नेता हुन डोजर किनौँ मान्यवर !

  • शिवकुमार काशी

विचार, सिद्धान्त, पद्धति र विधिको लिकबाट राजनीति परतिर धकेलिन थालेको छ । जहाँ विधि र विधानसम्मत गतिविधि र सक्रियता हुँदैन त्यहाँ पक्कै पनि अराजकताले जन्म लिन्छ । र, यात्रा दीर्घकालसम्म रहन सक्दैन । रहँदैन पनि । जसरी लिकबाट रेलबाहिर गइसकेपछि दुर्घटनाबाहेक अरू विकल्प हुँदैन, त्यसरी नै राजनीतिले पनि लिकबाहिर जाँदा गन्तव्य पु¥याउँदैन । दुर्घटना हुन्छ नै, अर्थात् जनताका आशा, आकांक्षा स्वाभाविक रूपमा त्यतिखेर ओझेलमा पर्छन् र अराजकता हाबी हुँदै जान्छ । जनताका नाउँमा नक्कली नेताको समेत बिगबिगी बढ्छ ।

पहिलो संविधानसभा निर्वाचनमा हार ब्यहोरेका मकवानपुरका कांग्रेसी नेता त्यसयता चाहिँ सफलताको बाटोमा छन् । दोस्रो संविधानसभा निर्वाचन जित्नु, चारैवटा क्षेत्रमध्ये क्षेत्र नं ४ मा मात्रै कांग्रेस विजयी भएर वाहवाही हुनु, लगत्तै कांग्रेस जिल्ला सभापतिमा जित्नु, त्यसपछि अहिले पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा खुमबहादुर खड्काको जोडबलबाट तानिनुलगायत उपलब्धिले सफल देखिन्छन् । यो सफलताका भित्री कारण, परिणाम र आगामी दिनका यात्राबारे भने जो–कोहीले चर्चा, परिचर्चा र विश्लेषण नगरेका हुन सक्छन् ।

जनमुखी नेता रूपचन्द्र बिष्टको थाहा अभियानबाट राजनीतिक यात्रा थालेका इन्द्र बानियाँ यतिखेर मकवानपुरमा मात्र होइन, केन्द्रको राजनीतिमा पहुँच राख्ने नेता बनेकोमा कुनै शंका छैन । यसका पछाडि ठूलो आर्थिक कारण छ । आर्थिक रूपमा समृद्ध छन् । निर्वाचनमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्छन् । किनकि लामो समयदेखि ठेकेदारी पेशा सम्हालेका उनी अहिले पनि सोही पेशाबाट भागेका छैनन् । बरु राजनीति र ठेकेदारीलाई सँगै लैजाँदा झन् फलिफाप हुँदै गएको छ । जुनसुकै निर्वाचनमा पैसा खन्याएर पकडमा पार्ने गर्छन् । आफ्नो क्षेत्रमा निर्वाचन जित्न तत्कालीन वैद्य माओवादी, राप्रपा तथा तत्कालीन एमाओवादी केन्द्रसँग पनि सेटिङ हानेका थिए । राप्रपा अध्यक्षपत्नी त्यस क्षेत्रमा उम्मेदवार हुनु, एमालेले दमदार उम्मेदवार नपठाउनू र वैद्य माओवादीले आर्थिक लाभसहितको मत खन्याउनु सौभाग्य बन्न पुग्यो । त्यसो त कांग्रेस जिल्ला अधिवेशनमै १ करोड बढी खर्च गरिएको चर्चा छ । क्षेत्रीय अधिवेशनमा आफूअनुकूल नेतृत्व ल्याउनमा उनका आर्थिक लगानी चर्कै छ । सभापति शेरबहादुर देउवानिकट भनिएका बानियाँभन्दाअघि सभापति पदमा पुराना र पार्टीमा ठूलो योगदान गरेका नेता माइकल रामचन्द्र अर्याल उठ्ने चर्चा थियो । तर, राजनीति घुम्दैफिर्दै आर्थिकतिर लम्केपछि माइकल साइड लागे । किनकि उनी गरिब तर उँचो राजनीतिक छवि भएका नेता थिए ।

चुनावअघिदेखि नै पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्यायसँग बानियाँको मनमुटाव छ । कारण हो, देउवासँग बानियाँ धेरै नजिकिनू । यद्यपि, सदैव देउवा प्यानलबाट महालक्ष्मीको केन्द्रदेखि जिल्लामा एकछत्र राज छ । दुवै नेता एकापसमा यसरी प्रतिस्पर्धा अहिले पनि गरिरहेका छन् । यही द्वन्द्वबीच अहिले बानियाँले आफ्नो अलग्गै बाटो रोजेका छन् । उनी अहिले देउवाबाट खुमबहादुर खड्को बाटोमा हिँडेका छन् । उनैको कोटाबाट राज्यमन्त्री बनेर अहिले जिल्लामा प्रतिद्वन्द्वी पार्टीहरूलाई त देखाइरहेका छन् नै स्वयं कांग्रेसभित्र पनि महालक्ष्मी उपाध्याय, पूर्व जिल्ला सभापति रघुरमण न्यौपानेहरूलाई आफ्नो हैसियत वृद्धि भएको प्रमाणित गरिरहेका छन् । जिल्लाभर फूलमाला, अबिर लगाएर स्वागत र सम्मान खाँदै हिँडिरहेका छन् । कम्युनिस्टहरूले भन्ने गरेको ‘बुर्जुवा शैली’ उनका लागि यतिखेर सही लिक बनेको छ ।

बानियाँको राजनीति र ठेकेदारी एकसाथ अघि बढेको छ । राजनीतिक पहुँच पु¥याएर निर्माणका ठूला योजना लिने र सोही योजनाको ठेक्का पनि आफ्नै कन्स्ट्रक्सनले पार्ने उनको शैली छ । त्यति मात्र होइन, सो योजना पूरा हुँदा त्यस वरपरका जग्गाको भाउ बढ्ने भएकाले योजना पार्नासाथ जग्गा खरिद गरेर सम्पत्ति जोहो गर्ने र प्लटिङ गर्ने शैलीले जिल्लाको राजनीतिमा असामान्य क्रियाकलाप देखाएको छ । एकै व्यक्तिले योजना पार्ने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने र उपभोक्ताको रूपमा समेत रहने परिपाटी ठीक हो वा होइन ? सान्दर्भिक बहसको खाँचो छ ।
त्यस्तै अर्का पात्रको कुरा गरौँ । तत्कालीन पञ्चायतका हिमायती कमल थापा प्रजातन्त्र आएपछि उदाए, शाही कू पछि लगभग पतन नै भइसकेपछि पनि फेरि गणतन्त्रमा राम्रै उदाए । राप्रपा र राप्रपा नेपालको एकीकरणपछि झन् उत्साह बढेको छ । राजतन्त्र र हिन्दू धर्म ल्याएरै छोड्ने उद्घोषसाथ मन्दिरका पुजारी मात्र होइन, केही थान पास्चरहरू समेत अघिपछि लगाएर हिँडेका छन् । त्यसो त उनी राष्ट्रिय हाइट भएका र अर्थ राख्ने नेता हुन् । उनका बारे खास टिप्पणी गर्ने ठाउँ गणतान्त्रिक व्यवस्थाका अगुवाले दिएका छैनन् । टिप्पणी गर्न खोजिएको अर्का पात्रचाहिँ उनका भाइ अर्थात माननीय गणेश थापा हुन् । जो ९ महिनादेखि मकवानपुरमा जमेर पूर्णकालीन राजनीतिमा छन् ।

थापाको शैली र राज्यमन्त्री बानियाँको राजनीतिक काम उस्तै छ । युवा बटुलेर फुटबल बाँड्ने, आफ्नै व्यक्तिगत धन खर्चेर छात्रबृत्ति बाँड्ने, दीर्घरोगीको उपचारमा व्यक्तिगत धन बाँड्ने । त्यसो त संविधान घोषणा गर्नुअघि लिइएको सुझाव संकलन कार्यक्रम भाँड्न लागेपछि एमालेको प्रतिकारमा टाउको फुटेका थापाको इतिहास राजनीतिमा भन्दा पनि खेलक्षेत्रमा छ । निरन्तर लामो समय एन्फा अध्यक्ष भएका उनी म्याच फिक्सिङसहित अन्तर्राष्ट्रिय फुटबल संगठनमा निर्वाचनताका भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आँखा लगाएका र छानबिनमा परेका व्यक्ति हुन् । यतिखेर क्षेत्र नं १ मा केन्द्रित रही गतिविधि बढाइरहेका छन् । चुनाव लड्न होइन, जनताको सेवा गर्न आएको भन्दै गाउँघर धाइरहेका उनी पनि कतिपय सामाजिक सहयोगमा आर्थिक रूपमा सामेल भएर त्यसलाई राजनीतिसँग दाँज्न चाहिरहेका छन् । विभिन्न बैंक, संस्थासँगको समन्वयमा एम्बुलेन्स ल्याउने, जिल्लाका विकट गाउँमा वितरण गर्ने र त्यसको जस लिने काममा सक्रियता छ । जनता पनि अरू नेताभन्दा यिनै पो ठीक कि भनेर चासोपूर्वक हेरिरहेका छन् ।

यस्तै शैली भएका अर्का नेता छन् । नाउँ हो–जयराम लामिछाने । अन्तर्राष्ट्रिय ठेक्काको मान्यताप्राप्त यिनको शैली पनि बानियाँ र थापाजस्तै छ । क्षेत्र नं २ मा नारायणकाजी श्रेष्ठ र लामिछानेको लडाइँका बीचबाट एमालेले चिट्ठा पारी सुवाष ठकुरी विजयी भएका थिए । चुनावताका र अहिले पनि उनले आफ्ना डोजर प्रयोग गरेर जनताको बाटो आफै बनाउने भन्दै मिहिनेत गरिरहेका छन् । व्यक्तिगत सम्पत्ति प्रयोग गरेर बाटो खन्न र अरू काम गर्न यिनी पनि अगाडि छन् ।

कम्युनिस्ट हेरेको हे¥यै

यता, लालकिल्ला भनेर बेला–बेला कुर्लिने माओवादी पार्टी र आजीवन किल्ला भनेर ठोकुवा गर्ने एमालेजन बानियाँ, थापा र लामिछानेहरूको राजनीतिक शैली देखेर दंग परेका छन् । यही पाराले उनीहरू व्यक्तिगत सम्पत्ति खर्चेर अघि बढ्दा राजनीतिक लिक कस्तो हुने हो भनेर विचरण भइरहेको छ । कतिपय गाविसमा माओवादी केन्द्रका गाउँ कमिटीका अध्यक्ष नै राप्रपा प्रवेश गरिसकेका छन् । एमालेलाई पनि आफ्ना कार्यकर्ता रोक्न हम्मे परिरहेको छ । सिद्धान्ततः विधि र पद्धतिको कुरा गर्ने कम्युनिस्ट पार्टीका नेता सैद्धान्तिक आधारमा आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै गर्दा गाउँमा बाटो, खेलकुद, खानेपानीजस्ता पूर्वाधारसमेत विपक्षी दलका नेता आएर व्यक्तिगत लगानीमा वा राजनीतिक पहुँच राखेर सम्बन्धित निकायबाट बनाइदिन थालेपछि झस्किन थालेको छन् ।

त्यसो त दुबै ठूला कम्युनिस्ट पार्टीभित्र गुटगत समस्याले अर्थपूर्ण उल्झन ल्याउने गरेको छ । पहिलो संविधानसभामा ४ वटै क्षेत्र जितेको माओवादी र दोस्रो चुनावमा ३ वटा क्षेत्र जितेको एमालेले आफूलाई प्रतिरक्षा गर्न सक्नुपर्छ । एमालेले ४ महिने अभियान चलाएर त्यो तयारी गरेको छ भने सरकारी माओवादी अन्योलमै देखिन्छ । एमाले तथा माओवादीका पूर्वसांसद तथा वर्तमान सांसद एवं केन्द्रीय नेता गाउँ जाँदा कार्यकर्ताले ‘जयराम लामिछाने, गणेश थापा र इन्द्र बानियाँ’ स्टाइलमा आउन सुझाव दिने गरेका छन् । तर, त्यो शैली गलत भएको र राज्यले अर्बांै खर्चंदा त गाउँको मुहार फेर्न हम्मे भइरहेकाले व्यक्तिगत लगानीमा असम्भव भएको भन्दै एमाले र माओवादी नेताले नीति, विधि र पद्धतिको कुरा गर्ने गरेका छन् ।

डोजर किन नकिन्ने ?

समाज र मतदाता राजनीतिक छैनन् । सबै मतदाता राजनीतिक र सैद्धान्तिक चुरो बुझेर मत हाल्न जान्छन् भन्ने पनि छैन । यही कुरालाई ध्यानमा राख्दै व्यक्तिगत रूपमा हावी हुनेगरी केही नेताहरूको सक्रियता देखिन्छ । यसले मकवानपुरे राजनीतिमा नयाँ ट्रेण्ड देखाएको छ । यसले राजनीति र समाजसेवालाई लिक आउट गरेको छ । किनकि भविष्यमा राजनीतिक उपलब्धिपछि ती नेताले आफ्नो लगानी के–कसरी उठाउलान् ? ती सबै जनमैत्री होलान्÷नहोलान् ? र, अर्काे पाटो उसोभए के जिन्दगीभर राजनीति र समाजसेवामा कपाल फुलाएका गरिब नेताले राजनीति नगर्ने ? राजनीति गर्न ठेकेदारी नै गर्नुपर्ने ?

कांग्रेस र राप्रपाजस्ता पार्टीमा अध्यक्ष, सभापति वा सांसद र मन्त्री हुन डोजर किन्नै पर्ने हो ? यी प्रश्न अब स्वयं राजनीतिक पार्टीभित्रका कार्यकर्ताले उठाउनुपर्ला कि नपर्ला ? यो प्रश्नको जवाफ यदि ‘हो’ मा आउने हो भने तपाईं पनि तुरुन्तै ठेकेदारीमा लागेर डोजर किन नकिन्ने ? त्यसो हो भने कुखुरापालन मात्रै गरेर राजनीति सम्भव नहोला ।

टिप्पणीहरू