रवि र छवि बत्ती निभाएर छिट्टै सुकला

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. को बचत रकम हिनामिना प्रकरणमा गत माघ १३ गते रूपन्देही जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रूपैयाँ धरौटीमा छाड्ने आदेश गर्दा आफूमाथि अदालतले न्याय दिएको अभिव्यक्ति दिने रवि लामिछाने उक्त आदेश उच्चबाट उल्टिएसँगै भैरहवा कारागारको पाहुना बन्न पुगेका छन् । सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा कात्तिक २ गते पक्राउ परेकोमा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ गते र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा माघ २ गते रिहा भएका लामिछानेलाई रूपन्देहीको एक करोड धरौटी अलि बढी लाग्यो र उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा साधारण धरौटीको माग लिएर पुगे । न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा संलग्नता देखाउँदै जिल्लाको फैसला उल्टाएर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
चैत २२ को सो आदेशलगत्तै काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री लामिछानेलाई सोमबार पुर्पक्षका लागि थुनामा पठाइएको हो । ५ सय ९७ जना कैदी रहेको भैरहवा कारागारको चार नम्बर ब्लकमा उनलाई एक्लै राखिएको छ । पहिलो ब्लकमा तीन सयभन्दा बढी बन्दीसँगै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ झण्डै १४ महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । गोर्खा मिडियाको उपाध्यक्ष रही सहकारी ठगी प्रकरणमा परेका पूर्व डिआईजी छविलाल बञ्जाडे जोशी पनि पुर्पक्षकै लागि उक्त कारागारको दुई नम्बर ब्लकमा राखिएको छ ।
सोमबार बिहान सवा ११ बजे लामिछानेलाई रूपन्देही जिल्ला अदालतबाट आदेश लिएर कारागार पु¥याइएकोमा कार्यकर्तासँग भेटघाटपछि उनी आठ–दश जना बन्दी राख्न मिल्ने चार नम्बर ब्लकमा पसेका थिए । ‘अर्को ब्लकमा पाकेको मेसको खानुभो, साँझ छिट्टै बत्ती निभाउनुभो’, कारागार श्रोतले भन्यो, ‘पहिलो दिन थुनाभित्र गएपछि कसैसँग भेट भएन ।’
गत शनिबार बिहान यति एयरको उडानबाट भैरहवा ल्याइएका लामिछानेलाई प्रहरी कार्यालयमा दुई रात छुट्टै कोठामा एक्लै राखिएको थियो । तीन वटा पुरुष थुनुवा कक्षमध्ये एउटा खाली गराएर उनलाई मात्र राखिएको हो । त्यहाँ पनि उनले प्रहरी मेसमा पाकेको खाएका थिए । पुर्पक्षका लागि थुनामा राख्ने उच्चको आदेशबिरुद्ध सर्वोच्च जाने उनका कानुन व्यवसायीको तयारी छ । सुप्रिम सहकारी ठगी प्रकरणमा ४२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएको छ । सहकारीमा बचत गरेको सर्वसाधारणको रकम ठगी गरेको भन्दै एक हजारभन्दा बढी पीडितले एक अर्ब तीन करोड रकम अपचलन दाबीसहित उजुर गरेका थिए । छानबिनका क्रममा गतवर्ष २८ जनाविरुद्ध मुद्दा दायर हुँदा बहालवाला उपप्रधानमन्त्रीको हैसियतमा रहेका लामिछाने र छविलाल जोशीको नाम थिएन । तर, पछि ४२ जनालाई प्रतिवादी बनाएर पुरक मुद्दा दायर भएको थियो । जसमध्ये २७ जना फरार र ९ जना धरौटीमा छुटेका छन् ।
आफैंले समयमै उजुर गर्दा पनि नसमातेकोले यो समस्या निम्तिएको बताउने सहकारीका अध्यक्ष गुरुङ भने छवि र रवि थुनिंदा केही आशा पलाएको बताउँछन् । अब जिबीलाई पनि समातेर बचतकर्ताको रकम फिर्ता गराउनुपर्ने उनको भनाइ छ । उनले शुरुदेखि नै अध्यक्ष राईसहित व्यवस्थापक सागर केसीलाई पक्राउ गरे सबै सत्य तथ्य खुल्ने जिकिर गरिरहेका छन् । तीन वटै अभियुक्त एउटै कारागारभित्र भएपनि उनीहरू अलग–अलग ब्लकमा भएकाले कुराकानी हुन पाएको छैन ।
टिप्पणीहरू