माधव छोडेकालाई ओली खेमाले पनि सम्झेनन्

माधव छोडेकालाई ओली खेमाले पनि सम्झेनन्

माधव नेपाल पक्ष छोडेर ओलीतिर फर्किएका एमाले काठमाडौँका नेता-कार्यकर्ता असन्तुष्ट बनेका छन् । विगतमा माधव नेपाल पक्षमा रहेर हाल नयाँ पार्टीमा नगएकाहरु ओली पक्षले विभेदपूर्ण व्यवहार गरेको भन्दै असन्तुष्ट बनेका हुन् ।

एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा काठमाण्डौं क्षेत्र नम्बर ९ अन्तर्गत १४ नं वडा पार्टी कार्यालयको संयुक्त उदघाटन कार्यक्रम थियो । तर,माधव पक्षको जिल्ला उपाध्यक्ष छोडेर संस्थापनतर्फ फर्केकी सचिवालय सदस्य तथा वडा नं. १४ की वडाध्यक्ष शोभा सापकोटालगायतको समूहलाई कार्यक्रमबारे जानकारी नै नदिइएपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।

माधव नेपालले एमालेमा विद्रोह गरेर अर्को पार्टी बनाएपछि असन्तुष्ट बन्दै वीचमा बसेका सापकोटालगायतको टोली कार्यक्रममा सहभागी हुने तयारीमा थियो । तर, ओली पक्षको दबदबा रहेकाले उनीहरु गणनामै परेनन् ।

त्यसो त,ओली पक्षका हालका वडा कमिटी अध्यक्ष तथा वडा नं. १४ का निर्वाचित वडा सदस्य विनोद थापालाई जिल्ला कमिटीबाट अनुमोदन गरी वडा कमिटी अध्यक्ष बनाएकोमा सापकोटाको टोली असन्तुष्ट नै थियो । संस्थापन पक्षमा फर्किएका करिव सय जना पार्टी सदस्यहरु ओली पक्षसँग सन्तुष्ट नरहेको त्यहाँका एक नेताले बताए । उनले आगामी दिनमा नेतृत्वको बिषयमा ठूलै लफडा निम्तिनसक्ने देखेको बताए ।यता,उद्घाटन कार्यक्रममा एमाले काठमाडौ जिल्ला ईन्चार्ज तथा प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठ,अनेमसंघकी केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य विना श्रेष्ठ (कृष्णगोपालकी जीवन साथी), काठमाडौँ महानगरपालिकाका मेयर विध्यासुन्दर शाक्य,बाग्मती प्रदेशसभा सदस्यहरु केशव पोखरेल,डा.अजयक्रान्ति शाक्य, हरिशरण थापाहरुको उपस्थिति थियो ।

त्यस्तै,वाग्मती प्रदेशसभाका कानुनी सल्लाहकार ओम थपलिया,अनेमसंघ केन्द्रीय सदस्य ज्ञानु थापा,काठमाडौँ जिल्ला सदस्य राजेन्द्रमान श्रेष्ठ, काठमाडौँ-१४ का संयोजक रामबहादुर श्रेष्ठलगायत कार्यक्रममा सहभागी थिए ।

टिप्पणीहरू