एकपछि अर्को सरकारी कार्यालयमा सर्वसाधारणको बिजोग
सरकारी कार्यालयको सर्भर डाउन हुनु र बिग्रिनु पछिल्लो समय सामान्यझैं भइसकेको छ । हरेक दिन कुनै न कुनै निकायको सर्भर बिग्रिएको खबर आउने गरेको छ । बारम्बार सर्भर बिग्रिरहँदा पनि सरकारले ‘अपग्रेड’ मा चासो देखाएको पाईंदैन । सरकारी बेवास्ताले गर्दा सेवाग्राहीले अनाहकमा दुःख पाइरहेका छन् । भन्सार विभागको सर्भरमा देखिएको समस्या समाधान हुन नपाउँदै वैदेशिक रोजगार विभागको सर्भर बिग्रिएपछि सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन् ।
जो दिँउसोदेखि सर्भरले काम गर्न छाडेको छ । ‘काम चलाऊ’ रुपमा सर्भर मर्मत गरेर सञ्चालनमा ल्याइएको विभागका एक कर्मचारीले बताए । उनका अनुसार सर्भर पुनः बिग्रिने सम्भावना छ । सर्भरमा बेलाबखत समस्या आइरहेपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थायी रुपमा समाधान गर्न तदारुकता नदेखाएकोमा उनले दुःखेसो पोखेका छन् ।
विभागमा सञ्चालनमा रहेको ‘वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)’ मा केही महिनाअगाडि मात्रै समस्या देखिएको थियो । बारम्बार सर्भर बिग्रिने समस्याले कर्मचारीसमेत आजित भइसकेका छन् । ‘विभागको सर्भर समय समयमा बिग्रिरहन्छ । हिजोदेखि सेवा ठप्प भएको थियो, बल्लतल्ल आज दिउँसो २ बजेदेखि चल्न थाल्यो । सर्भर नचलेको भए विदेश उड्न लागेका सेवाग्राही अलपत्र पर्थे । विभागमा बारम्बार सर्भर बिग्रिरहने समस्याले हामीपनि हैरान बनिसकेका छौं’,उनको गुनासो छ ।
सन् २०१३ मा जडान गरिएको सर्भरलाई २०१६ देखि पूर्ण क्षमताको बनाइएको थियो । त्यसबेला वैदेशिक रोजगारीमा जानेको संख्या हेरेर जडान गरिएको सर्भरले अहिले चाप धान्न सकिरहेको छैन । बिग्रेको सर्भर बनाउन विभागमै प्राविधिक टोली भएपनि उनीहरुको हातमा केही छैन । नयाँ सर्भर खरिद नगरेसम्म सो समस्या बल्झिरहने प्राविधिकहरुको गुनासो छ । तीन हजारसम्मले प्रयोग गर्दा सर्भर ‘स्मुथ्ली’ चल्छ । तर, एकैपटक साढे पाँच हजारसम्मले चलाउने हुनाले सर्भरले विस्तारै काम गर्छ ।
सोही कारण कर्मचारीहरु कार्यालयबाट निस्केर घर पुगेपनि कार्यालयको काम गर्न बाध्य छन् । एक प्राविधिक भन्छन्,‘फेमिसको क्षमता तीन हजारसम्मको छ । त्यतिले चलाउँदा राम्रोसँग चल्छ । त्योभन्दा बढ्नेबित्तिकै एकदमै स्लो हुन्छ । काम गर्नै गाह्रो पर्छ । टोकन लिइसकेकाहरुलाई सेवा दिनैपर्ने भएकाले कर्मचारीहरु राति पनि काम गर्छन् । अहिले भएको सर्भरमा क्षमता अपग्रेड गर्न मिल्दैन् । नयाँ नै खरिद गर्नुपर्ने हुन्छ । मन्त्रालयमा यो विषयमा पटकपटक कुरा राख्दापनि गम्भीर नै हुँदैनन् ।’ एकाध दिन मात्र सर्भर बिग्रिएमा सेवाग्राहीको बिजोग हुने गरेको उनको भनाइ छ ।
सर्भरले काम नगर्दा कैयौंपटक सेवाग्राहीलाई अध्यागमन विभागसँगको समन्वयमा विदेश पठाइएको उनले बताए । तर, सँधै त्यो सम्भव नभएको उनको जिकिर छ । विभागको सर्भरको ठेगान नहुँदा विदेश उड्न लागेकाहरुको टिकट खेर जाने गरेको छ । कतिपय उड्ने दिनसम्म विभागकै चक्कर काटिरहेका हुन्छन् ।
टिप्पणीहरू