श्रीमानको दिलखुश भए सर्लक्क

गुण्डाको इन्काउण्टर, धरपकड र कारवाहीका समाचारहरू भदौ १ पछि बिरलै सुन्न पाइने भएको छ । पछिल्लोपटक प्रहरीले जेठ २८ गते ललितपुरलाई केन्द्रबिन्दु बनाएर आपराधिक गतिविधिमा संलग्न गुण्डा नाइके अशोक लामालाई नियन्त्रणमा लियो । युएन पार्कमा दोहोरो भिडन्तपछि प्रहरीले उनलाई समातेको थियो । एक महिनाअघि जिप्रका मकवानपुरको चार्ज बुझ्न पुग्दा पत्रकार सम्मेलन गरेरै एसपी लोकेन्द्र श्रेष्ठले आफू गुण्डाहरुलाई इन्काउन्टर गर्न तयार रहेको बताए पनि एक महिनामै त्यहाँबाट काठमाडौं तानिए । इन्काउन्टर गर्न नसकेर होइन, सोही नाममा असुली धन्दा नै चलाएपछि आइजिपी सर्वेन्द्र खनालले झिकेका हुन् । तर, अब अनुसन्धान वा सोधपुछका नाममा व्यक्तिलाई नियन्त्रणमा लिने, हिरासतमा राख्ने, अदालत वा प्रशासनको अनुमतिमा म्याद थप्नेजस्ता कुरामा समस्या आउने भएको छ । कानुन मन्त्रालयबाट स्वीकृत भई भदौ १ मा जारी हुने अपराध अनुसन्धान आचारसंहिताले प्रहरीलाई कस्न लागेको हो ।

आचारसंहितामा कुनै पनि घटनाको अनुसन्धानक्रममा कसैले कमजोरी गरेमा घटनाको संवेदनशीलता हेरी थोरैमा सचेत र धेरैमा ३ वर्षसम्म कैद हुने व्यवस्था छ । अहिलेजस्तो प्रहरी कार्यालयमा मौखिक वा लिखित जाहेरी परेको नाममा कोही व्यक्ति पक्राउ पर्ने र म्याद थपका लागि अदालत वा प्रशासनमा पेश हुने क्रम पनि भदौबाट रोकिने छ । आचारसंहिताको व्यवस्थाअनुसार अब कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुअघि प्रहरीले अनिवार्य अदालतको अनुमति लिनुपर्ने छ । त्यसरी व्यक्ति पक्राउ गर्नका निम्ति प्रहरीले पहिला जिल्ला सरकारी वकिलको कार्यालयमार्फत सम्बन्धित अदालतमा जाहेरी दर्ता गर्नुपर्ने छ । त्यसपछि अदालतले जाहेरी अध्ययन गर्छ । यदि न्यायाधीशले व्यक्ति पक्राउ गर्नु वाञ्छनीय ठहर गरेमा प्रहरीलाई अनुमति दिन्छ । अहिलेसम्मको व्यवस्थाअनुसार विभिन्न अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले चाहेको बेला नियन्त्रणमा लिने, अनुसन्धान अवधिको माग गर्दै अदालत वा जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने र तोकिएको अवधिमा अनुसन्धान पूरा गरी त्यही निकायमा पेश गर्ने प्रचलन थियो । तर, अब पक्राउपूर्व नै अदालतको अनुमति लिनुपर्ने व्यवस्थाले कतिपय गम्भीर अपराधका कसुरदार उम्किने वा अदालतलाई पहिल्यै प्रभावमा पारी अनुसन्धान गर्न नदिने जस्ता घटना बढ्ने खतरा छ । अर्कातिर, कतिपय घटनामा प्रहरीले आशंकाकै भरमा व्यक्तिलाई अभियुक्त करार गर्ने, सोधपुछका नाममा थुनामा राख्नेजस्ता क्रम अन्त्य हुने सम्भावना छ ।

गत साता महान्यायाधिवक्ताको अध्यक्षतामा बसेको एक बैठकमा आइजी सर्वेन्द्र खनालले त्यस्तो आचारसंहिता जारी भएमा प्रहरीको मनोबल खस्किने र आपराधिक घटना नियन्त्रणमा समस्या हुने भन्दै पूर्वअनुमति लिने व्यवस्थामाथि संशोधनको पहल गरिदिन अनुरोध गरेका थिए ।

उता, प्रहरीले जेठ २८ गते ललितपुरको युएन पार्कमा दोहोरो भिडन्तपछि नियन्त्रणमा लिएका गुण्डा नाइके अशोक लामा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंहलाई ०६९ चैत ९ गते खुकुरी प्रहार गर्ने व्यक्ति भएको खुलेको छ । पोहोर होटल ¥याडिसनको हेल्थ क्लबबाट १४ लाखको रोलेक्स घडी हराई चर्चामा आएका उनै प्रवलको व्यापारिक कामका सिलसिलामा ०६९ सालमा गुण्डा नाइके दावा लामासँग विवाद भएको थियो । दावा पहिला विभिन्न क्यासिनोमा प्रवेश गरी घण्टे व्याजमा पैसा दिने र असुल्नका लागि हतियारधारी समूहसहित परिचालित हुने गर्दथे । प्रवल र दावाको चिनजान त्यही क्रममा भएको हो । प्रवल व्यवसाय गर्थे र दावा गुण्डागर्दी । आर्थिक विवादकै क्रममा दावाको निर्देशनमा आफू र विष्णु लामाले प्रवलमाथि खुकुरी प्रहार गरेको बयान अशोकले प्रहरीलाई दिएका छन् ।  

त्यसबाहेक ०५७ सालमा नयाँ बसपार्कमा राजाराम हाछेथुले सञ्चालन गरेको बसको टिकट काउन्टरमा खुकुरी प्रहार गरेको आरोप पनि अशोक लामामाथि छ । त्यसबेला वडा प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । तर, धरौटीमा छुटे । यिनैले ०६५ वैशाख २४ गते रुद्रप्रसाद अधिकारीलाई खुकुरीले हानेको अर्को अभियोग छ । ०७१ असारमा दावासँग मिलेर ललितपुरका व्यापारी राजन श्रेष्ठलाई खुकुरीले हानेका उनी फरर अभियुक्तको सूचीमा थिए । यिनै व्यक्ति ०६६ भदौमा ललितपुरका सई राजन भट्टको हत्यामा संलग्न रहेको प्रहरीको दावी छ । उनको घर ललितपुर, गिम्दी– ८ मा हो । ललितपुरका बालुवा र गिट्टी प्रशोधन केन्द्रबाट हप्ता असुलीमा संलग्नता रहँदै आएको थियो । यिनैलाई कारवाही गर्न खोज्दा पोहोर चापागाउँ प्रहरी बृत्तका डिएसपी आभूषण तिम्सिना (हाल एसपी) तत्कालीन अर्थ राज्यमन्त्री उदयसमशेर राणाको निर्देशनमा हटाइएका थिए ।

टिप्पणीहरू