एमाले विवाद :१० दिनदेखि उस्तै कि भोलि टुंगोमा पुग्ने ?

एमाले विवाद :१० दिनदेखि उस्तै कि भोलि टुंगोमा पुग्ने ?

नेकपा एमाले विवाद समाधानको लागि आज दुई पटक बसेको कार्यदलको बैठक विना निश्कर्ष टुंगिएको छ । दिउँसो बसेको कार्यदलको बैठकले साँझ पुनः छलफल गर्ने भनेको थियो भने साँझको बैठकले भोलि बिहान साढे ११ बजेको समय तोकेको छ । तर समस्या ज्युँको त्युँ रहेको कार्यदल सदस्य तथा उपमहासचिव घनश्याम भुसालले बताउनुभएको छ ।

उहाँले साँझको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भन्नुभएको छ, ‘कुरो अघि बढ्न सकेको छैन । उपप्रधानमन्त्री विष्णु पौडेल क्याबिनेट बैठकमा उपस्थित हुनुपरेकाले साँझको बैठकमा केही पनि निर्णय हुन सकेन । हामी आज बिहान मात्रै होइन, दश दिनदेखि जहाँको तहिँ छौं । कुनै प्रगति भएको छैन ।’

भुसालका अनुसार कार्यदल सदस्यहरूवीच १० दिनअघि अनौपचारिक रुपमा एजेण्डा तय गरिएको थियो । यसबीच वार्ता पनि अनौपचारिक रुपमा भयो । तर १० दिनदेखि खास,ठोस र मूर्त योगदान गर्न नसकिएको उहाँले स्वीकार्नु भएको । उहाँले भन्नुभयो, ‘आज बिहान बस्यौं, साँझ सार्यौं । आज पनि अघि बढ्न सकेनौं, भोलि साढे ११ बजे बस्छौं ।’

तर वार्तामा सहभागी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता सुवास नेम्वाङले भने भुसालकोभन्दा पूर्ण रुपले फरक कुरा बताउनुभएको छ । वार्तामा निकै चाँडो चाँडो काम भइरहेको उल्लेख गर्र्दै उहाँले भन्नुभयो, ‘निश्कर्षमा पुग्न सकिएको छैन, आशावादी छौं, भोलि बिहानको बैठकले टुंगोमा पुर्याउने छ ।’

नेता भुसालको प्रतिक्रियाबारे टिप्पणी गर्दै उहाँले ‘निश्कर्ष नसुुनाउन्जेल स्थिति ठ्याक्कै त्यहि हो’, भन्नुभएको छ । तीन वर्षदेखि पार्टीभित्र कायम रहेको अवस्थालाई १० दिनमा नयाँ ठाउँमा ल्याइएको दाबी गर्दै उहाँले भोलि बिहान साढे ११ बजेको बैठकले टुंगोमा पुर्याउने विश्वास लिनुभएको छ ।

टिप्पणीहरू