विद्युत प्राधिकरणले उज्यालो र सफा शहर अभियान थाल्ने,जताततै बत्ति बाल्ने
नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्य बृध्दि गर्न उज्यालो शहर अभियान चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक,ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्वसम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने भएको छ ।
यसबाट सहरको सौन्दर्य र विद्युत् माग बढ्नुका साथै रातको समयमा खेर जाने विद्युत समेत खपत हुने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताउनुभएको छ । पहिलो चरणमा उज्यालो र सफा सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवम् पर्यटकीय पोखरा महानगरपालिकामा शुरु गरिनेछ । त्यसपछि क्रमशः मुलुकभर सञ्चालन गरिने जानकारी दिइएको छ ।
सहरलाई कुरुप बनाएको विद्युतका तारहरु हटाएर प्राधिकरणकै भूमिगत प्रणालीलाई अघि बढाइएको उहाँले जानकारी दिनुभएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा केबल भूमिगतको काम गरिरहेको छ । दोस्रो चरणमा ललितपुर, भक्तपुर, पोखरा र भरतपुरको नगर क्षेत्रका तार भूमिगत गरिने छ ।
प्राधिकरणले स्थानीय तहहरुसँगको समन्वयमा ऐतिहासिक, धार्मिक स्थलहरुमा स्मार्ट लाइटको जडान गर्ने भएको छ । यसबाट राति सडकमा ओहोरदोहोर गर्ने पैदल यात्री र सवारी साधनलाई सहज हुने प्राधिकरणले विश्वास लिएको छ ।
ललितपुर महानगरपालिका र अमरगढी नगरपालिकाको सक्रिय सहभागितामा स्मार्ट लाइट जडान गर्ने कार्य सम्पन्न भइसकेको छ । भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भिमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ति जडान कार्य भइरहेको छ ।
काठमाडौ, पोखरा र ललितपुरको दोस्रो चरणको स्मार्ट सडक बत्ति जडानको ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको छ । कोटेश्वरदेखि भक्तपुर र कोटेश्वरदेखि कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तिको सट्टा स्मार्ट लाइट जडान प्रकिया पनि अघि बढिसकेको प्राधिकारले जानकारी दिएको छ ।
नगरपालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानीमा स्मार्ट लाइट जडान गर्न लागिएको हो । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण भने प्राधिकरणले गर्ने छ ।
विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ क्षेत्रमा स्थानीय नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने प्राधिकरले उपलब्ध गराएको जानकारीमा उल्लेख छ ।
टिप्पणीहरू