नाङ्गो नाच नदेखाए हुन्न नेतागण !
– दिनेश रायमाझी
आम मान्छेको जिन्दगीलाई राजनीतिक मान्छेले कसरी हेर्छन्, बुझ्छन् होला ? खास गरेर कार्यकारी पदमा भएका राजनीतिक मान्छेहरूको मस्तिष्कमा आममान्छेहरूको चित्र कस्तो होला ? तिनका प्रतिको धारणा कस्तो होला ? यो प्रश्नले घरिघरि झक्झक्याउने गर्छ ।
कुरा तलबाटै गर्दा राम्रो होला, सिलसिलेवार बुझ्न सजिलो हुन्छ । गाउँका सामान्य मान्छे थिए उनी हामीजस्तै तर राम्रा कार्यकर्ता । मलामी, पर्म, गर्जोपर्जोमा सहयोग गर्ने । स्वाभाविकै हो छनोट, सिफारिसमा उनै परे र वडाध्यक्षमा चुनिए । तोकिएकै छ तलब भत्ता यति भनेर सो आउने नै भयो, सेतो प्लेटको सवारीसाधन पनि छ । पहिले दुई सय बीस लाग्थ्यो चारकिल्ला सिफारिस लिन ।
त्यतिबेला यिनले धेरै भयो, गरिबले कसरी तिर्छन् भन्थे, विरोधै गर्थे । अहिले त्यही चारकिल्ला सिफारिस लिन ३ हजारभन्दा धेरै लाग्छ दस्तुर र त्यो सिफारिसमा तिनै वडा अध्यक्षको हस्ताक्षर छ । तिनी चुइँक्क बोल्दैनन् किन भाउ बढाएको भनेर सोध्दा । कसरी तिर्ने हामीले भन्दा जीब्रो चपाउँछन् । मर्न पर्ला तर बोलेर उत्तर दिन्नन् । हिजोका दिनमा दुई सय ३० तिर्न दाँतबाट पसिना चुहाउने तिनैले आज यति धेरै दर बढाएका छन् । जनताले कसरी तिर्लान् भन्ने कुनै चिन्ता छैन । आफूले सिफारिस लिँदा दस्तुर तिरेर लिन्छन् कि मिनाहा गराउँछन् होला? र वडाध्यक्षबाट हट्दाको दिन के गर्लान् र के भन्लान् यिनले ?
यिनले यतीकाे स्वार्थ हेर्छन, अाेम्नीकाे स्वार्थ हेर्छन् तर खान र लाउन नपाएका, बिरामी हुँदा उपचार गराउन नसक्नेका, बालबच्चालाइ पढाउन नसक्नेका समस्या हेर्दैनन् ।
अलि ठूलाको कुरा गरौं !अहिले चुनाव जितेपछि माननीय र मन्त्री भएकाहरू धेरै छन् । चुनाव प्रचारमा, भोट माग्न घरमा आउँदा तिनले डहरबाटै ए फलाना भन्दै नाता जोडेर चिच्याउँदै सञ्चो बिसञ्चो सोध्दै भित्र आउँथे र हामीले नमस्कार गरेको हात आफ्नो दुई हातले च्याप्पै समातेर चारहात बनाई आफ्नो निधारमा लगेर जोड्दै भन्थे– यहाँको आशीर्वाद चाहियो ! म त ढुक्कै छु यो घरबाट यति भोट मेरै हो, जित पक्का हुनेछ । जनताको भोट पनि एक र माननीयको परिवारको भोट पनि एक । फकाउने, फुक्र्याउने त कति हो कति र आश्वासनका पोका पनि सास नफेरी एकैसासमा खोल्थे । गुजारा कसरी चलेको छ, छोराछोरीको पढाइ के कस्तो छ, नोकरी छ कि के छ भनेर सोध्थे । हैन हाम्रो मान्छे त यिनै मात्रै पो हुन् कि क्याहो यो दुनियाँमा जस्तो बनाउँथे कुराले । चुनाव सकियो, माननीय र मन्त्री भएका छन् र तिनको बसाइँ पनि सरेको छ उतैतिर ।
अहिले तिनलाई तिनीहरू बसेको निवासमा गएर भेट्न धेरै मुस्किल पर्छ । समय माग्नुपर्छ भेट्न, त्यो पनि तथाकथित पिएस“ग । भेट पाइहालियो भने पनि अब नमस्कार गर्दैनन्, सञ्चो बिसञ्चो, खाए नखाएको सोध्ने सामान्य शिष्टाचारसमेत पूरा नगरी हामीले गरेको नमस्कार हातले होइन कि मुखले फर्काउँदै ‘ल, के हो कमरेडको समस्या फटाफट भन्नुस् । मलाई यसपछि अर्कै कार्यक्रममा जानु छ’ भन्दै मुस्किलले पाँच मिनेट कुरा गर्छन् । भोट दिएको छैन वा फरक गुटको हो भनेर थाहा पाएका छन् भने त के कुरा गर्नु तिनको त सासै गनाउँछ, बोली पनि सुन्न चाहन्नन् । जनता भोट खसाल्ने मेसिन हुन् जस्तै गर्छन् ।
एकातिर कोरोनाको महामारीले जनता आक्रान्त छन् भने अर्कोतिर काम छैन, पैसा छैन, त्यसैमा महँगाई अचाक्ली बढेको छ । गरिब, मजदुर तथा मध्यम तहसम्मका मानिसको गुजारा कसरी चलिरहेको होला ? यसबारे न वडाकाले, न प्रदेश, न त संघका मानिसले सोचेको, आवाज उठाएको र त्यसप्रकारको अभियान चलाएको नै देख्न पाइन्छ । सरकारले नै हो गर्नुपर्ने त तर सरकारले नगरे उसलाई गर्न बाध्य पार्ने काम अरूको हो । एक जना पनि सांसदले महँगी घटाउनुपर्छ भनेर, काम नभएर गुजारा गर्न मुस्किलमा परेकालाई राहत दिनुपर्छ भनेर अथवा सबै जनतालाई यो कठिन परिस्थितिमा सहयोग पु¥याउनुपर्छ भनेर आवाज उठाएको वा पार्लियामेन्टमा प्राइभेट बिल पेश गरेको देख्न – सुन्न पाइएन । तर, अरूबाट अनुदानमा प्राप्त सामानहरूमा आफ्नो नामको स्टिकर टाँस्न तथा अरूले बन्दोबस्त गरेको राहत सामाग्रीमा हात लम्काएर फोटो खिचाउन भने तिनीहरू पछाडि परेनन् । हिप्पोक्रेसीको योभन्दा नग्न प्रदर्शन अरू के हुन सक्ला?
ठूलो मान्छेको कुरा गरौं । जनता अप्ठ्यारोमा परेको, मनोबल कमजोर हुनपुगेको, हतास र निरास भएको समय हो यो । किनभने कोरोनाले प्रियजन गुमाउनुपरेको ठूलो पीडा छ, आफैँ संक्रमित भई झेल्नुपरेको ठूलो सास्ती छ, भकारीमा अन्न नभएकाले भोकै बस्नुपर्ने हो कि भन्ने ठूलो डर छ, थैलीमा सुको नभएको अवस्था छ जनताको । यस्तो अवस्थामा जनतालाई ढाडस दिने, सान्त्वना दिने र उनीहरूको समस्यालाई संबोधन गर्न प्रयास गर्ने हो जिम्मेवारीमा भएको मान्छेले । भोकले प्राण जाने छैन, उपचार नपाएर मर्नुपर्ने छैन भनेर आश्वस्त पार्नुपर्ने समय हो यो । सरकार र यसका मुखिया भनेका जनताका अभिभावक हुन् । यस्तो यस्तो गरेर भोकै बस्नुपर्ने अवस्था आउन नदिने बनाउनेछु, यसरी यसरी बिरामी परेकाको उपचार गराउने प्रबन्ध मिलाउनेछु, यो–यो क्षेत्रमा यस्तो–यस्तो प्रकारको र यतियति संख्यामा रोजगारी सिर्जना गर्नेछु, महँगाई यसरी नियन्त्रण गर्नेछु, स्कुल र कलेज यसरी यसरी सञ्चालनमा ल्याउने भनेर देशवासीको नाममा संबोधन गरेर सान्त्वना र ढाडस दिने काम सबैभन्दा ठूलो मान्छेको हो । उनको कुरा सबैले पत्याउँछन् पनि ।
तर, यसप्रकारको जिम्मेवारीबोध गरेको, कुनै प्रकारको चिन्ता लिएको र यसप्रति सिरियस चासो छ भन्ने सामान्य छनकसमेत देखिएन । कोरोनाकालमा सचेतना फैलाएर जनताको मनोबल उँचो राख्न हरसम्भव प्रयास गर्नुपर्ने थियोे । तर बेलौतीको पातको प्रयोगतिर जनतालाई डोर्याउने काम गरियो, ताली र थाली ठोक्न लगाइयो । भीडबाट टाढा रहनुपर्ने बेला सत्ता टिकाउन ठुल्ठूला आमसभा गर्ने, धार्मिक र्याली निकाल्ने काम गरियो । र अहिले दुई तिहाइसहितको सरकारलाई खसालेर विश्वासको मतसमेत प्राप्त गर्न नसकेको सरकारको नेतृत्व गर्दै देशलाई अनावश्यक रहेको चुनावमा लैजाने दुस्साहस भइरहेको छ ।
यसरी हेर्दा राजनीतिको कार्यकारी हैसियतमा रहेको नेतृत्व खासमा आममान्छेको हिमायती नभएर कर्पोरेटहरूको हिमायती हो भन्न सकिन्छ । यिनले यतीको स्वार्थ हेर्छन्, ओम्नीको स्वार्थ हेर्छन्, घर दिने, चन्दा दिने, गाडी दिने, कमिसन दिनेहरूको स्वार्थ हेर्छन् तर खान र लाउन नपाएका, बिरामी हुँदा उपचार गराउन नसक्नेका, बालबच्चालाई पढाउन नसक्नेका समस्या हेर्दैनन् । किनभने जनताले भोटमात्रै दिने हो र त्यो पनि जम्मा एकभोट तर ती अन्यहरूले त्यो एकभोट र अरूका धेरै भोट किन्ने नोट पनि दिन्छन् ।
यो भनेको राजनीतिक मान्छेले जनतालाई केवल ‘टोकन फर ग्रान्टेड’ को रूपमा मात्रै लिन्छन् र तिनको मस्तिष्कमा आाम मान्छेको चित्र एक भोट खसाल्ने यन्त्र जस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।
टिप्पणीहरू