माधव नेपालमाथि ‘तेस्रो धार’को कटाक्ष

माधव नेपालमाथि ‘तेस्रो धार’को कटाक्ष

नेकपा (एकीकृत समाजवादी)मा आए नेतृत्व छोड्न तयार रहेको माधव नेपालको अभिव्यक्तिमाथि एमालेको दोस्रो पुस्ताका नेताले कटाक्षपूर्ण टिप्पणी गरेका छन् । एमालेभित्रको अन्तरसंघर्षमा लामो समय माधव नेपालको साथमा रहेर केही दिनअघि तेस्रो धार बनाउँदै केपी ओलीतिर लागेका दोस्रो पुस्ताका एक नेताले नेतृत्व हस्तान्तरण गरेर देखाउन नेपाललाई चुनौतीसमेत दिए ।

नेकपा एसका अध्यक्ष माधव नेपालले हिजो एक कार्यक्रममा आफ्नो पार्टीमा आए दोस्रो पुस्ताका नेतालाई नेतृत्व सुम्पन तयार रहेको बताउनु भएको थियो । अध्यक्ष नेपालले पदको लागि नभई विचार र सिद्धान्तका लागि संघर्ष गरेको भन्दै आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेतालाई पार्टीमा आउन आग्रह पनि गर्नुभएको थियो ।

दोस्रो पुस्तालाई नेतृत्व दिने नेपालको उक्त अभिव्यक्तिमाथि कटाक्ष गर्दै एमाले सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई अध्यक्ष बनाएर उदाहरण देखाउन ठाडो चुनौती दिनुभएको हो । नेता नेपालको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले भन्नुभएको छ, ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर,उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’

एमाले फुटाउन माधव नेपाललाई उत्प्रेरित गरेको आरोप लागेका उपाध्यक्ष भीम रावलले पनि त्यस्तै कटाक्षपूर्ण टिप्पणी गर्नुभएको छ । दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको नेपालको भनाइको प्रतिवाद गर्दै रावलले पार्टीमा सहमति भैसकेपछि विभाजनको औचित्य नहुने बताउनुभएको हो ।

हिजोको कार्यक्रममा अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई अघि सारेर निर्णायक क्षणमा पछाडि फर्किएको टिप्पणी गर्नुभएको थियो । नेपालको उक्त टिप्पणीको खण्डन गर्दै रावलले प्रतिक्रिया दिनुभएको छ, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो ।’

टिप्पणीहरू