रक्षामन्त्री बन्ने चक्करबाट राजन केसी अब उद्योगतिर
रक्षामन्त्री बन्ने चक्करमा रहेका काठमाडौं निर्वाचन क्षेत्र १० का माननीय राजन केसी उद्योग मन्त्री बन्ने योजनामा लागेका छन् । रक्षामा मीनेन्द्र रिजाल गएपछि उननले नयाँ मन्त्रालयको खोजी र चाहना राखेको बताइन्छ ।
०७० को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कीर्तिपुर भेगबाट पराजित गरेपछि सर्वाधिक चर्चामा आएका केसी एक पटक खेलकुद मन्त्री बनेका थिए । अहिलेको क्याबिनेटमा रक्षा मन्त्री बन्ने चाहना राखेका उनी यसपटक क्याबिनेटमै पर्न सकेका छैनन् ।
काँग्रेसभित्र नेता प्रकाशमान सिंह समूहका केसीलाई अन्य पक्षले मन्त्री बनाउन रुचाउने कुरो पनि भएन । त्यसैले सिंह आफैँले पहल गरिदिन केसीले हिजो प्रकाशमानसँग बिहान पौने १० बजेदेखि पौने ११ बजेसम्म सिंह निवास,ठमेल,चाक्सीबारीमा भेट गरेको बताइन्छ ।
यसबीच नेता सिंहले समेत काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केसीलाई उद्योग मन्त्री बनाउन आग्रह गर्नुभएको स्रोतको दाबी छ । सिंहको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाका मान्छेलाई मन्त्री बनाउँदा मसँग निकटलाई किन नदिने ? मेरो मान्छेलाई मात्रै किन पछि पार्ने ?’
टिप्पणीहरू