय,नीति आयोगका प्रतिनिधि र विभिन्न क्षेत्रका विज्ञहरु उपस्थित थिए । आयोजकले गोपी मैनालीलगायतको प्रस्तुतिकरण रहेको कार्यक्रममा रावल अराजक शैलीमा प्रस्तुत भए । 

त्यहाँ सहभागी एक संसदले उक्त दिनको लफडा यसरी सुनाए- कार्यक्रममा रावललाई पूर्व मुख्यमन्त्रीको हैसियतमा मन्तव्यका लागि निम्त्याइएको थियो । टिप्पणीकर्ताको रुपमा मञ्चमा बोलाइएका उनी आफूलाई बोल्ने समय कम छुट्याएर आयोजकले अपमान गरेको भन्दै बम्किन थाले । लामो भाषण गरेका उनलाई आयोजकले छिटो गर्न भने पनि नमानेपछि सहभागी अधिकांश हल छोडर बाहिर गए । तर, पनि रावलले माइक छोडेनन् । र आफू बोलिरहँदा किन सबैजना बाहिर गएको भन्दै निहुँ खोजेर हलभित्र हङ्गामा मच्चए । एमालेका केही मन्त्री र मुख्यमन्त्रीले पहिलो दिन थामथुम पारे पनि भोलिपल्ट फेरि हलभित्र भाँडभैलो मच्चाएको उनै सांसद बताउँछन् ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रावलमाथि पार्टीको विधान र देशको कानुन मिचेर विदेश भ्रमण गरेको आरोप पनि लागेको थियो । भारतका विभिन्न कार्यक्रममा उनी त्यसरी सामेल भएको दृष्टान्त सुनाउँदै एमालेकै नेताहरु असन्तुष्टि जनाउँछन् । भ्रमणकै विषयलाई लिएर एकचोटि त सांसदहरुले प्रदेश सभा बैठक नै अवरुद्ध पारेका थिए ।

रावललको 'श्री एअरलाइन्स काण्ड' पनि एकथरीले निकै महत्वका साथ यस्तैबेला चर्चामा ल्याउने गरेका छन् । बताइएअनुसार केपी बालाई भेट्न धनगढीबाट काठमाडौँ उडेका उनले जहाजको अघिल्लो सिटमा बस्न नपाएको भन्दै हल्लाखल्ला गरेका थिए, जसलाई पार्टीभित्रै विरोधीहरुले श्री एअरलाइन्स काण्ड भन्ने गरेका छन् । स्रोतका अनुसार रावलले जहाजभित्र गरेको 'उध्दण्ड हर्कत' को भिडियो 'बा' लाई पनि देखाइएको थियो । 

प्रत्यक्ष निर्वाचित सांसदहरुलाई पाखा लगाएर संसदीय दलको नेता भएका रावल एमाले बझाङको इञ्चार्ज पनि हुन् । अध्यक्ष ओलीको खास पात्र उनको अर्को परिचय हो । एकपटक महेन्द्रनगरको आमसभामा ओलीले भीम रावलप्रति लक्षित गर्दै 'सुदूरपश्चिममा अरु रावल पनि छन्' भनेर भाषण गरेदेखि राजेन्द्र रावल फुर्किएको एमाले सुदूरपश्चिमका एक नेताको ठहर छ ।उनलाई एमालेकै कार्यकर्ताले अहिले अर्को दुर्गा प्रसाईंको संज्ञा दिएको पाइन्छ ।

टिप्पणीहरू