काङ्ग्रेसमा जारी अनसन रोक्न सबै पक्ष तयार

काङ्ग्रेसमा जारी अनसन रोक्न सबै पक्ष तयार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरूको लामो समयदेखिको अनसन तोडिने भएको छ । पार्टी कार्यालयमा अनसन बसेका जिल्ला सभापतिहरुका माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवा तयार भएपछि अनसन तोडिने भएको हो ।

कांग्रेस नेता गगन थापाका अनुसार जिल्ला सभापतिहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सभापति देउवा तयार भएपछि अनसन तोडिने भएको हो । जिल्ला सभापतिहरुले उठाउँदै आएका दुई वटा मुख्य माग पूरा गर्न सभापति देउवाले प्रतिवद्धता जनाएको थापाले जानकारी दिए।

पौडेल पक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला सभापति पनि स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने माग उठाउँदै आएका थिए । नेता थापाले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि नभएकाले पनि सभापति उठ्न पाउने यसअघिको व्यवस्था सच्याएर जिल्ला सभापतिहरु स्वत: महाधिवेशन प्रतिनिधि बनाउन देउवा तयार भएको बताए ।

यसअघि आज बिहान पौडेल पक्षले रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको थियो । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा हिजो सभापति देउवासँगको भेटवार्ताबारे नेताहरुले जिल्ला सभापतिलाई बिफ्रिङ गरेका थिए । देउवाले जिल्ला सभापतिका माग सम्बोधन र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएको भन्दै छलफलमा अनसन तोड्नेबारे सहमति जुटेको थियो ।

सानेपामा जिल्ला सभापतिहरूसँग छलफल गरेर धर्ना र अनसन स्थगित गराउन नेताहरु कृष्ण सिटौला,मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको थापाले जानकारी दिए ।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९–१३ गर्ने कार्यतालिका छ । जसअनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने काँग्रेसको तयारी छ । तर क्रियाशील सदस्यको नामावली प्रकाशनलगायतका विषयमा विवाद अझै टुंगो लाग्न सकेको छैन् ।
वरिष्ठ नेता पौडेल पक्षले २ दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पार्टी सभापति देउवालाई दवाव दिएको छ ।

टिप्पणीहरू