खाली चेक भिडाउनेहरुलाई खतरा

खाली चेक भिडाउनेहरुलाई खतरा

खाली चेक भिडाएर करोडौँ रकम झ्वाम खाई फरार रहेका एक जग्गा कारोवारी समातिएका छन् । जग्गा कारोबारमा खातामा पैसा नभएको चेक भिडाएर दुई व्यक्तिबाट झन्डै दुई करोड ठगी भागेका काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-८ घर भई बाराको जीतपुर सिमरा बस्ने कृष्णबहादुर थापा शनिबार वीरगन्जबाट समातिएका हुन् ।

कृष्णबहादुरलाई बैंकिङ कसूरसम्बन्धी तीनवटा मुध्दामा अदालतले दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले दोषी ठहर गरी जरिवाना र कैद सजाय सुनाएकोमा उनी त्यसयता फरार रहँदै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले वीरगन्जको पूर्णिमा चोकबाट अस्ति पक्राउ गरेको हो ।

कृष्णबहादुर विरुद्ध दुई पटक रविन्द्र थापाले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्धामा दोषी ठहर गरेको हो । उच्च अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलाले उनलाई एक करोड २५ लाख बिगो र १७ दिन कैद सजाय सुनाएको थियो । रविन्द्रकै अर्को जाहेरीका आधारमा ७७ मङ्सिर २२ गते उच्च अदालत पाटनले फेरि ७५ लाख बिगो जरिवाना र १३ दिन कैदको फैसला गरेको थियो ।

त्यसअघि २०७३ माघ ६ गते बैकिङ कसूरकै मुद्धामा जिल्ला अदालत काठमाडौँले कृष्णबहादुरलाई १७ लाख जरिवानाको फैसला सुनाएको थियो । राजन श्रेष्ठले हालेको चेक अनादरसम्बन्धी मुद्धामा जिल्ला अदालतले १७ लाख र त्यसको कानुनबमोजिम हुने ब्याजसमेतको बिगो दाखिला गर्नुपर्ने आदेश दिएको थियो । कृष्णबहादुरले जरिवाना नतिरेपछि २०७५ असोज १९ गते काठमाडौँ जिल्ला अदालतले १ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

तर, कैद र जरिवाना भुक्तानी नगरी फरार रहेका कृष्णबहादुरको प्रहरीले खोजि गरिरहेको थियो । पक्राउपछि फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौँ पठाइएको महानगरी प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराले जानकारी दिनुभयो ।

मोटरसाइकलको सिटमुनी राखेर लागुऔषध कालिकोट पुर्याइयो

मोटरसाइकलको सिटमुनी लुकाएर लागुऔषधलाई कालिकोट पुर्याइएको छ । प्रहरीले त्यसरी लुकाएर लगिएको १ सय ८० ट्याब्लेट नाइट्राभेट, २ सय ८० ट्याब्लेट ट्रामावेल र ५ ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको हो ।

कालिकोटको तिलागुफा नगरपालिका ६, खल्लागार्डबाट प्रहरीले जुम्ला चन्दननाथ नगरपालिका बस्ने २४ वर्षीय सनिर श्रेष्ठ र २८ वर्षीय रामबहादुर बुढाको साथबाट उक्त लागुपदार्थ बरामद गरेको हो ।

प्रहरीले उनीहरु चढेको लु.७३ प ८३०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी र ब्याट्रीको कभरभित्र लुकाई ल्याएको उक्त लागुऔषध फेला पारेको हो ।

उता सिरहाको सिरहा नगरपालिका ६ बसबिट्टा चोकबाट ५ किलो २ सय २३ ग्राम गाँजा र २ थान नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ । धनुषा सबैला नगरपालिका १३, तिरतपुर बस्ने २६ वर्षीय शुभकुमार महतोलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।

ज.११ प १७४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा महतोको साथबाट उक्त लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू