फौजमा कति धेरै मनमौज
तत्कालीन शाही नेपाली सेनामा राजाका नातेदार र भाइभारदारका एकाध सन्तानबाहेक सबै अफिसर ज्यादै अनुशासित हुन्थे । सिनियरलाई मान्थे, इज्जत गर्थे । बाहिर तह लगाउन नसकिएका छोराहरूलाई आर्मीमा अफिसर बनाएर राहत महसुस गर्थे । तर गणतन्त्र नेपालका केही आर्मी अफिसरचाहिँ राजनीतिक सम्बन्ध र हाकिमको आड लिएर दीपक मनांगे, चक्रे मिलनलगायत डनसरह जुनियरलाई तर्साउँदै भनेको ठाउँमा पोस्टिङ मिलाउँदै छन् ।
तीमध्येका हुन् मेजर सरिनप्रताप मल्ल । लेबनानमा आफ्नै गणपतिलाई हातपात गर्दा पनि कटवाल र गिरिजाले उनलाई ठूलो कारबाही हुनबाट बचाएका थिए भने अनुशासन अनुगमन गर्ने तत्कालीन कार्यरथी प्रदीपप्रताप मल्लले पिए राखेका थिए । गौरवसमशेरले पनि प्रधानसेनापति हुनुअघिसम्म उनैलाई छेउमा राखे । मल्ललाई अधिकांश गण, बाहिनी र पृतनाका हाकिम आफूसँग राख्न मान्दैनन् । अहिले उनी नौ बाहिनीमा सरुवा भएका छन् । जागिर खान्न भनेर राजीनामा दिँदासमेत बाहिनीपतिले ‘जागिर किन छोड्छौ, अफिस आउनु पर्दैन, बेला–बेला फोनमा रिपोर्ट गर’ भनेर एक वर्षलाई बिदा दिएको बताइन्छ ।
अर्का डन मेजर दीपेन्द्र न्यौपाने अफ्रिकी मुलुक चाडमा शान्ति सेनाअन्तर्गत अनुशासन कायम गर्ने जिम्मेवारीमा रहँदा सिनियर अफिसर मेजरलाई मरणासन्न हुनेगरी पिटेपछि युएनले फिर्ता गरी कारबाही सिफारिस गरेकोमा राजनीतिक सम्बन्ध र जर्साबहरुको कृपाकै कारण जोगिँदै आएका छन् । स्याङ्जा घर भएका उनले विकास–निर्माण निर्देशनालयका जर्नेल÷कर्णेलहरुलाई समेत चिफसा’बसँगको सम्बन्ध देखाएर थर्काउने गर्थे भने फास्ट ट्र्याकमै सरुवा मिलाएर आएपछि झन् के गर्लान् ?
बालकृष्ण खाँड रक्षामन्त्री हुँदा रक्षा समन्वय काटिएपछि उनले ठुल्ठूला जर्साबहरूको सातो टिप्ने गरेको धेरैलाई थाहा छ । स्टाफ कलेज कोर्समा कुनै हालतमा पास हुने ल्याकत नभए पनि अनेक तरिकाले उत्रिछाडे । तालिमभरि प्रशिक्षक र साथीहरूलाई तर्साएर पछाडिबाट दोस्रो हुन सफल उनले रिजल्टमा माथिबाट दबाब दिने कामदेखि सबैको अगाडि सोझै प्रधानसेनापतिसँग फोनमा कुरा गरेर प्रभाव देखाउने कामसमेत गरे । राजेन्द्र क्षत्री घर गए पनि पूर्णचन्द्र झन् नजिकको मान्छे हो, मैले जानेको छु भन्दै सबलाई थर्काउने गरेका छन् ।
– खोमदत्त बराल, ज्योतिषडाँडा, स्याङ्जा
टिप्पणीहरू