पशुपतिनाथ आफैं पीडित

पशुपतिनाथ आफैं पीडित

अचम्मको कुरा– शेरबहादुर देउवाले केपी ओलीका जिल्ला कमिटी सदस्यलाई पशुपतिक्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्ति भएको छ ।

अहिले पशुपतिको शिवलिंगमा जडित जलहरीको विषयमा अख्तियारले गरिरहेको छानवीनमा बयान दिन दौडिरहेका सदस्य सचिव मिलन थापा एमाले ललितपुर जिल्ला कमिटी सदस्य हुन् । सदस्य सचिव हुनुअघि कोषाध्यक्ष थिए ।

सदस्य सचिव प्रदीप ढकालको कार्यकाल देउवा प्रधानमन्त्री भएलगत्तै समाप्त भयो । उनीहरुलाई नियुक्त गर्ने संस्कृति मन्त्रालय मन्त्रीविहीन भएकै बेला कुन खेल खेलेर हो, मिलन सदस्य सचिव भइदिए ।

जलहरी घोटालाको विषयमा आइतबार कोषका सदस्यहरु देवी बराल र उद्धव बडाल बयान दिन अख्तियार गए । सबैलाई एकै प्रश्न छ, ‘फागुन ११ गते काम सम्पन्न नभई काम सम्पन्न भएको मुचुल्का किन गरियो ?’ मुचुल्का ११ गते गरियो । प्लेटको रिङचाहिँ पछि बनाएर २० गते हालियो । कालिगढले ९५ लाख ज्याला लिएको बयान छ । बोर्डको बैठकमा ज्याला दाताबाट दिलाउने भन्ने निर्णय छ ।

दाताबाट ज्याला दिलाइने भनेर दाताको नाम गोप्य राखे पनि कोषका कर्मचारीहरुले थाहा पाए कि, ती भाटभटेनीका साहु मीनबहादुर गुरुङ हुन्। अख्तियारको प्रश्न छ– ‘ज्याला खरिद प्रक्रियाअनुसार दिन हुने कि होइन ? कोषमा जिन्सी दाखिला भएको छ कि छैन ? जिन्सी दाखिला भएपछि खर्च प्रक्रिया पूरा गर्नुपर्ने हो कि होइन ?’

भनिन्छ, कोषको सदस्य सचिव हुने दौडधुपमा लागेका मान्छेहरु अख्तियारबाट छिटोछिटो मुद्दा चलाउन सक्रिय छन् । पशुपतिको आकर्षण भनेको जग्गा–जमिन र बालुवा ठेक्का हो । पहिला–पहिला मूलपानी, गोठाटारको बालुवामा दुई–चार करोडको लोभ हुन्थ्यो ।

तर, पछि २ अर्ब ११ करोडभन्दा बढीमा दिन नपाइने भनिएको छ । जग्गा दर्तामा सल्बलाउने दलालबाट प्राप्त हुने लाभ अर्को आकर्षण हो । विभिन्न मोठका जग्गा पशुपतिका नाममा दर्ता गर्ने, मोही कायम गर्ने र त्यसमा रजगज चलाउने काम हुन्छ । उपत्यकाभित्र मात्रै पशुपति गुठीका पाँच हजारदेखि ५२ सय रोपनी जमिन छन् । ती सबै व्यवसायिक प्रयोजनमा लगाइएको छ ।

बत्तीसपुतलीस्थित होटल द्वारिका, तारागाउँ (होटल हायात) सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधाउधी जमिन पशुपतिको नाममा छ । तर, पशुपति आफैँ पीडित छ, जमिन नभेटेर, घोटालामा परेर ।

टिप्पणीहरू