चाँदीको बालाको लोभमा भाइ मार्ने दिदी

चाँदीको बालाको लोभमा भाइ मार्ने दिदी

हातमा लगाइएको चाँदीको बालाको निम्ति नातामा दिदी पर्ने दुई जना किशोरीले कैलालीमा साढे तीन वर्षका बालकको हत्या गरेका छन् । टिकापुर नगरपालिका १ मुनुवा रोडका दिलिप बिष्टका छोरा गोलु बिष्टको हत्या अभियोगमा स्थानीय दुई जना किशोरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा स्थानीय १५ वर्षीया किशोरी र टिकापुर नगरपालिका–१ डेरा गरी बस्ने लम्की चुहा नगरपालिका–६ घर भएकी १४ वर्षीया अर्की किशोरी रहेका छन् ।

दिदी नाता पर्ने ती किशोरीसँग जामुन खान गएको अवस्थामा सोमवार बिहानदेखि बेपत्ता भएका वालकको खोजी गर्ने क्रममा टिकापुर नगरपालिका–४ घोयली उपभोक्ता वनस्थित जमरा कुलोमा हिजो साँझ शव फेला परेको थियो ।

शव फेला परेपछि घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट ल्याइएका विशेष तालिमप्राप्त दुई वटा कुकुरको सहयोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पारिवारिक रिसिइवीका कारण हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । योजनाबद्धरुपमा जामुन खाने भन्दै घरबाट झण्डै ५ सय मीटर टाढाको कुलोमा लगेर उनले लगाएको चाँदीको बाला थुतेपछि बालकलाई कुलोमा धकेलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

टिप्पणीहरू