अध्यादेशप्रति एमाले किसानका अध्यक्षको असहमति
सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको बिरोध सुरु भएको छ । सत्तारुढ दल काँग्रेसभित्रैबाट अध्यादेशको विरोधको आवाज निस्कँदै छ । यता सो अध्यादेशको विरोधमा एमाले अध्यक्ष केपी ओलीनिकट अखिल नेपाल किसान महासंघले आन्दोलनमा उत्रिने जनाएको छ ।
डा.प्रेम दङ्गालले दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको माग गर्दै,अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रन आह्वान समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘संसद बैठक चलिरहेकै बेला सरकारले संसदलाई कुनै बिजनेश समेत नदिई अन्त्य गरेको र त्यसको भोलिपल्टै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कार्य खेदजनक र निन्दनीय छ ।’
यसअघि ओली प्रधानमन्त्री हुँदा यस्तै अध्यादेश ल्याइएको थियो । पोहोर बैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा पार्टीको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशतको संख्या घटाएर “र” लाई “वा” बनाइएको थियो ।
अहिले भने प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारलाई टिकाई राख्नका लागि थोरै केन्द्रीय सदस्य वा सांसद भए पनि पुग्ने गरी अध्यादेश ल्याउने काम गरेको महासंघले आरोप समेत लगाएको छ ।
केही राजनीतिक दल र तिनका केही नेताको कुण्ठा, पदलोलुपता र महत्वाकांक्षा पूरा गर्न सहयोग पुग्ने गरी र ती दललाई विभाजन गराई आफ्नो सत्ता टिकाउने दुराशयपूर्ण मनसायबाट ल्याइएको अध्यादेशले लोकतान्त्रिक मूल्य मान्यताको घोर उपहास गरेको महासंघको ठहर छ । उसले भनेको छ, ‘यसले लोकतान्त्रिक प्रणालीलाई चरम विकृत बनाएर देशलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेलेको छ ।’
टिप्पणीहरू