सानेपामा दिनदिनै रमिता,आज रामेछापका काँग्रेसीको पालो

सानेपामा दिनदिनै रमिता,आज रामेछापका काँग्रेसीको पालो

नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय,सानेपामा रौतहटका काँग्रेसीहरुले धर्ना र जुलुस गरेको महिनौं भइसकेको छ । बेला बेला अरु जिल्लाका काँग्रेस सभापतिहरुले समेत धर्ना र जुलुस गर्ने गरेका छन् ।

आज भने त्यहाँ रामेछापका झण्डै दुई दर्जन काँग्रेसीले नाराबाजी गरेका हुन् । दिउँसो काँग्रेसको रामेछाप जिल्ला कमिटी सदस्य सुखराम तामाङको नेतृत्वमा झण्डै एक घण्टा नाराबाजी भएको बताइन्छ ।

उनीहरुले रामेछापको सुनापति २, दिमी पोखरीमा यसअघिको प्रदेशसभा निर्वाचनमा पराजित उम्मेदवार जीतबहादुर मगरको समूहले गुण्डागर्दी शैलीमा काँग्रेसको बैठक अवरुद्ध बनाएको, काँग्रेसको अधिवेशनमा बुथ र मतदान अधिकृतलाई कब्जामा लिएर एकपक्षीय ढंगले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको आरोप लगाएका छन् ।

प्रदर्शनकारीले वार्ड नम्बर २ को उक्त निर्वाचन बदर गरी पुनः निर्वाचन गर्नुपर्नेलगायतको माग राखी पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाए पनि कुनै सुनुवाई नभएकाले नाराबाजी गर्नुपरेको बताएका छन् ।

प्रदर्शनकारीले नयाँ निर्वाचन मिति तय गर,अवैधानिक निर्वाचन बदर गर,निर्वाचन समिति होशियार, विधान मिच्नेलाई कारबाही गरलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू