डोटीमा सर्लक्कै टीम रावल, अन्यत्र संस्थापनलाई धक्का

डोटीमा सर्लक्कै टीम रावल, अन्यत्र संस्थापनलाई धक्का

डोटीमा एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावल पक्षले सर्लक्कै जित हात पारेको छ । रावलले एमाले छाड्दा उनीहरुले पनि एमाले छाड्ने जोड घटाउ गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरहरुले एक वर्षदेखि विभिन्न बहानामा अधिवेशन रोक्दै आएका थिए ।

अधिवेशनका लागि जिल्लाभर प्रतिनिधि छानिपछि आयोजक कमिटीमा रहेकाहरुको कानुनी हैसियत उठाउँदै मुद्दा दायर भएपछि अधिवेशन लम्बिएको हो । आयोजक कमिटीमा रहेका १२७ जना बाहिरिएपछि आफूहरुको समूहको जित निश्चित रहेको आकलन गर्दै अधिवेशन लम्बाइएको थियो ।

नयाँ तरिकाले प्रतिनिधि छानिँदा पनि संस्थापन पक्षको पराजय भएको डोटी अध्यक्षमा आयोजक कमिटीका अध्यक्ष मञ्जु मलासी विजयी भएकी छन् । उनी डा. रावल ओलीविरुद्ध चितवनमा अध्यक्षमा प्रतिस्पर्धा गर्दा रावल समूहबाट केन्द्रीय सदस्य उठेकी थिइन् । २०७४ को स्थानीय चुनावमा दिपायलसिलगढी नगरपालिकाकी मेयरमा पनि उठेकी हुन् ।

मलासीले २१५ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी शेरबहादुर मल्लले १७१ मत ल्याएका छन् । उपाध्यक्ष, सचिव, दुई उपसचिव पनि मलासीकै समूहले जितेको छ । अध्यक्ष ओलीको खास कमरेड भन्दै हिँडेका लक्ष्मण मलासीले उपाध्यक्षमा ९७ मत मात्रै पाएका छन् । 

डोटीको अधिवेशनलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ललाई प्रदेशमन्त्री बन्नबाट रोकिएको थियो । अधिवेशनमा एमाले महासचिव शंकर पोख्रेलको उपस्थिति थियो । 

एमाले संस्थापन पक्ष डोटीसँगै बझाङमा समेत पराजित भएको छ । त्यहाँ महासचिव पोख्रेलका बढी आलोचक मानिने केन्द्रीय सदस्य ऐन महर पक्षधरहरुको विजयी भएको छ । बझाङमा दिलबहादुर भण्डारी नेतृत्वको टीमले एकलौटी जित हात पारेको बताइन्छ । 

बझाङमा महासचिव पोख्रेलको टीम हारेपछि अनेरास्ववियू कि नेता रक्षा वमले बझाङका एमाले कार्यकर्ताले बुद्धिमतापूर्ण  निर्णय भन्दै स्टाटस कहिले आउँछ ? भनेर व्यंग्य गरेकी छन् । महासचिव पोख्रेलले कैलालीमा गत वर्ष आफ्ना पक्षधरहरुको जितपछि एमाले कार्यकर्ताले बुद्धिमतापूर्ण  निर्णय भनेर स्टाटस लेखेपछि वमको उक्त व्यंग्य आएको हो । 
बझाङ जिल्ला कमिटीको नयाँ टीम महासचिव पोखरेल विरोधी स्थायी समिति सदस्य कर्ण थापा निकट छ । उक्त समूह पूर्व उपाध्यक्ष डा. रावलसँग पनि खासै टाढाको दूरीमा नहुने अनुमान गरिएको छ । 

बझाङमा गत वर्ष अधिवेशनका लागि गएका महासचिव पोखरेल हिमपातका कारण धनगढीबाटै फर्किएका थिए । त्यसपछि प्रदेश सभाको उपचुनावका कारण अधिवेशन पर सरेको थियो । 

यता अछाममा भने अझै अधिवेशनको सुरसार देखिँदैन । डोटी र बझाङमा समयमै अघिवेशन नहुँदा तत्कालीन कमिटीलाई संगठन कमिटीमा परिवर्तन गरेर पूर्ण कमिटी नै मानिएको छ । अहिलेका कमिटी अध्यक्ष अध्यक्ष ओली निकट भएकाले सो व्यवस्था गरिएको स्थानीयको बुझाइ छ । अछाम डा. रावलको गृहजिल्ला रहेकाले उनको प्रभाव धेरै पर्ने हिसाब निकालेपछि अधिवेशन लम्बाइएको सहजै अनुमान गर्न सकिन्छ । 

-हरि बोहरा

टिप्पणीहरू