एमाले एक:नेताका कुरा अनेक
एमालेबाट बिद्रोह गरी नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रियामा रहेका प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले पाँच दिनभित्र मध्यमार्गी धारका नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ । यसअघि माधव नेपाल पक्षमा लागेका तर नयाँ दल दर्ता प्रक्रियामा सहभागी नभएका नेताहरु एकीकृत समाजवादीमै आउने चौधरीले दाबी गर्नुभएको हो ।
उहाँले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै सरकारमा सहभागी हुने पनि बताउनु भयो । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘म भन्न चाहन्छु–पाँच दिनभित्र सबै जना उहाँहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ । निर्वाचन आयोगले नौ गते सनाखतका लागि बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।’
नेता चौधरीले नेकपा एमालेबाट मुलुकको कुनै पनि समस्या समाधान हुन नसक्ने निष्कर्षमा पुगेपछि आफूहरुले नयाँ पार्टी गठनको बाध्यात्मक अवस्थामा पुगेको पनि स्पष्ट पार्नुभयो ।
नेकपा एमालेका नेता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले भने पार्टीमा फर्कन नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्न तयार रहेको भन्दै उहाँले एमालेमा फर्किन आग्रह गर्नुभएको हो ।
मध्यमार्गी समूहका नेता ठाकुर गैरेले पार्टी एकताका लागि अध्यक्ष ओली र नेता नेपाल दुवै लचिलो हुनुपर्ने बताउनुभयो । १४ जना सांसदमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गर्दै गैरेले नेता नेपाललाई पनि निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन भन्नुभयो । पटक-पटक पार्टी एकताको पक्षमा उभिएको दोहोर्याउनु भएका उहाँले दुई तिहाई बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।
टिप्पणीहरू