अमेरिकी पिआर होल्डर जन्ममिति सच्याउन रौतहटमा
अमेरिकाको स्थायी आवासीय कार्ड (पिआर होल्डर) प्राप्त एक महिला आफ्नो जन्ममिति सच्याउन जिल्ला प्रशासन कार्यालय रौतहट पुगेकी छन् । उनले आफ्नो नेपाली नागरिकतामा उल्लेखित जन्म महिना सच्याउन सिडिओ कार्यालयमा निवेदन दिएकी छन् ।
रौतहटको गौर नगरपालिका ५, स्थायी ठेगाना भएकी अमेरिकी पिआर होल्डर दीपज्योति केशरीले लामो समय अमेरिकामा बसेर स्वदेश फर्की नागरिकतामा उल्लेख गरिएको जन्म महिना सच्याउन निवेदन दिएपछि विवाद बाहिर आएको हो ।
केशरीले २०६० सालमा एसएलसी दिएको र प्रमाणपत्रमा जन्ममिति २०४४ असार ४ गते उल्लेख छ । तर नेपाली नागरिकतामा जन्म मिति २०४४ जेठ ४ गते लेखिएको बताइन्छ । केशरीले जिल्ला प्रशासन कार्यलयमा एसएलसीको प्रमाणपत्रका आधारमा नागरिकताको जन्ममिति सच्याउन निवेदन दिएकी हुन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार निवेदन परे पनि जिल्ला प्रशासन कार्यालयलाई जन्म मिति सच्याउने अधिकार छैन । जन्ममिति मन्त्रिपरिषदको निर्णयमा मात्र सच्याउन मिल्ने उहाँले बताउनुभएको छ । त्यसैगरी कुनै पनि नागरिकले दुई वटा मुलुकको नागरिकता लिन नपाइनेसमेत उहाँले उल्लेख गर्नुभयो ।
कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा उसले नेपालको नागरिकता परित्याग गरेको घोषणा गर्नुपर्छ । अमेरिकाको पिआर लिएकी केशरी एकाएक जिल्ला प्रशासन कार्यालयमा जन्ममहिना सच्याउन आएपछि उक्त रहस्य बाहिरिएको हो । जनआस्थालाई प्राप्त विवरणअनुसार उनले सन् २०१५ मार्च २९ मा अमेरिकी पिआर कार्ड प्राप्त गरेको देखिन्छ । पिआर कार्डको मान्यअवधि सन् २०२६ मार्च २९ सम्म रहेको छ ।
जन्ममिति सच्याउन आनाकानी गरेपछि केशरीले राजधानीमा बसेर नेताहरू मार्फत् रौतहटका सिडियोलाई दबाब दिएको स्रोतको दाबी छ । उनले अमेरिकी पिआर लिएको विषयमा कसैलाई औपचारिक जानकारी दिइएको छैन, तर परिवारका सदस्य र नातेदार सबैलाई उनको पिआरबारे विस्तृत जानकारी रहेकाले एक कान दुई कान मैदान हुँदै केशरीको पिआर र नागरिकताको रहस्य बाहिरिएको हो ।
टिप्पणीहरू