चिडियाखानामा कुकुरले टोक्ने रोगबिरुध्द लड्ने अठोट

चिडियाखानामा कुकुरले टोक्ने रोगबिरुध्द लड्ने अठोट

आज विश्व रेबिज दिवस स्वास्थ्य मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरको चिडियाखानामा मनाएको छ । ‘तथ्य बुझौँ,त्रसित नहोऔँ’ भन्ने मूल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ मनाइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाघरमा मनाएको कार्यक्रमको उद्देश्य जनचेतना फैलाउने रहेको बताइएको छ ।

त्यसअवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकाले कुनै पनि हेलचेक्रयाईं नगरी उपचारमा लाग्न सुझाव दिनुभएको छ ।

उहाँले जनावरको टोकाइबाट हुने उक्त रोगको उपचार तत्काल भएमा ज्यान बच्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । जनावरको टोकाइबाट हरेक महिना एकदेखि दुई जनाको मृत्यु हुने गरेको उहाँले जानकारी गराउनुभयो ।

घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएर बच्न सकिने भन्दै प्रवक्ता पौडेलले कुनैपनि जनावरले टोकिसकेपछि १० देखि १५ मीनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि त्यसको असर कम हुने उल्लेख गर्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बास्तोलाले वर्षेनी २४ जनाको हाराहारीमा रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको जानकारी दिनुभयो । कुकुरबाट मानिसमा हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा झार्ने सरकारको योजना छ ।

टिप्पणीहरू