बालेनका दाह्रा नङ्ग्रा फुकाल्न थालियो धमाधम

प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा उपमेयर,वडाध्यक्ष र कर्मचारीको साथ नपाएपछि एक्लिएका काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साह थप अप्ठेरोमा पर्दै गएका छन् ।
पदीय जिम्मेवारीका हिसाबले अभिभावकीय भूमिकामा रहनुपर्ने मेयर सबैसँग पंगा लिन थालेपछि 'किन रोइस् मंगले आफ्नै ढंगले' भनेजस्तै भएका हुन् । यसअघि उनका एकलकाँटे स्वभाव र हस्तक्षेपकारी कार्यशैलीबाट आजित वडाध्यक्ष र कर्मचारीहरु अब भने 'वारपार' को मनस्थितिमा पुगेको देखिन्छ ।
नगर प्रहरी लगाएर प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास असफल भएसँगै ओरालो लागेका बालेनलाई केही दिनयता एकपछि अर्को प्रतिकूल निर्णय सामना गर्न परिरहेको छ । पछिल्लो पटक महानगरका कर्मचारी र वडाध्यक्षहरुको च्याम्बरमा जडान गरिएका सिसिटिभी निकाल्न थलिएको छ ।
मेयरबाहेक महानगरका अन्य कर्मचारी र वडाध्यक्षको कोठामा अडियोसमेत सुनिने र रेकर्ड हुनेगरी सिसिटिभी जडान गरिएको छ । बालेनले आफ्नै च्याम्बरमा बसेर सिसिटिभी हेर्दै सारा कन्ट्रोल गर्ने गर्थे । कानुनत: उक्त कार्य व्यक्तिगत गोपनीयताको हक विपरित भए पनि त्यसविरुद्ध अहिलेसम्म कसैले बोल्न आँट गरेको थिएन ।
हिजो बसेको सुशासन समितिको बैठकले सबैतिरका सिसिटिभी हटाउने निर्णय गरेको र हिजै प्रमुख कार्यकारी अधिकृत गुरागाईको कोठाबाट झिक्न शुरु गरेको बताइएको छ । उक्त समितिको प्रमुख २६ नम्बरका वडाध्यक्ष खेम तिवारी हुन् । कांग्रेसबाट निर्वाचित उनी नेतृत्वको समितिले बालेनले मात्र प्रयोग गर्दै आएको लिफ्ट सबैका लागि खुला गर्ने निर्णय पनि गरेको छ ।
हिजो बसेको सुशासन समितिको बैठकले सबैतिरका सिसिटिभी हटाउने निर्णय गरेको र हिजै प्रमुख कार्यकारी अधिकृत गुरागाईको कोठाबाट झिक्न शुरु गरेको बताइएको छ । समितिले बालेनले मात्र प्रयोग गर्दै आएको लिफ्ट सबैका लागि खुला गर्ने निर्णय पनि गरेको छ ।
केपी ओली प्रधानमन्त्री भएदेखि एमालेसँग लफडा पर्दै आए पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु तटस्थ बस्दा कार्यपालिकामा बालेनलाई चुनौती थिएन । तर,यसपटक प्रशासकीय अधिकृतलाई रोक्न बालेनले जस्तो शैली अपनाए त्यसप्रति कांग्रेसी जनप्रतिनिधि बढी आक्रोशित देखिएका छन् । महानगर प्रवक्तासमेत रहेका वडाध्यक्ष नवीन मानन्धरले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा बालेनलाई 'राजा हैन महाराजा' भनेर कटाक्षसमेत गरेका थिए ।
उपमेयर,वडाध्यक्ष हुँदै कर्मचारीसम्म एकतिर उभिएपछि एक्लिएका मेयर बालेन लामो समयदेखि कार्यालयसमेत गएका छैनन् । हिजो सुशासन समितिले सिसिटिभी झिक्ने निर्णय गरिरहँदा उनी ढुंगेधाराको अवलोकनका लागि गएका थिए । अहिले नगर प्रहरी प्रमुख राजु पाण्डेबाहेक प्राय: सबै कर्मचारी मेयरको विपक्षमा देखिन्छन् ।
सामाजिक सञ्जालको कथित लोकप्रियताले फुर्किएका बालेनले सबैलाई पेलेर जान खोजेपछि यो अवस्था निम्तिएको एकजना वडाध्यक्षको बुझाई छ । जनप्रतिनिधिहरु एक ठाउँमा उभिएको बेला प्रमुख प्रशासकीय अधिकृतले खेल्ने भूमिकाले धेरैकुरा निर्क्यौल गर्ने उनी बताउँछन् ।
तर, नेपाल सरकारको सहसचिवसमेत रहेका सरोज गुरागाई जोखिम उठाउन सक्ने आँटिला कर्मचारी होइनन् । राजेश्वर ज्ञवालीले जस्तो आवश्यक पर्दा ड्याङ्ग निर्णय लिनसक्ने खुवी उनले अहिलेसम्म देखाउन सकेका छैनन् । कर्मचारी र जनप्रतिनिधिको समर्थन रहेको बेला अहिले उनले चाहने हो भने राजु पाण्डेको फुली खोस्नसमेत सम्भव छ भन्छन् उनै वडाध्यक्ष ।
टिप्पणीहरू