विषय प्रवेश नै नगरी कार्यदलको बैठक सकियो

विषय प्रवेश नै नगरी कार्यदलको बैठक सकियो

नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको आजको बैठक औपचारिकतामा सीमित भएको छ । कार्यदलले आजै सहमतिको खाका प्रस्तुत गर्ने भनिएकोमा त्यसबारे छलफलै नभएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा ३ घण्टासम्म भएको छलफलमा कार्यदलका सदस्यहरुले आ-आफ्ना धारणा मात्र राखेको पाण्डेले जानकारी दिनुभयो । बैठकमा सामान्य छलफल भएको र सुझावका रुपमा आ-आफ्ना कुरा राखिएको उहाँले बताउनुभयो ।

‘आजको बैठकमा जेनेरल कुरा भयो । पर्सनल ओपिनियन मात्र राख्ने काम भयो । ठोस छलफल भएन’, संक्षिप्त जानकारी दिँदै उहाँले भन्नुभयो । कार्यदलको अर्को बैठक भोलि बस्ने तर समय भने तय नभएको नेता पाण्डेले जानकारी दिनुभयो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता भंग गरी एमाले र माओवादी ब्युँताइदिएपछि शुरु भएको एमाले बिबाद अहिले उत्कर्षमा छ । अदालतको फैसलाले एमालेलाई माओवादीसँग एकतापूर्व अर्थात् २०७५ जेठ २ को अवस्थामा पुर्याएपनि अध्यक्ष केपी ओलीले फागुन २८ गते एकपक्षीय रुपमा संगठनसम्बन्धी निर्णय गरेपछि थप चर्किएको बिबाद मिलाउन कार्यदल गठन गरिएको थियो ।

तर, माधव नेपाल पक्षधर कार्यदलका संयोजक भीम रावल कारवाहीमा परेपछि निस्क्रिय भएको कार्यदल हिजोदेखि सक्रिय भएको हो ।

टिप्पणीहरू