अब विदेश जाने क–कसलाई अवसर ?
झण्डै सवा दुई महिनादेखि मन्त्रीविहीन परराष्ट्र मन्त्रालयको रमिता कस्तो छ भने, सहसचिवहरू विभिन्न मिशनबाट फर्किएका छन्, कोही बढुवा भएका छन् । उनीहरू दिनहुँ मन्त्रालय जान्छन् । महाशाखा तोकिएको छैन । हाजिर गर्छन्, फर्किन्छन् ।
अर्कातिर, यो सरकारले अहिलेका सचिव भरत पौडेललाई ‘घाँडो पन्छाउनका लागि’ भन्दै राजदूत बनाएर कुनै देशमा पठाउने सम्भावना छ । उनी जेठ २७ मा पदमुक्त प्रदीप ज्ञवाली र असार ८ गते बर्खास्त रघुवीर महासेठको रोजाईका सचिव थिए । यदि यस्तो भयो भने, सचिवमा तीनजनाको सिफारिस गर्नुपर्ने चटारो रहन्छ । तर, नयाँ मन्त्री नियुक्त नभई यो काम अगाडि बढ्ने सम्भावना छैन । सचिवका लागि ३ जनाको नाम सिफारिश गर्दा हाल न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखको रूपमा कार्यरत अमृत राई र प्रवक्ता सेवा लम्साललाई तान्नुपर्ने हुन्छ । यदि भरतका हकमा ‘व्यवस्थापन’ गरियो भने १० महिना जागिर बाँकी भएका प्रकाश सुवेदीले पनि नाम चढाउने सम्भावना रहन्छ ।
त्यस्तै, लामो समय परराष्ट्रसेवामा बिताएर राजदूत हुन नपाएकाहरू यसचोटि आशावादी छन् । यदि वरिष्ठताका आधारमा राजदूत चयन गरियो भने मन्त्रालयमा ६ वर्ष बसेका गुल्मेली तेजबहादुर क्षेत्रीको पनि पालो आउन सक्छ । उनी प्रदीप ज्ञवालीको सचिवालयमा बसेर भर्खरै सहसचिवमा बढुवा भएका हुन् । अर्का सहसचिव निर्मल काफ्ले दुईपटक नाम सिफारिस भएर पनि हालसम्म मन्त्रालयमै थन्किएका छन् । अमेरिका डेस्क हेर्छन् । हरिश्चन्द्र घिमिरे बेइजिङबाट फर्किएर पश्चिम एशिया, अफ्रिका डेस्क हेर्छन् । मौका मिल्यो भने उनी पनि राजदूतको लाइनमा छन् ।
प्रदीप ज्ञवाली र रघुवीर महासेठ मन्त्री हुँदाका निजी सचिव कूलबहादुर मगरको उपसचिवमा बढुवा भएपछि उनको पोष्टिङ साउथ एशिया डेस्कमा भएको छ । यसबीच, उपसचिवहरू राजदूतपछिको दर्जा डिसिएमका रूपमा विभिन्न देशका निम्ति छानिएका छन् । त्यसमध्येका विशाल भट्टराई दुबई, ज्ञानबहादुर मगर दक्षिण अफ्रिका, लोकबहादुर पौडेल पाकिस्तानमा परेका छन् । बढुवा नभएपछि मुद्दा हालेर बसेका रमेश चर्मकारलाई अमेरिका पठाइएको छ भने दिलबहादुर सुनार दुबईमा तोकिएका छन् । बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीका भाइ रवीन्द्र ब्राजिलका लागि डिसिएम तोकिएका छन् भने यो लटमा सात जना नासु पनि विभिन्न मिशनमा परेका छन् । त्यसमध्ये ज्ञानहरि ज्ञवाली टोकियो, रामसुन्दर पन्थी नयाँ दिल्ली, यामबहादुर नेपाली बेइजिङ, अनुप भण्डारी हङकङ, प्रशान्त ठाकुर इजिप्ट, माधव काफ्ले याङ्गुन (बर्मा) हुन् ।
ओलीकालमा कतिसम्म भयो भने, समय नभइकनै कोही कसैकी बुहारी भएबापत बढुवाबाट लाभान्वित † एमाले उपमहासचिव विष्णु पौडेलकी बुहारी प्रणिता अधिकारी त्यही सुविधामा उपसचिव भएकी छन् । उनको बढुवाका निम्ति परराष्ट्रमा १४ उपसचिव र १२ शाखा अधिकृतको नयाँ दरबन्दी थप गरिएको थियो । प्रणितालाई बढुवा गर्नका लागि मात्रै दुई उपसचिवको दरबन्दी अर्थले स्वीकृत ग¥यो । त्यही मन्त्रालयमा कहिल्यै कन्सुलर, पासपोर्टमा नबसेका प्रशासनका भुपेन्द्र घिमिरेको पीडा सुनिसाध्ये छैन । नासु हुँदादेखि पिए शाखा सम्हालेका कारण उनलाई मन्त्रालयमा ‘पिए विज्ञ’ भनेर जिस्क्याइन्छ । जतिजनाको पिए बसे पनि मन्त्रालयको चार दिवारी छिचोल्ने मौका पाएका छैनन् ।
उता, बिनाकामको दरबन्दीलाई स्तरोन्नति गरिएको छ । राष्ट्रपति कार्यालयमा परराष्ट्रले सम्पर्क अधिकृत (लियाजो) का रूपमा एकजना उपसचिव पठाउने गरेको थियो । हालै उक्त दरबन्दीलाई सहसचिव कायम गरियो । त्यहाँ भर्खरै सुधीर भट्टराई गएका छन् । प्रदेश प्रमुखको कार्यालयमा पनि त्यस्ता सम्पर्क अधिकृत पठाइने गरिन्छ । अहिले प्रदेश १ मा यज्ञ पौडेल, २ मा विशेष शाह, बागमतीमा सुभाङ्ग पराजुली, लुम्बिनीमा खिमानन्द भुषाल, कर्णालीमा नारायण ज्ञवाली र सुदूरपश्चिममा भुवन पौडेल छन् । उनी भर्खरै जेनेभाको डिसिएमबाट फिर्ता भएका हुन् । तर, प्रदेशमा खटिएका ती सम्पर्क अधिकृतको काम झिँगा धपाउनेबाहेक खासै केही हुँदैन । किनभने, तिनले गर्ने काम जति सबै काठमाडौंमा कि परराष्ट्रले कि पर्यटन बोर्डले गरेको हुन्छ । विदेशीको बाक्लो आवतजावत हुने प्रदेश २ र गण्डकी हुन् ।
टिप्पणीहरू