संसदका कर्मचारीलाई गराइयो सचेत
संघीय संसद सचिवालयको काम कारवाहीलाई लिएर त्यहाँका कमर्चारीले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्न नपाउने भएका छन् ।
आज सार्वजनिक सूचना निकालेर सचिवालयले पदीय आचरण र अनुशासनविपरित सञ्जालमा नलेख्न कर्मचारीलाई सतर्क गराएको हो । पछिल्लो समय केही कर्मचारीले कार्यालयको कामकारबाही सम्बन्धमा सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने गरेकाले यस्तो निर्णय गर्नुपरेको सूचनामा उल्लेख छ ।
त्यस्तै, जानकारीबिना कार्यालयमा अनुपस्थित हुने, पूरा समय नबस्ने, तोकिएको पोसाक नलगाउने, अनुशासन र आज्ञापालना नगर्नेजस्ता प्रवृत्ति बढेको भन्दै संसद सचिवालयले चिन्ता व्यक्त गरेको छ ।
‘सचिवालयमा कार्यरत केही कर्मचारीहरु जानकारीबिना कार्यालयमा अनुपस्थित हुने, हाजिर गरेर कार्यालयमा पुरा समय नबस्ने, तोकिएको पोसाक नलगाउने, अनुशासन र आज्ञापालना नगर्ने, कार्यालयको कामकारबाहीको सम्बन्धमा सम्बन्धित शाखा तथा पदाधिकारीसमक्ष गुनासो नराखी सामाजिक सञ्जाल लगायतका अनौपचारिक फोरमहरुमा अनावश्यक टिकाटिप्पणी र अमर्यादित रुपले प्रस्तुत हुँदा सचिवालयको कामकारबाहीमा नकारात्मक सन्देश प्रवाह हुन गएको छ’, सूचनामा उल्लेख छ ।
कर्मचारीले पदीय अनुकूलको आचरण पालना नगरेको पाइएमा कानूनबमोजिम कारबाही गर्ने सचिवालयको चेतावनी छ ।
टिप्पणीहरू