बिना धाराको नियुक्तिमा देउवाको आपत्ति,सच्चिएपछि बल्ल शपथ

बिना धाराको नियुक्तिमा देउवाको आपत्ति,सच्चिएपछि बल्ल शपथ

सर्वोच्च अदालतको परमादेशले आज दिउँसो प्रधानमन्त्री नियुक्त हुनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयको सूचनाप्रति आशंका जनाएसङ्गै आवश्यक सँशोधनपश्चात बल्ल शपथ खान तयार हुनुभएको छ ।

राष्ट्रपति कार्यालयका तर्फबाट जारी सूचनामा संविधानको धारा उल्लेख नगरिएको भन्दै देउवाले शपथ लिन आनाकानी गर्दा साइत घर्किएको थियो । उहाँ भर्खर शीतल निवास छिर्नुभएको छ ।

राष्ट्रपतिको सूचनामा देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन । स्रोतका अनुसार कुन धाराअनुसारको प्रधानमन्त्री नियुक्त गरिएको हो त्यसबारे प्रष्ट खुलाउन देउवाले शीतलनिवासलाई आग्रह गर्नुभएको छ ।देउवाको सन्देश लिएर राष्ट्रपति कार्यालय पुगेको स्रोतले भन्यो, ‘प्रधानमन्त्री नियुक्तिको एउटा फर्म्याट हुन्छ । त्यहीअनुसार सच्याउन भनिएको छ । किनभने भोलि विश्वासको मत लिने बेला पनि यसले महत्व राख्छ ।

कुन धाराअन्तर्गतको प्रधानमन्त्री भन्ने नखुली कसरी विश्वासको मत लिने ? यदि उपधारा २ अनुसारको हो भने ह्वीप लाग्छ । ५ मा लाग्दैन भनिएको छ । यो प्रष्ट हुनुपर्यो भन्ने उहाँ (देउवा)को कुरा छ ।’

सर्वाेच्च अदालतले सोमबार संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू वा गराउनु भन्ने परमादेश दिएको भए पनि राष्ट्रपति कार्यालयले संविधानको कुनै धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको हो । उहाँलाई आज साँझ ६ बजे शपथ गराउने कार्यक्रम थियो ।a

टिप्पणीहरू