बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

बागमती प्रदेशमा केन्द्रीय गठबन्धनको सहमतिअनुसार नयाँ सरकार गठन हुने भएको छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनको तयारी छ ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले नेकपा एकीकृत समाजवादीका नेता पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

‘केन्द्रीय सहमतिअनुसार नै सरकार गठन हुन्छ’ नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने–‘आर्थिक समृद्धि,सुशासन र संविधान रक्षाको निम्ति पाण्डेकै नेतृत्वमा सरकार गठन हुनेछ ।’

यसअघि केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशमा सरकारको नेतृत्व दिने सहमति गरेको थियो । बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनको प्रकृया आजैबाट शुरु भएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमती प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।

विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल,नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ,नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

बागमती प्रदेशसभामा माओवादी केन्द्रको २३, काँग्रेसको २२ र एकीकृत समाजवादीका १३ सांसद छन् । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तिमा ५५ सांसद आवश्यक हुन्छ । विपक्षी गठवन्धनसँग रहेको संख्या बहुमतका लागि पर्याप्त हो । प्रष्ट अल्पमतमा रहेको एमालेसँग भने ४३ सांसद छन् ।

टिप्पणीहरू