ती भारतीय जसले पाकिस्तानी अवार्ड फिर्ता गर्न मानेनन्
सन् १९९८ मा बलिउडका दिग्गज कलाकार दिलिपकुमारको देशभक्तिलाई लिएर प्रश्नचिन्ह उठाउँदै दिल्लीमा आगो बालियो । कारण अरु केही थिएन । पाकिस्तान सरकारले उनको सम्मानमा प्रदान गरेको सर्वोच्च पुरस्कार निशान–ए–पाकिस्तान थियो ।
महाराष्ट्रमा शिव सेनाको सत्तारुढ दलले उक्त पुरस्कारप्रति आपत्ति जनाउँदै दिलिपकुमारको देशभक्तिमाथि प्रश्न उठायो । उसले प्रश्न मात्रै उठाएन,पाकिस्तानले दिएको उक्त पुरस्कार फिर्ता गर्न समेत दबाब दियो ।
उनले त्यतिबेला भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई भेटेर आफूले प्राप्त गरेको पाकिस्तानी पुरस्कारले देशको गरिमालाई हानी नोक्सानी पुर्याउने भए मात्र फिर्ता गर्ने प्रस्ताव राखे ।
त्यतिबेला सत्तामा रहेको भारतीय जनता पार्टीले दिलिपकुमारले नै सोबारे निर्णय लिनसक्ने बतायो । तर उनले पाकिस्तानले दिएको पुरस्कार फिर्ता गर्न आवश्यक ठानेनन् ।
यसअघि सन् १९६१ मा पाकिस्तानको निम्ति भारतमा जासुसी गरेको आरोपमा उनको घरमा छापासमेत मारिएको थियो । पाकिस्तान र भारत विभाजित हुनुअघि बेलायतको इष्ट इण्डियाअन्तर्गत हालको पाकिस्तानमा जन्मिएका उनले जिन्दगीभर भारतप्रतिको आफ्नो भक्ति पटक पटक प्रमाणित गरिराख्नु परेको थियो ।
तिनै दिलिपकुमार बलिउडमा प्रवेश गर्नुअघि मोहम्मद युसुफ खान थिए । उनको अस्ति बुधबार ९८ वर्षको उमेरमा निधन भएको छ । उनको जन्मस्थान पाकिस्तानको पेशावरमा पुर्ख्यौली घरलाई सङ्ग्रहालय बनाएर राखिएको छ भने,भारतको मुम्बईमा समेत आलिशान बंगलो छ ।
टिप्पणीहरू