तिनी पनि टिकेनन् त्यो ठाउँमा

आफ्नालागि करोडांै पर्ने विलासी सरसामान खरिद गरेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको अभद्र व्यवहारका कारण वरिष्ठ गीतकार यादव खरेल राजीनामा ठोकेर हिँड्न विवश भएका छन् ।

खरेल चलचित्र विकास बोर्ड मातहतको राष्ट्रिय चलचित्र नीति कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा संयोजक थिए । उनले शेरधन राई सञ्चारमन्त्री हुँदा १९ साउनको मन्त्रिपरिषद्को निर्णयबाट अध्यक्षको जिम्मेवारी पाएका छन् । खरेल बस्न कुर्सी र कोठासमेत नपाएसँगै राजीनामा दिएर हिँडेका हुन् ।

खरेलसहित हरिहर शर्मा, युवराज लामा, राजकुमार राई, श्याम सापकोटा, शान्तिप्रिय, सबनम मुखिया, वसन्तकुमार रूपाखेती सदस्य रहने गरी समिति बनेको हो । यसको अफिस बोर्डमै राख्ने भनिएको थियो । समितिको सदस्य सचिवमा सञ्चार मन्त्रालयका कानुन हेर्ने उप–सचिव पुष्कर नेपाल थिए । खरेलले पटक–पटक कार्यालयको व्यवस्था गरिदिन आग्रह गरेका छन् । बोर्ड अध्यक्ष राजकुमार राईले स्थान दिन इन्कार गरेसँगै खरेलले राजीनामा दिएका हुन् । पाँच महिनासम्म पंगु बनाइएपछि वरिष्ठ गीतकार खरेलले राजीनामा दिएको जनआस्थालाई प्रतिक्रिया दिए ।

पछिल्लो समय राईले झण्डै ५ करोड माथिको विलासी सरसामान खरिद गरेको बोर्ड स्रोतले जनाएको छ । त्यहाँ अत्याधुनिक प्रेक्षालय, आफ्नो कार्यकक्ष निर्माणका नाममा राईले करोडांै खर्चेका छन् । आफू निकटका संघसंस्थालाई अवार्ड वितवरणका नाममा करोडौं बाँडेको समेत भेटिएको छ । राष्ट्रिय गानको भिजुअलाइज गर्ने, दोलखामा सुटिङ स्थल निर्माण गर्ने नाममा बोर्डको करोडौं रकम हावामा उडाएको भन्दै उजुरी सञ्चार मन्त्रालय हुँदै अख्तियारसम्म पुगेको छ ।

टिप्पणीहरू