हरेक सनकको निश्चित सीमा हुन्छ

हरेक सनकको निश्चित सीमा हुन्छ

शाका कासेन्जंगाखोना जुलु आदिवासी हुन्, जसले दक्षिण अफ्रिकामा जुलु अधिराज्य खडा गरेका थिए । उनको रुप राम्रो थिएन, निख्खर कालो छाला, मोटो नाक अनि अगाडिको दुइटा दाँत निस्केको । तर, ७ फुट अग्ला थिए अनि अत्यन्त बलशाली । जीवनमा कहिल्यै महिलाप्रति आकर्षित भएनन् न त बिहे नै गरे तर दक्षिण अफ्रिकामा शासन गर्न आइपुगेका गोरा ब्रिटिश महिलाजन उनीप्रति मरिमेट्थे । उनीसँग शारीरिक सम्बन्ध राख्ने सपना देख्थे । 

जुलु न्गुनी भाषा बोल्ने जातिसमूह हो । यिनीहरू दक्षिण अफ्रिकाबाहेक, जिम्बाबे, स्वाजिलैण्ड, लेसोथो, मालावी, मोजाम्बिक र बोत्स्वानामा पनि छन् तर सबैभन्दा बढी दक्षिण अफ्रिकामा डेढ करोडको हाराहारीमा बस्छन्, जबकि त्यहाँको कूल जनसंख्या ६ करोड हो । जुलु संस्कृतिले धनी आदिवासी हो । अगस्त अन्त्यदेखि सेप्टेम्बर पहिलो सातासम्म मनाइने पर्व उम्हलांगाका कारण यिनीहरू विश्वप्रसिद्ध बन्न पुगेका छन् । ८ दिनसम्म चल्ने पर्वमा नाचिने नाचले बर्सेनि विश्वजनमतको ध्यान खिचेकै हुन्छ । यो नाचमा सहभागी हुन सबैतिर छरिएर बसेका जुलु परिवारका अविवाहित र सन्तानहीन महिला एकत्रित हुन्छन् । कम्मरभन्दा माथि वस्त्र नलगाएका यिनीहरू रातदिन नाच्छन् । नाच हेर्न पुगेका र मन परेका युवतीलाई छानेर लान पाइन्छ । शारीरिक सम्बन्धबाट यदि कुनै युवतीले गर्भ बोक्छिन् तर गर्भ बोकाउने केटोले बिहे गर्न चाहेनन् भने जुलु समुदायले जरिवानास्वरुप केटीको परिवारलाई एउटा गाई दिन लगाएर मामिलालाई रफादफा गर्न लगाउँछ ।

उम्हलांगा मुख्यतः दक्षिण अफ्रिका र स्वाजिलैण्डमा प्रख्यात छ । स्वाजिलैण्डका राजा म्स्वाती (तृतीय) ले आजसम्म सोही पर्वमा नाच्न आउनेमध्येबाट रानी छान्ने गरेका छन् । उनले यसरी नै १६ वटीलाई आफ्नै बनाइसके । उनका बुबा सोभुजा (द्वितीय) ले पनि यसैगरी ७० वटीलाई रानी बनाएका थिए । पर्वमा नाच्न पुग्नेमा भर्खर नछुने भएकी किशोरीको बाहुल्यता रहने गरेको छ । यिनीहरू सबैको स्तन खुला हुन्छ । सोभुजाले ८२ वर्ष २ सय ५४ दिन शासन गरेका थिए भने उनका पुत्र म्स्वाती पनि राजा बनेको ३८ वर्ष भयो ।

शाकाका बुबा सेन्जांकाखोना काजमा जुलु कबिलाका मुखिया थिए । शाका उनकी तेस्री पत्नी नन्दी काभेभे तर्फका पुत्र हुन् । नन्दी अनाथ थिइन्, आमाबुबा लडाइँमा मारिए । आमाबुबा एउटै कूलका भएकाले जुलु समाजले उनीहरूको बिहेलाई मान्यता दिएन । सेन्जांकाखोना त मुखिया नै भैगए त्यसैले उनीप्रति कसैले औंला उठाउने हिम्मत गरेन तर नन्दी हरेक दिनजसो अपमान सहन विवश बनिन् । बालक शाका पनि अपहेलित भए । एकदिन ठूलै झगडा भयो । नन्दीले रिसाएर घर छाडिन् । र, माइत लांगेनीतिर फर्किइन् । नन्दी र शाकाले त्यहाँ पनि दिनैपिच्छे अपमान सहे । यसको बाबजुद स्थानीय युवक गेन्डेयानासित उनको माया बस्यो । उनी एक छोरा न् ग्वाडी र एक छोरी नोम्कोबाको आमा बनिन् । तैपनि, शाका र नन्दी अपमानित हुन छाडेनन् । घरबाट निस्कँंदा शाकालाई स्थानीयले आमाको नाउँमा गाली गर्थे ।

नन्दीलाई पनि फोहरी शब्द बोलेर गिज्याउँथे र शरीरमै स्पर्श गर्थे । कतिपटक त लुगा च्यातेर अर्धनग्न पार्ने कामसम्म गरे । नन्दीले एकदिन आफूमाथि हुने गरेको दुव्र्यवहारको विरोध गर्दा समाजले लांगेनीबाटै धपाइदियो । आमा–छोरा घुम्दै म्थेथ्वा आदिवासीको गाउँमा पुगे । शाका २३ वर्षको हुँदा म्थेथ्वाहरूका सरदार डेंगिस्वायोले अग्लो र हृष्टपुष्ट शरीरलाई हेरेर उनलाई सेनामा लिए । यसपछिको ६ वर्ष म्थेथ्वा सैनिक सेवामै समर्पित रहे । यसबीच, सन् १८१६ मा पिताको निधनको खबर सुने । पुनः जुलु क्षेत्र पुगे । आफ्नै सेना गठन गरे त्यस क्षेत्रतर्फ बग्ने नदीमा पहरा लगाउन शुरु गरे । जुलुहरू पानी लिन त्यहीँ आइपुग्थे । शाकाले नदीतर्फ आउने हरेक ब्यक्तिलाई आफ्नो डफ्फामा सामेल हुन सम्झाउँथे, नमान्नेको घाँटी छिनाएर मृत शरीर पानीमा बगाइदिन्थे ।

विस्तारै शाकाले जुलु क्षेत्रमाथि कब्जा जमाउन नदीमाथि नियन्त्रण गरेको खबर चारैतिर फैलियो । शाकासित जुलुक्षेत्र कब्जा गर्न आवश्यक सैन्य शक्ति थिएन यसकारण २८ दिनसम्म त्यहाँ नरसंहार मच्चाएर बसे । जुलुका सरदार डराए र आत्मसमर्पण गरे । अब शाका जुलुहरूको नयाँ सरदार बने । जुलु राज्य नै खडा गरे । उनी आफ्नी आमा नन्दीलाई भगवान्सरह मान्थे, पूजा गर्थे, त्यसैले नन्दीलाई नै जुलु राज्यको रानी घोषित गरे । सरदार बनेपछि बहादुरी देखाउन थाले । त्यतिञ्जेलसम्म जुलुहरूको हतियार भाला मात्रै थियो तर आसपास क्षेत्रमा तैनाथ ब्रिटिश सेनामाथि आक्रमण गरी बन्दुक र गोली संकलन गरे । शाका आफैँ महिलाप्रति आकर्षित हुने व्यक्ति थिएनन् तर त्यस क्षेत्रमा रहेका ब्रिटिश सैनिकका पत्नीहरू उनलाई रुचाउँथे । क्याम्पका क्याप्टेनकी दुइटी पत्नी थिए, दिदीबहिनी । उनीहरू सधैं शाकाको बलिष्ठ शरीरको तारिफ गरी बस्थे । शाका भने आफ्नो क्षेत्र बढाउनमै व्यस्त थिए । आसपासको क्षेत्र कब्जा गर्ने होडमा जुलु र ब्रिटिश सेनाबीच झडप हुन थाल्यो । शाकाले ब्रिटिश कमाण्डरको समेत हत्या गरिदिए र हतियार लुटे ।

उनले कमाण्डरका पत्नीहरूलाई बेलायत फर्कन भने तर उनीहरूले उल्टै शाकालाई राति शयन कक्षमा आउन निमन्त्रणा दिए । शाका उनीहरूसित सुत्ने, असंख्य बच्चाका बाबु बन्ने र आफ्नो सन्तती बेलायतसम्म फैलाउने सोचमा पुगे । शारीरिक सम्बन्धको बदलामा हातहतियार र पैसा दिनुपर्ने शर्त अघि सारे । शाकाबाट शारीरिक भोक मेटाउँदै लोभमा दिदीबहिनी सबै शर्त मान्न तयार भए । शाकाले प्रत्येक रात उनीहरूको शारीरिक भोक मेटाउँथे र बदलामा हतियार र धन–सम्पत्ति प्राप्त गर्न थाले । पछि ब्रिटिश सेनाले दिदीबहिनीले आफ्नो मुलुकप्रति गद्दारी गरिरहेको सूचना पाएर दुबैलाई गोली हानेर मारिदिए । शाकाले सोचेजस्तो उनीहरूबाट बच्चा त जन्माउन सकेनन् तर उनीहरूबाट प्राप्त हतियार र धनले आफ्नो शक्तिलाई मजबुत पारे । ब्रिटिश सेनासित युद्धसमेत लडे । शाका शक्तिशाली बनेसँगै उनमा राक्षसीपन देखा पर्‍यो । ब्रिटिशमाथि अत्याचार शुरु गरे । अत्याचारबाट डराएर त्यस क्षेत्रमा रहेका बाँकी ब्रिटिश पनि भागे ।

त्यसपछि शाकाले जुलु राज्यको छुट्टै किला निर्माण गरे । सेनालाई सुदृढ पारे । सेनाकै बलमा युद्ध जित्दै गए । जितेका राज्यमा लुटपाट मच्चाए । केही समयपछि शाका त्यस क्षेत्रको आतंक बने । शक्तिको आडमा बहुला बनिसकेका थिए । जताततै आतंक मच्चाउन शुरु गरे । यसबीच, आमा नन्दीको मृत्युको खबर सुने । शोकमा डुब्दा डुब्दै मानसिक रोगको शिकार बने । यसक्रममा ७ हजार जुलु उनको हातबाट मारिए । खेतीपाती बन्द गराए । आफ्नो राज्यभित्रका गर्भवती महिला र उनीहरूका लोग्नेसहित दुधालु सबै गाईलाई मार्न लगाए । उनको भनाइ थियो, बाच्छाहरूले पनि मातृविहीन हुनुपर्दाको पीडा महसुस् गरुन् । भनिन्छ, उनले यसबीच, यति धेरै मारकाट मच्चाए कि त्यस क्षेत्रमा बग्ने नदीहरू महिनौँसम्म रगताम्य बनेका थिए । धेरै पछि सम्हालिए । फेरि राज्य विस्तारतर्फ लागे तर पछिल्लो समय जुलुहरूले नै साथ दिएनन् । यसको बावजुद हार मानेनन् र सानो डफ्फा लिएर अगाडि बढे । स्टान्जर पुगेपछि आराम गरे । सन् १८२८ सेप्टेम्बर २२ मा उनको हत्या भयो । हत्या उनैका सौतेनी भाइले गरेका थिए । सौतेनी भाइ उनलाई मार्न २ हजार सेनासहित पुगेका थिए । त्यतिबेला शाका जुलु ४१ वर्षका थिए ।

 

टिप्पणीहरू