अखिल अध्यक्षबाट महरको बिदाइ,सुनिताको इन्ट्री
एमालेको भातृ संगठन अनेरास्ववियुको नेतृत्व परिवर्तन हुने भएको छ । मुख्य विपक्षी दल नेकपा एमाले सम्वध्द अखिलको २२ औं सम्मेलन सकिएको पाँच वर्षपछि विना सम्मेलन नै नेतृत्व फेरिन लागेको हो ।
पार्टी महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा अहिले अखिलको स्थायी समिति बैठक चलिरहेको छ । तत्काल नेतृत्व परिवर्तन नभए एक किसिमको ठहराव आउन सक्ने भन्दै विकल्प खोजिएको हो ।
अध्यक्ष महर पनि सम्मेलनले निर्वाचित गरेका अध्यक्ष होइनन् । अखिलको २२ औं सम्मेलनले नविना लामालाई अध्यक्ष र महरलाई महासचिव निर्वाचित गरेको थियो । तर अखिल क्रान्तिकारीसँगको एकतापछि महर अखिलको अध्यक्ष भएका हुन् । लामा साँसद भएपछि महरलाई अध्यक्ष बन्न बाटो खुलेको हो ।
आजको स्थायी समिति बैठकले उपाध्यक्ष सुनिता बराललाई अध्यक्ष बनाउने मोटामोटी सहमति जुटेको बुझिएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता सुरेन्द्र पाण्डेको समितिले महर,अखिल उपाध्यक्ष रश्मी आचार्य र सैलेश तामाङ्गलाई पार्टी केन्द्रीय कमिटीमा लैजाने तयारी गरेको छ ।
यसैगरी नारायण घर्तीलाई अखिलको महासचिव रहनेगरी केन्द्रीय कमिटीको प्रारुप तय गरिएको छ । अर्का नेता आरसी लामिछाने भने अखिलको उपाध्यक्ष बन्ने छन् ।
टिप्पणीहरू