पछि लाग्दालाग्दै उनैको हातबाट प्राणान्त
- राजेन्द्र स्थापित
सन् २०११ मा मध्यपूर्वका इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन शुरु भयो । आन्दोलनको हावा अफ्रिकी देश लिबियासम्म पुग्यो । सन् १९६९ मा सैन्यशक्ति प्रयोग गरी गरेर निरन्तर सत्तामा रहिरहन सफल कर्नेल मुअम्मर गद्दाफीको सरकारविरुद्ध पनि आन्दोलन शुरु भयो । यो आन्दोलनलाई अमेरिकाले सहयोग र समर्थन ग¥यो । फ्रान्स र बेलायत पनि पछि लागे । गद्दाफीको सरकारले विरोधीहरुलाई दमन गर्न थालेको बहानामा अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सेनाले सैन्य कारबाही थाल्यो । अप्रिल ३० को हवाई आक्रमणमा गद्दाफीका छोरा तथा तीनजना नाति मारिए । लगत्तै अन्तर्राष्ट्रिय अदालतले गद्दाफीविरुद्ध पक्राउपुर्जी जारी ग¥यो । विद्रोही सेना र नेटोको आक्रमणबाट कमजोर बनिसकेका गद्दाफी राजधानी त्रिपोली छाडेर नाफुसा पहाडतर्फ भागे । अगस्तमा विद्रोहीले त्रिपोलीमाथि नियन्त्रण जमाए ।
अक्टोबर २० को बिहान ८.३० बजे नेटोले गद्दाफी लुकेर बसेको क्षेत्रमा बमबारी ग¥यो । गद्दाफी र सहयोगीहरु भागेर नजिकैको गाउँ पुगे । गद्दाफीको टाउकोमा ग्रिनेडको छर्रा लागिसकेको थियो । एकपछि अर्को आक्रमण थालिएपछि उनीहरु एउटा कन्स्ट्रक्सन साइटमा छिरे । लुक्ने ठाउँ नपाउँदा ढल बगिरहेको पाइपभित्र छिरे तर विद्रोहीले फेला पारिहाले । जथाभावी छुरा तथा अन्य धारिलो हतियारले अर्धनग्न शरीरमा प्रहार गरे । यहाँसम्म कि अलि लामो धारिलो हतियार गुदद्वारमा छिराएर घुमाइदिए । रक्ताम्य शरीरलाई घिसारेर ट्रकमा हाली मिसरातातर्फ लगियो । अस्पताल नपुग्दै बाटोमै उनले दम तोडे । विद्रोही र नेटोले उनको मृत्यु टाउको र पेटमा ग्रिनेडको छर्रा लागेर भएको दाबी गरे तर कुटपिटपछि टाउको र पेटमा गोली हानेर मारिएको थियो । त्यो श्रव्यदृश्य पछि मिडियामा भाइरल बन्यो ।
गद्दाफीलाई अमेरिकाले मार्ने कोसिस गरेको यो पहिलोपटक होइन । उनी सिर्तमा सन् १९४२ मा जन्मेका हुन् । इजिप्टका राष्ट्रपति गमाल अब्दुल नासिरको राजनीतिबाट प्रभावित भई सन् १९५२ मा प्यालेस्टाइनको पक्ष लिएर स्वेज नहरसम्बन्धी विवादको बेला इजरायलविरोधी आन्दोलनमा सहभागी भए । पछि सेनामा भर्ती भए । र, २७ वर्षको कलिलै उमेरमा सत्ता कब्जा गर्न सफल भए । गद्दाफीको शासन निरंकुश थियो र उनी अøयासी थिए भन्ने कुरामा कुनै विवाद छैन । तर प्यालेष्टाइनको समर्थक तथा आफू र इजरायलको समेत कट्टर विरोधी भएकै कारण अमेरिका उनलाई ‘एक नम्बरको शत्रु’ मान्थ्यो । यद्यपि उनीचाहिँ ‘विश्व आतंकवादको प्रमुख स्रोत अमेरिका हो’ भन्थे । ‘म इस्लामको साधारण सिपाही हुँ । अमेरिकी साम्राज्यवादको कट्टर शत्रु र लिबियाइ क्रान्तिको नेता हुँ । मलाई, मेरा मित्रहरु यासेर अराफात र अबु निदाललाई आतंकवादी मान्ने हो भने जर्ज वासिंगटन (अमेरिकाका प्रथम राष्ट्रपति), गेरीबाल्डी (इटलीको एकीकरण गरेका सैन्य नेता) र अब्राहम लिंकन (दासप्रथा अन्त्य गरेका अमेरिकी राष्ट्रपति) हरु पनि आतंकवादी हुन्, क्रान्तिकारी हैनन् ।’ उनको दाबी यस्तो रहन्थ्यो ।
अमेरिकाले गद्दाफीको यो दलिलको जवाफ कहिल्यै दिन सकेन वा चाहेन । बरु ज्यानै लिएर उनीसित शत्रुता अन्त्य गर्ने प्रयत्न धेरैपटक ग¥यो । यसै सेरोफेरोमा सन् १९८६ अप्रिल १५ मंगलबारको दिन अकस्मात त्रिपोलीमा हवाई आक्रमण भयो । ‘अपरेशन एल डोराडो क्यानन’ को नाउँ दिई आक्रमण गर्दा अमेरिकाले एकैपटक हवाई र जल सेना प्रयोग गरेको थियो । आक्रमणमा लिबियाका ४५ सैनिक र ३० सर्वसाधारण मारिए । १४ वटा मिग लडाकु विमान, दुईवटा हेलिकप्टर, पाँचवटा राडार र पाँचवटा सैन्य गाडी ध्वस्त पारिए । आक्रमणमा अमेरिकी विमान एफ–१११ खसाल्न लिबिया सफल भयो । विमान चालक दुईजना मारिए । लिबियामाथि नियन्त्रण जमाउन होइन, कर्णेल गद्दाफीलाई मार्न गरिएको यो प्रयासमा अमेरिका असफल भयो । गद्दाफी परिवारसहित भाग्न सफल भए । बरु धर्मपुत्रीको रुपमा पालेर हुर्काएकी ११ वर्षीया हन्ना मारिइन् । स्मरणीय छ, गद्दाफी दुई श्रीमतीका तर्फबाट सात छोरा र छोरी आयशाका बाबु थिए । यसको बाबजुद उनले मिलादलाई छोरा र हन्नालाई छोरीसरह पालेका थिए ।
गद्दाफीलाई अमेरिकाले मात्र होइन, इजरायलले पनि कैयौंपटक मार्न कोसिस गरेको हो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन गद्दाफी ‘बहुला कुकुर’ हुन् भन्थे । इजरायली प्रधानमन्त्री मेनाहिम बेगिन उनलाई ‘चाप्लुस, हत्यारा र फटाहा’ मान्थे । गद्दाफी आफूमाथि लगाइएको आरोप र गालीबाट रिसाउँदैनथे । भन्थे, ‘तारिफ सुनेर म त्यति खुशी हुँदिन जति गाली सुनेर हुन्छु ।’ एकपटक अमेरिकी राष्ट्रपति रेगनले पत्रकारसमक्ष बोल्दै गद्दाफीलाई ‘गुजुल्टो’ जस्तो मान्छे भनिदिए । जवाफमा पत्रकार सम्मेलन गरी गद्दाफीले भने ‘मलाई थाहा थिएन कि रेगन साहब मानसिक रोगी पनि हुन् । मैले थाहा पाएको यत्ति हो कि उनी एक असफल अभिनेता हुन् । बूढ्यौलीका कारण नशाहरु जमिसकेका छन् र उनको आमाशयलाई क्यान्सरले छोइसकेको छ । म अल्लाहसँग बिन्ती गर्छु कि उनलाई रोगबाट मुक्ति मिलोस् ।’ तर दुर्भाग्य, उनको अकाल मृत्यु अमेरिकीकै हातबाट भयो ।
देश जोगाउने उपाय विशेष
सामान्यतया सत्ता हत्याउन राजनीतिज्ञहरू राजाको हत्या वा विद्रोह गर्छन् । तर प्रोभेन्सका काउन्ट हगले अर्कै उपाय अपनाए । प्रोभेन्स फ्रान्सको दक्षिणपूर्वमा अवस्थित, इटलीसँग सिमाना जोडिएको क्षेत्र । सन् ९०५ मा इटलीले त्यहाँ आक्रमण ग¥यो । राजा लुई (तृतीय) लाई अन्धो बनाएर खेद्यो । काउन्ट हग खेदिएका राजा लुइको प्रमुख सल्लाहकार बने । लुइले प्रोभेन्समाथि पुनः नियन्त्रण जमाएपछि हगको नेतृत्वमा विपक्षीहरुको सफाया शुरु गरियो । त्यसबेला बर्गन्डीका राजा थिए, रुडोल्फ (द्वितीय) । हगले सत्ता प्राप्त गर्ने पहिलो सिँढीको रुपमा रुडोल्फका आमा तथा राजा रुडोल्फ (प्रथम) को विधवा पत्नी गुइलासँग बिहे गरे । लगत्तै बर्गन्डी कब्जा गर्न खोजे ।
सन् ९२२ मा इटलीमा भएको विद्रोहमा सम्राट बेरेन्गर पदमुक्त भए । बर्गण्डीका राजा रुडोल्फ (द्वितीय) इटलीको पनि राजा बने । पछि हगले यहाँ आक्रमण गरे । इटलीको विभाजन हुने देखिएपछि रुडोल्फ हगलाई इटलीको राजा मान्न तयार भए । हग राजा बनेपछि इटलीको सीमा विस्तार गर्न अग्रसर भए । यसक्रममा हग र रुडोल्फबीच एउटा राजनीतिक सम्झौता भयो । सोअनुरुप हगलाई रुडोल्फले छोरी एडलाइडे दिए । स्मरणीय छ, एडलाइडे नाताले हककी पत्नी गुइलाका छोरातर्फको नातिनी हुन् । बर्गुण्डीका राजा रुडोल्फको निधन सन् ९३७ मा भयो । हगले रुडोल्फकी विधवा पत्नी बेर्थासँग पनि बिहे गरे । बेर्था नाताले गुइलाकी बुहारी हुन् । यसरी सत्तामा टिकिरहन र राज्य विस्तारको बहानामा रुडोल्फ (द्वितीय) का आमा, पत्नी र छोरी बिहे गर्ने हग इतिहासका प्रथम र अन्तिम राजा हुन् । हग यत्तिमै सीमित भएनन्, उनले आफ्ना भाइको बिहे रुडोल्फकी बहिनीसँग र आफ्नो छोरा लोथारको बिहे रुडोल्फकी दोस्री छोरीसित गराइदिए । उनले सन् ९४७ सम्म अर्थात् २३ वर्ष इटलीमा शासन गरे । ६७ वर्षको उमेरमा निधन भयो । उनले राजा रुडोल्फका आमा, छोरी र पत्नीबाहेक मारोजिया भन्ने विवाहित महिलासँग पनि बिहे गरेका थिए । मारोजिया पोप सर्गिस (तृतीय) को रखौटी थिइन् । मारोजिया र उनकी बहिनी थियोडोरा दुवै वेश्या थिए । हगको निधनपछि मोराजियाकै छोरा लोथार इटलीको राजा बनेका हुन् । मोराजियाका पहिलो लोग्ने हगका सौतेलो दाजु थिए । हगले रोमन शासक अल्बोरककी पत्नी एल्डासँग पनि बिहे गरेका थिए ।
माफी हैन मरण
योङले मिङ वंशका तेस्रो चिनियाँ सम्राट हुन् । मिङ वंशका प्रथम सम्राट होङ्बु हुन् । उनीपछि जेठो छोरा झु पाओको छोरा जियानवेन सम्राट बने । त्यसउपरान्त जियानवेनका काका योङ सम्राट भए । योङले सन् १४०२ मा गद्दीमा बसे । उनकी पत्नी शु यिन्ह्वा (सन् १३७६ मा बिहे) साम्राज्ञी घोषित भइन् । सम्राट बनेको समयसम्ममा योङले चार छोरा र एक छोरीको बाबु बनिसकेका थिए ।
सन् १४२१ मा त्यसबेलाको राजधानी नानकिङस्थित दरबारमा भारदारी सभा हुँदै थियो । लिङ वेन नामक एकजना भारदारको पनि सहभागिता थियो । कट्टर राष्ट्रवादी र सम्राट योङलेका आलोचक । बहसकै क्रममा उनले सम्राटलाई ‘गद्दार’ भन्दिए । सम्राट योङले क्रोधित बनी उनलाई मृत्युदण्ड दिने घोषणा गरे । मध्यबजारको चौबाटोमा तरबारले टाउको छिनाउनुअघि दर्जनौं अन्य भारदारले सम्राटसमक्ष माफी माग्न लिङ वेनलाई आग्रह गरे । तर, प्रत्युत्तरमा उनले भने, ‘माफी माग्दिन“ । बरु मरेपछि पनि गद्दार भन्न छाड्दिनँ ।’
सम्राटको आज्ञाअनुसार मध्यबजारको चौबाटोमा लिङ वेनको गर्धन छिनालियो । टाउको छुट्टिसकेपछि काटिएको शरीरको स्थानबाट रगत सडकमा बग्दा चिनियाँ भाषाको एउटा अक्षर बन्यो, जसको अर्थ थियो ‘गद्दार’ । लिङ वेनले भनेजस्तो मरेपछि पनि उनले ‘गद्दार’ भन्न नछाडेको देखेर सम्राट भयभित बने । हतासमा उनले देशको राजधानी पेइचिङ (बेइजिङ) सार्न आदेश दिए । तर २० वर्षसम्म आदेश कार्यान्वयन भएन । नानकिङ राजधानीकै रुपमा रह्यो । र, सन् १४४१ मा बल्ल बेइजिङ स¥यो । जन्मको नाउँ झु ती भएका योङलेको निधन ८४ वर्षको उमेरमा सन् १४२४ मा भइसकेको थियो ।
टिप्पणीहरू