एमसीसीकी उपाध्यक्षलाई एअरपोर्टमै गुलेली हान्ने पत्रकार

एमसीसीकी उपाध्यक्षलाई एअरपोर्टमै गुलेली हान्ने पत्रकार

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता बिरोधीहरुले आगामी भदौ २४ गते नेपाल आउन लागेकी एमसीसीकी उपाध्यक्ष फातिमा जे सुमारलाई भौतिक आक्रमणको चेतावनी दिएका छन् ।

एमसीसी सम्झौता खारेजीको माग राख्दै अभियान चलाइरहेका व्यक्ति तथा संघसंस्थाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फातिमामाथि भौतिक आक्रमण गर्न सामाजिक सञ्जालमा आह्वानसमेत गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक एउटा फोटोमा फातिमा एमसीसी पास गराउन आउन लागेको भन्दै त्यसलाई असफल बनाउन भौतिक आक्रमणका लागि तयार हुन आग्रह गरिएको छ ।

त्यस्तो फोटो एमसीसीबिरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका उन्नत लोेकतन्त्र पार्टीका नेता स्वागत नेपालले समेत सेयर गरेका छन् । स्वागत पुराना पत्रकार तथा वकिल पनि हुन् ।उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका नामबाट नेपालले शेयर गरेको फोटोमा फातिमाको प्रतिकारका लागि गुलेली तथा अन्य घरेलु हतियार लिएर एअरपोर्टमै उपस्थित हुन आह्वान गरिएको छ ।

‘भदौ २४ गते तीजकै दिन नेपाली चेली बलात्कार गर्दा पनि मुद्दा नलाग्ने एमसीसी पास गराउन एमसीसीकी उपाध्यक्ष फातिमा भन्ने यो महिला नेपाल आउँदै, त्यसैले आक्रमणका लागि तयार बनौं !,’ नेपालले शेयर गरेको सामग्रीमा भनिएको छ, ‘एअरपोर्टदेखि यो महिला पुग्ने हरेक भेटघाट भौतिक रुपमा नै गुलेली तथा अन्य घरेलु आक्रमणबाट असफल बनाउन सहभागी हुन सबै युवालाई आह्वान !’

एमसीसी सम्झौता खारेजीको अभियान चलाइरहेका अन्य कतिपयले भने भौतिक आक्रमणका लागि आह्वान गर्नुलाई गलत भनेका छन् । आफूलाई उन्नत लोकतन्त्र पार्टीको नेता दाबी गर्ने व्यक्तिले कसैमाथि भौतिक आक्रमणका लागि आह्वान गर्नु लज्जास्पद कुरा भएको एमसीसी खारेज अभियानका एक अभियन्ताले बताए । आफूहरु पनि एमसीसी सम्झौताको विरुद्धमा उभिएको भन्दै उनले शान्तिपूर्ण आन्दोलनबाट नै एमसीसी सम्झौता खारेज गराउने दाबी गरे ।

टिप्पणीहरू