हामी त थरुनी, कसो गरूँ नि !
- नीरा भगत थारू
आफ्नै भाषा, आफ्नै भेष । पोसाक र परिवेश पनि आफ्नै । मौलिक खाना तथा मौलिक व्यवहार एवं मौलिक कार्यशैलीयुक्त जीवन पद्धति । यी हुन्, थारू समुदायको जीवनचर्या । थारूमा छोराछोरीबीच, छोरी–बुहारीबीच, बुहारी–बुहारीबीच तथा धनी–गरिबबीच सम्बन्धमा कुनै फरक पर्दैन । घरमा कामको बाँडफाँड उमेर र शारीरिक अवस्थाका आधारमा गरिन्छ । नाता र लिंगको आधारमा विभेद गरिँदैन । काम त पुरुषले पनि गर्छन् । तर, थारू समुदायमा महिलाले (जसलाई प्रचलित भाषामा थरुनी पनि भनिन्छ) काम अझ बढी गर्छन् । त्यसमा कसैले अह्राएर वा गुहारेर होइन, आफंै स्वावलम्बी बन्ने क्रममा ज्यादा परिश्रम गरेका हुन्छन् ।
आफ्नो घरको धन्दालाई सामान्य कामको रूपमा लिने थारू महिला घरेलु कामलाई कामको लेखा नै मान्दैनन् अथवा गणना गर्दैन । घरको काममा मान्छे तथा वस्तुभाउको घाँसपात, अन्न पानीको व्यवस्था मिलाई मेलाको काममा पुग्छन् । मेलाको काम भन्नाले धान, मकै, गहुँ आदि अन्नबाली रोप्ने, गोड्ने, काट्ने, माड्ने काम गर्छन् भने अरू अन्नबाली पनि उत्पादनमा पुरुषको आस गरेर आफू नसक्ने र अवला बन्न चाहँदैनन् । खेतबारीको काममा पुरुषभन्दा बढी नै गर्लान् तर कम गर्दैनन् । दिउँसोभरि खेतबारीमा चटारो गरी काम गरेका थारू महिला हाटबजार गर्न पनि छाड्दैनन् । काम गर्न वा परिश्रम गर्न, आफ्नो काम आफंै गर्दा लाज–संकोच, अहं वा घमण्ड, ठूलोपनको महसुस हुँदैन ।
दिउँसो २ बजेसम्म खेतीको काममा लागे पनि खाना, खाजा खान घर आएपछि तुरुन्त आफ्नो घरमा उत्पादन भएको बिक्री गर्नुपर्ने अन्नबाली, तरकारी, दाल, फलफूल, अन्डा, हाँस, कुखुरा वा खसी–बोका आदि बिक्री गर्नुपर्ने चिज लिएर हटिया, हाट बजार पनि पुग्छन् । थुचुक्क बस्छन् । अरू पेशेवर व्यापारीको भन्दा उनीहरूको वस्तु उपभोक्ताले पनि मन पराउँछन् किनकि ताजा, सस्तो र राम्रो पनि हुन्छ । यसमा बिचौलियाले ठग्न पाउँदैन किसानबाट सिधा उपभोक्तासम्म पुग्न सफल हुन्छ । सामान बेचिसकेर सन्ध्याकालमा घर फर्कन थारू महिला निडर, स्वाभिमानी र हक्की स्वभावका हुन्छन् । कसैले ठग्न, तर्साउन, धम्क्याउन सितिमिती आँट पनि गर्दैन । देखेको सत्य कुरा बोल्ने र न्यायिक प्रकृतिका पनि हुन्छन् ।
यसबाट उनीहरूले आफ्नो परिचय आफंै निर्माण गरिरहेका हुन्छन् । उनीहरू आफंै उत्पादनमुखी भएका कारण पुरुषबाट हेपिनुपर्दैन । आफ्नो आयस्रोतअनुसार नगद पनि आफ्नो हातमा आउने भएकाले पुरुषसँग पैसाका लागि हात पसार्नुपर्दैन बरु आवश्यकताअनुसार पुरुषलाई पैसा दिन्छन् । जसबाट आर्थिक रूपले आत्मनिर्भर बन्न पुग्छन् । गाउँ घरको न्याय–अन्याय छुट्याउन पनि जानेका छन् । कतै विवाद भए उनीहरूले कुन पार्टी, कुन जात, कुन समुदाय, के नाता केही नकेलाइ जे देखे त्यही बताइदिन्छन् र हिँडिहाल्छन् किनकि समयको महत्व थारू महिलाले बुझेका छन् । जतिसुकै पढेको र जेसुकै पदमा पुगेका महिला भए पनि जब गाउँमा आउँछन् तब उनीहरू आफ्नै पोसाक लगाउन र आफ्नै परिवारको खाना खान रुचाउँछन् अनि घरमा काम गर्न पनि अल्छी मान्दैनन् । उदाहरणका लागि अहिले तराईमा धान काट्ने समय छ । त्यहाँ गयौँ भने हामीले देख्छौँ, थारू समुदायका महिला धान काट्ने काममा पुरुषको तुलनामा बढी नै सक्रिय छन् । काट्नलाई मात्र होइन, त्यसलाई दाउनी गर्ने, धान निफनेर चामल छुट्याउने काममा पनि थारू समुदायका महिलाको अग्रसरता रहने गरेको छ । यसमा पुरुषको पनि साथ त रहन्छ । तर, अगुवाइ महिलाकै हुने गरेको छ ।
खाने थारू परिकार आफ्नो इच्छा, धार्मिक आस्था, परम्पराअनुसार प्रचलन गरिन्छ । कुनै थारू दास, अथवा माछा–मासु नखाने वैष्णव पनि हुन्छन् । उनीहरूले घाँटीमा तुलसीको कण्ठी लगाएका हुन्छन् । कोही मुसा पोलेर मीठो अचार बनाउने पनि हुन्छन् । तर, खास गरेर हाँस र कुखुराको मासुको परिकारचाहिँ थारू समुदायमा प्रिय खाना मानिन्छ । घरको काममा अभिभावकलाई सहयोग पु¥याउने थारू किसानका छोराछोरी पढाइमा पनि अब्बल दर्जाकै छन् । थारू समुदायको मुख्य पेसा किसान भएर पनि नवयुवा सबै प्रकारका जागिरमा संलग्न छन् । समयको महŒव र आर्थिक महŒवमा उनीहरूले आफ्नो जीवनपद्धतिसँग गाँसेर राख्ने चलन चलाएका छन् । घरमा आफ्नो खेतीबारीमा रहेको २ वटा केराको बुंगो भए पनि बेच्न राखेर सदुपयोग गर्ने यो समुदाय समाजमा गाह्रो–सारो पर्नेलाई निःशुल्क सहयोग पनि गरिरहेका हुन्छन् । काम गर्दा मौरीजस्तै मिहिनेती थारू महिला खाना पनि मीठो खान रुचाउँछन् ।
जिरामा लसुन, खुर्सानी मिसाएर पिसेको मसला जे तरकारीमा राखे पनि मगमग वास्ना आउने परिकार बन्छ । धनी हुन् कि गरिब, केटाकेटी हुन् कि बूढाबूढी आफ्नो मिहिनेत गर्न उनीहरूले जानिरहेका हुन्छन् । मेलापात नजाने, हाटबजार नजाने परिवारका सदस्य छन् भने धेरै बस्दा पनि विनाकाम हात बाँधेर बस्न जानेका हुँदैनन् । ढक्की, चित्रो, मान्द्रो, गुन्द्री बनाउनेदेखि गाईवस्तुको कामसमेत गरिरहेका हुन्छन् । अनि त काम, कामका पछि खाने गर्छन् माम † आफ्नो कामले आफ्नो स्वाभिमानलाई थारू महिलाले सदा उच्च राख्न सफल भएका छन् ।
टिप्पणीहरू