ओलीले यस्तरी पीर पोख्नुको अन्तर्य
मंसिर १७ गते चीन गएका प्रधानमन्त्री केपी ओलीले चार दिने भ्रमण सकेर २० गते फर्किंदा अब चाँडै भारत पनि जाने बताएका थिए । असार ३० गते प्रधानमन्त्री भएपछि परराष्ट्रमन्त्री डा. आरजु देउवालाई नयाँदिल्ली पठाए । भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो बुझाए । तर, भारतले भने अझै पनि बोलाउने छेकछन्द छैन । बरु, उल्टै पूर्वजासुसका नाममा भाजपानिकट सञ्चारमाध्यममार्फत नेपालको सरकार ढल्ने अभिव्यक्ति दिन लगाइएको छ । चीनबाट आउँदा भारत पनि जाने भनेर दिएको अभिव्यक्तियताका तीन हप्तामा दक्षिण यात्राबारे कुनै प्रगति भएको छैन ।
माथिका यी प्रसंग झट्ट सुन्दा संयोगजस्ता लाग्न सक्छन् तर यिनै कुरालाई पुष्टि गर्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले च्यासलमा संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालामा अघिल्लो आइतबार लामो भाषण दिए । जनप्रतिनिधि र जिल्लाका पदाधिकारीसहित तीन सय सहभागी कार्यशालामा ओलीले चिनियाँ शासक र त्यहाँको विकास यात्राको प्रशंसा गर्दै आफ्नो पनि सक्दो बचाऊ गरे । असार १७ गते चौथो कार्यकाललाई प्रधानमन्त्री पद सम्हाल्ने गरी कांग्रेससँग सम्झौता सकाएका ओलीले नयाँ आर्थिक वर्षको ५ महिनामा विकास खर्च १२ प्रतिशत पनि पु¥याउन सकेका छैनन् । चालु खर्च ३१ प्रतिशत आसपास छ । तर, उनैले च्यासलमा देश बनाउन कम्युनिष्ट पार्टी चाहिने तर्क गरेका छन् । चीनले ठूलो प्रगति गरेको बताएका उनले उत्तरी छिमेकी महाशक्तिको बाटोमा रहेको पनि कार्यकर्तालाई सुनाएका छन् ।
राजनीतिक स्थिरता र स्थायित्व सुन्दर ढंगले अघि बढेको बताएका उनले जनताको चित्त बुझाएर कम्युनिष्ट पार्टीले चीनलाई अघि बढाएको सुनाए । गत वर्षको मेची–महाकाली मध्यपहाडी यात्रासम्म एमालेभित्र ओलीका प्रशंसक मात्रै थिए । तर असार १७ गते एक व्यवसायीको घरमा कांग्रेससँग ७ बुँदे सहमति गरेयता प्रशंसक घट्दा छन्, फेसबुकतिर फलोअर ओरालो लागेजस्तै पार्टीमा पनि उनको नेतृत्व क्षमताबारे प्रश्न उठ्न थालेको छ ।
असार ३० गते प्रधानमन्त्री बनेयता सरकारलाई गति दिन नसकेपछि जनआलोचनामा परिरहेका ओलीतिर पार्टीभित्र पनि विस्तारै चोर औंला ठडिन थालेका छन् । नेताहरूमा असन्तुष्टि तीव्र छ तर सबै बोल्न सक्दैनन् । बोलिहाले भीम, विन्दा र उषाकिरणको जस्तो स्पष्टीकरणको कागज थमाइन्छ । पार्टीमा आफ्नो चाहनाविपरीत हावा चल्न थालेको बुझेरै ओलीले कार्यशालामा त्यो कुरा मुखर गरेको बुझ्न सकिन्छ । चीनमा त्यहाँको सत्तारूढ पार्टीका ९ करोड सदस्य कसैले पनि नेतृत्वमाथि प्रश्न नउठाउने सुनाएका ओलीले एमालेमा भने जथाभावी बोल्ने गरिएको दुखेसो पोखेका छन् । ‘चीनमा पार्टीको पक्षमा बोल्ने प्रवृत्ति छ । विरोधीका आक्रमण र हमलालाई कसरी पराजित गर्ने, त्यो तरिका अवलम्बन गरिन्छ । अनुशासित र एकताबद्ध भएर चल्ने गरिएको छ’, उनले आइतबार भने, ‘सिपिसीमा हाम्रो देशको जनसंख्याभन्दा तीन गुणा बढी पार्टी सदस्य छन् । त्यत्रो पार्टी सदस्य छन् तर एक जनाको ओपिनियन (विचार) फरक आउँदैन । नेतृत्ववरिपरि सबै गोलबद्ध छन् ।’
अर्थात्, उनी एमालेका नेता–कार्यकर्तालाई पनि आफूमातहत गोलबद्ध हुन भनिरहेका छन् । ओलीको पहिलो र दोस्रो कार्यकालमा एमाले कार्यकर्ता सरकारको बचाउमा विरोधीमाथि अरिंगाल जसरी खनिन्थे । तर अहिले आफ्नै सरकारको बचाउमा कार्यकर्तालाई रुचि छैन । बचाउमा उत्रिने नेता–कार्यकर्ताबीच विपरीत हावा चल्न थालेपछि ओलीले जे लाग्यो त्यही सही भनेर हिँडे पार्टी एकतालाई ध्वस्त बनाउने पनि बताए । ओलीलाई आफूविरुद्ध केही न केही पाकिरहेको भनक लागेरै होला च्यासलको कार्यशालामा एमालेमा कुनै गुट नरहेको भन्न भ्याए । उनको यो भनाइ महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललक्ष्यित थियो । यी दुई नेताबीच लुम्बिनीदेखि केन्द्रसम्म शक्तिसंघर्ष चलिरहँदा ओलीले एमालेमा कुनै गुट नभएको जवाफ दिनुपरेको छ । एमालेमा खासगरी पोखरेल र पौडेल गुट सक्रिय रहेको ओपन–सिक्रेट छ । ‘कतिपयले विष्णु पौडेलको गुट छ, शंकर पोखरेलको गुट छ भन्छन् तर एमालेमा कसैको गुट छैन । मैले गुटबन्दी गर्ने कुरै भएन । सबैले सघाएकै छन्,’ ओलीले च्यासलमा भने, ‘मेरालागि सबै बराबर हुन् । बाहिर कसले के भन्छन्, कसका नाममा गुट बनाइन्छन् थाहा भएन । तर एमालेमा पार्टी पुनर्गठनपछि गुट छैन ।’
पार्टीतिरको तनाव भुसको आगो बनिरहँदा सरकार कति टिक्छ भन्ने विश्वास पनि ओलीले दिन सकेका छैनन् । सरकारले परिणाममुखी काम गर्न नसक्दा जनतामा भरोशा जागिसकेको छैन । निजी क्षेत्र पनि ढुक्कले अघि बढ्न सकेको देखिन्न । यसबीचमा दिनदिनै मन्त्रीहरूले सरकार ०८४ सम्मै जाने, नढल्ने भन्दै भाषण गरिरहँदा कर्मचारीतन्त्रले पनि शंका गर्न थालेको छ । दुईतिहाइको जग यति चाँडै नहल्लिन सक्छ तर सरकारको कछुवा गतिले नागरिकमा देखिएको फ्रस्ट्रेसन भने उचाइतिर जाँदो छ ।
सरकारले गति नलिँदा पार्टीमा समस्या
ओलीको पहिलो र दोस्रो कार्यकालमा जसरी एमाले कार्यकर्ता सरकारको बचाउमा उत्रिन्थे, अहिले त्यसको ठीक विपरीत अवस्था छ । गत असोज १०–१२ बीच काठमाडौं उपत्यकासहितमा बाढीले पुर्याएको ठूलो क्षतिपछिको उद्धार र राहतमा सरकारको विफलता पनि आक्रोशको कारण बनेको छ । अर्थतन्त्र उकास्ने भन्दै सत्ताको गठजोड मिलाएका कांग्रेस–एमालेले न अहिलेसम्म परिणाममुखी कामै देखाउन सकेका छन् । चीनसँग मंसिर १९ मा भएको बिआरआई फ्रेमवर्क सम्झौता यसको अपवाद बन्न सक्छ ।
राष्ट्रसंघबाट फर्किँदा असोज १४ गते त्रिभुवन विमानस्थलमा बाढीपहिरोको कुरा पूर्वानुमान गर्न नसकिने भन्दै ओलीले दिएको रुखो जवाफपछि लोकप्रियताको सुई दिनदिनै ओरालो लाग्दो छ । ५ लाख बढी सक्रिय सदस्य भएको भनिएको एमालेपंक्ति यसपटक सरकारको बचाउमा नउत्रिएको देखेरै होला एमाले महासचिव शंकर पोखरेलले च्यासलको कार्यशालामा अघिल्लो शनिबार पार्टी जीवनमा समस्या देखिएको कुरा पहिलोपल्ट उल्लेख गरे । मंसिर १६ को चुनावी परिणामपछि उनै पोखरेलले यसबाट पार्टीलाई कुनै फरक नपर्ने बताएका थिए । तर एमाले केन्द्रीय संगठन विभागको कार्यशाला उद्घाटन गर्दै उनैले पार्टीको नीति तलसम्म पुर्याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्न नसकिएको स्वीकारेका छन् ।
नेपालमा दुई दलको वकालत गर्दै आएका पोख्रेलले एमालेलाई राष्ट्रिय शक्ति बनाउन मुश्किल भएको मात्रै बताएनन्, स्थानीय तह उपनिर्वाचन परिणाम उत्साहित हुनुपर्ने नभएको पनि स्वीकारे । उनले मिसन–२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट नभएको जिकिर गरे । पोखरेलले पार्टी कमिटीले युवा र महिलाको क्षेत्रमा विशेष महत्वसाथ काम नगरेको समेत बताए । एमालेको बीऊका रूपमा रहेको युवा समूह राष्ट्रिय स्वतन्त्र पार्टीतिर लागिरहेको बुझेरै यो अभिव्यक्ति दिएको बुझ्न मुश्किल पर्दैन ।
कांग्रेससँगको सहमति टिके अबको करिब १७ महिना एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहन्छन् । तर अहिले नै सरकारको बचाऊमा कार्यकर्ता नबोलेको गुनासो नेतृत्वले गरिरहेको छ । महासचिव पोखरेलले पार्टी र नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा पार्टीपंक्ति खरो रूपमा उत्रनुपर्नेमा त्यसो हुन नसकेको पनि बताएका छन् । तर उनले आफ्नै अध्यक्षको नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको कुरा भन्न सकेनन् । सरकारको असफलताकै कारण एमाले पंक्तिमाथि आक्रमण गरेको कुरा स्वीकार्न अहिले ओली र पोखरेलहरूलाई मुश्किल परेको देखिन्छ ।
टिप्पणीहरू