धनगढीमा मनोमानी, उजुर गर्नेलाई सिध्याइदिने !
शेरबहादुर ऐर
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का विवेक दुगडले गत साउन ७ गते धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई उजुरी दायर गरे । उक्त मुद्दामा अदालतबाट उनको पक्षमा उत्प्रेषण आदेश जारी भयो ।
सोही आदेशको अवज्ञा गर्दै धनगढी उपमहानगरपालिकाले केही महिनाअघि उनले व्यवसाय सञ्चालन गर्दै आएका संरचनामा डोजर चलायो । पर्खालसहित कर्मचारी बस्दै आएको निवासमा उपमहानगरपालिकाको डोजर कुदाइएको थियो ।
दुगडका शाखा म्यानेजर विनोद कुमार झाले भने, ‘धनगढीले पत्र काट्दा जवाफ फर्काइयो । त्यसपछि पनि उपमहानगरपालिकाले नमानेपछि जिल्ला अदालत कैलालीमा उजुरी दायर गरेका हौं ।’
कैलाली जिल्ला अदालतले साउन १७ गते ‘अन्तिम फैसला नभएसम्मका लागि कित्ता नम्बर २५ र २९ को जग्गामा निर्मित संरचनाहरु धनगढी छ लेन सडकको तोकिएको मापदण्डभित्र पर्दछ वा पर्दैन भन्न सम्बन्धमा आधिकारिक निकायबाट यकिन गरी गराई मुद्दाको अन्तिम टुंगो नलागेसम्म जग्गाभित्र निर्मित संरचना नहटाउन तथा नभत्काउन’ भनी आदेश जारी गरेको थियो ।
दुगडले अदालतको आदेश देखाउँदासमेत धनगढीका नगर प्रहरीले नगर प्रमुखको आदेशभन्दै उनका संरचनामा डोजर लगाएको उनको भनाई छ । तर, सोही क्षेत्रका अन्य संरचनामा उपमहानगरपालिकाले कुनै संरचना भत्काएन । सडक संरचनाभित्र परेको भन्दै हाम्रा संरचना भत्काइयो तर, अन्यको कुनै संरचनामा डोजर नचल्दा अदालतमा मुद्दा दायर गरेको कारण उपमहानगरपालिकाले आफ्ना संरचना भत्काएको हुनसक्ने उनको भनाई छ । सो मुद्दा हालसम्म कैलाली जिल्ला अदालतमा विचाराधीन छ ।
धनगढी उपमहानगरपालिकाका इञ्जिनियर द्विजराज भट्टले छ लेन सडकभित्र सेड व्याक निकाल्न सो कम्पनिको संरचना भत्काइएको बताए । २०८० मंसिर १६ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित अमित डिष्ट्रिब्यूटर्स रहेको निजी घरमा नगर प्रहरीको सहायतामा डोजर चलाइयो । सञ्चालक दुश्यान्त बस्नेत काठमाडौंमा रहँदा अदालतको आदेश नमान्दै उपमहानगरपालिकाले डोजर चलाएको थियो । ‘म काठमाडौंमा छु । पहिले पनि उपमहानगरपालिकाले मेरो घरमा डोजर चलाउने तयारी गरेको थियो । मैले उच्च अदालतमा मुद्दा दर्ता गराएको थिएँ’ घरधनी दुस्यान्तले भने, ‘साउनमा अदालतले मेरो पक्षमा फैसला गरेको थियो ।’ उच्च अदालत दीपयालद्वारा जारी फैसलामा भनिएको थियो, ‘यथास्थितिमा घरमा कुनै पनि क्षति नपुर्याउनू ।’
तरं, उपमहानगरपालिकाले सडक चौँडा पार्ने भन्दै सो घरमा डोजर लगाएको थियो । उनले भनेका थिए ‘अदालतमा हालेको मुद्दाका कारण अस्पताल सञ्चालनको अनुमति दिन पनि आनाकानी गरिएको थियो ।’ सोही समयमा दुस्यान्तले मुद्दा फिर्ता लिएपछि मापदण्ड नपुग्दै अस्पताल सञ्चालन अनुमति दिएको थियो ।
धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा सम्झौता विपरीत कुनै पनि कार्य नगर्न÷नगराउन अदालतको आदेश विपरीत धनगढी उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको थियो । जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको थियो, ‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबीच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरीतको कुनै पनि कार्य नगर्नू÷नगराउनू भनी मुलुकी देवानीसहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनू ।’ तर, उपमहानगरले सो आदेश विपरित संरचना भत्काएको थियो ।
उपमहानगरपालिकाले उक्त हाटबजारको डिपिआर तयार गरेर नयाँ संरचना बनाउन भत्काएको भनिए पनि सोही वडाको शहिदगेटमा सञ्चालनमा आएको चौलानी डिपार्टमेण्टको हाटबजारको कारोबार बढाउन तत्कालीन जिल्ला समन्वय समितिको योजना बनेको संरचनामा डोजर चलाइएको थियो । उक्त योजनाको ठेक्का सम्झौता गरेका ओमप्रकाश पाठकले अदालतमा उजुरी दिएकै कारण सो संरचना अल्पत्र पारिएको छ ।
केही महिनाअघि ठाकुर एग्रो एण्ड इण्डट्रिज प्रा.लि.का संरचना नालाभित्र परेको भन्दै उपमहानगरपालिकाले डोजर चलाएको थियो । तर, सोही नालामा परेका अन्य संरचना हटाएन । ठाकुर यस उपमहानगरपालिकाकै ठूलो करदाता र बढी रोजगार श्रृजना गर्ने व्यक्ति हुन् । नगर प्रमुखको काममा असहयोग गरेको भन्दै ठाकुरका संरचनामा डोजर चलाइएको थियो । उनी भन्छन्, ‘नगर प्रमुखले पटक–पटक संरचना भत्काउने भन्दै धम्की दिँदै आएका थिए । तर, अचानक संरचना भत्काउने काम ग¥यो । तर, सोही नालामा पर्ने अन्य संरचना भत्काउन अहिलेसम्म सुरसार गरेको छैन ।’
धनगढीविरुद्ध अवेहलना मुद्दा दायर
अदालतको आदेशविपरित आफनो संरचनामा धनगढीले डोजर चलाएपछि बुधबार विवेक दुगडले कैलाली जिल्ला अदालतमा अवहेलना मुद्दा दायर गरेका छन् । धनगढी उपमहानगरपालिकाको कार्यालय र नगर प्रमुख गोपाल हमाललाई विपक्षी बनाई उनले अवहेलना मुद्दा दायर गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले छ लेन सडकभित्र सेडब्याक बनाउन के कति संरचना भत्काउने भन्नेबारे अध्ययन भइरहेको बताए । तर, दुगडको संरचना नक्सा पास नभएका कारण भत्काइएको उनको दाबी छ ।
सेडव्याक र खोला अतिक्रमणका नाममा निशानामा ठूला व्यवसायी
छ लेन सडकमा संरचना परेको भन्दै दुगड र खोला अतिक्रमण गरि बनाइएको भन्दै ठाकुर एग्रोमा डोजर चलाइयो । तर, अन्य व्यापारी तथा व्यक्तिका संरचनामा कुनै क्षति पुर्याइएन । ठाकुर र दुगड कैलालीका ठूला करदाताका रुपमा परिचित छन् ।
नगर प्रमुख हमालले आफनाविरुद्ध आवाज उठाउने व्यापारी तथा व्यक्तिहरुलाई सडकमा सेडब्याक र खोला अतिक्रमण गरेको भन्दै भत्काउने धम्की दिँदा स्थानीय व्यापारी त्रासमा देखिन्छन् ।
नगर प्रमुखद्वारा आफ्नो संरचना सुरक्षित
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा नगर प्रमुख हमालको साततले व्यापारिक भवन निर्माणाधीन अवस्थामा छ । मोहनापुल–अत्तरिया छ लेन सडक किनारमै बनिरहेको आफ्नो संरचनामा कुनै असर गरेका छैनन् ।
दुगड र उनको निर्माणाधीन भवन सेडब्याकका आधारमा एकै प्रवृत्तिको हो । तर, उनले आफनो संरचनामा भत्काउन आलटाल गरेका छन् । इन्जिनियर द्विजराज भट्टले भने, ‘नगर प्रमुख हमालले पाँच तलासम्मको धनगढी उपमहानगरपालिकाबाट नक्सा पास गराएका छन् । थप दुइ तलाबारे जानकारी छैन ।’
नगर प्रमुखले आफनो निर्माणाधीन भवनमात्र नभई आफैंले पार्टनरशिपमा संचालनमा ल्याएको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको बाल्मिकी इन्टरनेश्नल स्कुलको संरचना पनि जोगाएका छन् । शहिदगेट–क्याम्पसरोड सडकमा पर्ने सो विद्यालयको नालापछि उपमहानगरपालिकाले वृक्षारोपण गरेको छ । तर, सोही सडकमा रहेका अन्य संरचनामा सेडब्याक राख्ने भन्दै वृक्षारोपण गरिएको छैन । सडकको मापदण्डभित्र पर्ने नेपाल राष्ट्र बैंक र सोही विद्यालयमा मात्र वृक्षारोपण गरिँदा धनगढीबासी धनगढी नीतिमै अन्यौलता भइरहेको बताउँछन् ।
टिप्पणीहरू