जिउ मोटायो कि धाँजा फटायो ?

शरीरका अंगहरुबीच नै स्वच्छता र समन्वय भएन भने जिउ मोटाउनुको के अर्थ ? एमालेमा यस्तै स्थिति देखा पर्दैछ । आफूलाई माधव नेपालनिकट भन्ने मोहन घिमिरे, भोला पोखरेल र लेखनाथ देवकोटाहरु नै समानान्तर समूह बनाएर कर्मचारी संगठनको चुनावमा भिड्दै छन् । निजामती कर्मचारीबीच सबैभन्दा शक्तिशाली मानिने एमालेनिकट संगठनका अलग–अलग समूह यही २७ देखि २९ गतेसम्म नेपालगञ्जमा आपसी प्रतिस्पर्धा गर्दै छन् ।

एउटा समूहको नेतृत्व हालका अध्यक्ष मोहन घिमिरेले गर्दै छन् भने केदार देवकोटा नेतृत्वको अर्को प्यानललाई आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालको समर्थनप्राप्त छ । अचम्मको कुरा त के छ भने केदारको टोलीलाई समर्थन दिने पुण्य एमाले पार्टीभित्रको गुटगत लडाइँमा अध्यक्ष केपी ओलीनिकट मानिन्छन् । यो समूहबाट बरिष्ठ उपाध्यक्ष या महासचिवमा लेखनाथ कोइरालाको सम्भावना छ । हालका महासचिव रेवन्त गौतम दोहोरिन इच्छुक देखिन्छन् तर उनलाई नवौं महाधिवेशनमा पराजित महेन्द्र विक (त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत) जीवन काफ्ले, गंगा सुनुवार र लक्ष्मणबहादुर खड्कामध्ये कसैले टक्कर दिने तयारी छ ।

शनिबारसम्म सम्पन्न नेपाल निजामती कर्मचारी संगठनको जिल्ला र विभागीय १२३ वटा अधिवेशनबाट लेखनाथपक्षले कूल ८ सय मतदातामध्ये झण्डै दुई तिहाई समर्थन हासिल गरेको स्रोतको दाबी छ । यसअघि जिल्ला र विभाग गरी आधिकारिक ट्रेड युनियनको लागि सम्पन्न ११७ वटा निर्वाचनमा ८० स्थान जितेको एमाले अहिले आफैंभित्रको अन्तरद्वन्द्वमा नराम्ररी फस्न लागेको हो ।

ट्रेड युनियनमा दुई ठाउँ जितेको माओवादी समानुपातिक प्रणालीअन्तर्गत सचिव र तीन सदस्य लिएर केन्द्रमा पुगेको छ भने १९ वटा कार्यसमितिमा विजयी नेपाली कांग्रेसले महासचिवसहित सात स्थान पाएको छ । ८० वटा कार्यसमिति जित्न सफल एमालेले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय समितिमा ११ स्थान सुरक्षित गर्न सफल भएको छ । तराईका सात जिल्ला सर्लक्कै जितेका मधेसी दलहरुले भने १० प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसक्दा राष्ट्रिय मान्यता पाएनन् । अनि सबैतिर प्रचण्ड बहुमत हासिल गर्ने एमाले आफैंभित्रको खिचातानीका कारण वल्लो घर कि पल्लो तीरको अवस्थामा पुग्दैछ ।

टिप्पणीहरू