मध्यपश्चिमाञ्चल र वीपी प्रतिष्ठानका उपकुलपति बर्खास्त गरियोस् : पाँच विद्यार्थी संगठन
आज बसेको पाँच विद्यार्थी संगठनको संयुक्त बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र वीपी प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिलको छैठौंले बैठकपछि जारी गरेको संयुक्त रुपमा प्रेस विज्ञप्तिमा उपकुलपतिद्वारा प्रशासनको दुरुपयोग गरी विद्यार्थीमाथि हमला गर्न लगाएर घाइते बनाइएको भन्दै उपकुलपतिलाई बर्खास्त गर्न सरकारसँग माग गरिएको छ ।
पाँच विद्यार्थी संगठनले विश्वविद्यालयको समस्या समाधान सम्बन्धमा प्रधानमन्त्री एवम् कुलपतिलाई भेटी मागपत्र बुझाउँदा उपकुलपति उत्ताउलो तरिकाले प्रस्तुत भएको आरोप समेत लगाएका छन् ।
उपकुलपतिको बर्खास्तीपछि खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति नियुक्ती गर्नुपर्ने अडान समेत उनीहरुले राखेका छन् । त्यसैगरी नियुक्तीमा राजनीतिक दलको भागबन्डा गरिए त्यो झनै प्रत्युत्पादक हुने र विद्यार्थी आन्दोलनलाई मान्य नहुने चेतावनी संयुक्त विद्यार्थी समूहले दिएको छ ।
उनीहरुले पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारबारे उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नहरूलाई कडा कारबाही गर्न र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमिततामा संलग्न उपकुलपतिलाई समेत बर्खास्त गर्नुपर्ने माग समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।
टिप्पणीहरू