मध्यपूर्वको लफडाले विप्लवको हेडक्वार्टरमा तनाव

मध्यपूर्वको लफडाले विप्लवको हेडक्वार्टरमा तनाव

विदेशस्थित भातृ संगठनमा उत्पन्न विवादले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा तरंग पैदा भएको छ । नेपाली जनप्रगतिशील मोर्चा कतारका सल्लाहकार संयोजक रमेश गिरीलाई मध्यपूर्व संयोजक बेद बोहोराले कारवाहीको घोषणा गरेपछि उत्पन्न विवाद चर्किंदै जाँदा विप्लवको हेडक्वार्टर तरंगित बनेको हो ।

भातृ संगठनमा लफडा निम्तिएपछि सो पार्टीका सचिवालय सदस्य तथा विदेश विभाग ईञ्चार्ज धर्मेन्द्र बाँस्तोलाले चासो देखाएका छन् । उनले सल्लाहकार संयोजक गिरीमाथिको कारवाही अस्वीकार गर्नुका साथै बोहोरा पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेको बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी बाँस्तोलाले बेद बोहोरा संगठनको कुनै पनि जिम्मेवारीमा नरहेकाले गिरीमाथिको कारवाही स्वीकार्य नहुने प्रष्ट पारेका हुन् ।

त्यसअघि बोहोराले गिरीमाथि सुन तस्करीको आरोप लगाएका थिए । गिरीले सुन तस्करीलाई संरक्षण गरेको आरोप लगाउँदै उनले विज्ञप्ति निकालेर कारवाहीको घोषणा गरेका थिए ।

बाँस्तोलाको वक्तव्यमा भने बोहोराले कतारमा पार्टीको नाम दुरुपयोग गरेको बताइएको छ । स्वघोषित मध्यपूर्व संयोजक बनेर बोहोराले कतारमा रहेका पार्टीका नेता–कार्यकर्ताविरुध्द दुष्प्रचार गरेको उक्त वतव्यमा उल्लेख छ ।

पार्टी र क्रान्तिविरुध्द भ्रम छरेको भन्दै बास्तोलाले बोहोरा र उनको सम्पर्कमा रहेका कुनै पनि व्यक्ति पार्टीमा नरहेको जानकारी गराएका छन् । पार्टीका नेता–कार्यकर्तालाई बदनाम गर्न बोहोराले सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै बाँस्तोलाको विज्ञप्तिमा कुनै पनि भ्रममा नपर्न आग्रह गरिएको छ ।

बाँस्तोलाको वक्तव्य सार्वजनिक भएलगत्तै विप्लवलाई खुला पत्र लेखेर मिडियामा पठाएका बोहोराले भने गिरीको कारवाहीको औचित्य प्रष्ट्याउने प्रयास गरेका छन् । उनले बाँस्तोलाको वक्तव्यको आधिकारिकतामाथि समेत प्रश्न उठाएका छन् ।

‘एउटा भुइँ मान्छेको चरित्रहत्या गर्न, एउटा समर्थकलाई थुचुक्कै पार्न एकै मितिमा दुई-दुई पटक वक्तव्य कसरी निकालियो ? विभागको लेटरप्याड त एउटै हुने होइन र ? अनि फरक-फरक फन्ट भएको लेटरप्याड कसरी आयो ? जबकि चलानी नम्बर एउटै छ,पत्र संख्या एउटै छ । र, दुईटैमा कन्चन कमरेडको हस्ताक्षर छ’, उनले भनेका छन् ।

यसबारे जनआस्थासंगको कुराकानीमा नेकपाको विदेश विभागका सचिव खगेन्द्र केसीले बोहोरा संगठनको कुनै पनि जिम्मेवारीमा नरहेको बताए । बोहोराले संगठनको नाम दुरुपयोग गरेर नक्कली संगठन खडा गरी आधिकारिक संगठनलाई बद्नाम गराएको केसीको आरोप छ ।

उनले भने, ‘सन् २०१७ देखि कतारमा रहेका बेद बोहोराले नक्कली संगठन बनाएर आधिकारिक संगठनलाई कारवाही गरेको वक्तव्य निकालेका रहेछन् । उनी हाम्रो संगठनका मान्छे होइनन् । यस्ता भ्रामक प्रचारको कुनै अर्थ छैन ।’

टिप्पणीहरू