ओली र देउवासामु सिके र महन्थको आपत्ति
सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले यही शुक्रबारदेखि शुरु हुने संसदको हिउँदे अधिवेशनमा एक ढिक्का भएर प्रस्तुत हुने निचोड निकालेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकोहोरो बोलेको र काँग्रेस सभापति शेरबहादुर देउवाले छेउबाट मुन्टो हल्लाएर सहमति जनाएको बैठकमा अरु दलका नेताले खासै जमेर आफ्ना कुरा राखेनन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्रीले सभापति देउवालाई सँगै राखेर आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । अबको संसद अधिवेशनमा अध्यादेशहरु प्रस्तुत हुने,त्यसलाई प्रतिस्थापन गर्ने विधेयक पनि सरकारले प्रस्तुत गर्ने सन्दर्भलाई जोड दिँदै उहाँले भन्नुभयो, ‘मैले पहिले पनि बताइसकेँ अब अध्यादेश प्रस्तुत हुन्छ । त्यसलाई प्रतिस्थापन गर्ने विधेयक पनि ल्याइन्छ । हतार हतारमा यसो गर्दा केही मिस्टेक भएको छ भने त्यसलाई त्यही ढंगले बुझौँ ।’
प्रधानमन्त्रीले सत्तारुढ दलहरुबीच कुनै असन्तुष्टि रहे बैठकमा कुरा राख्न आग्रह गर्दै बाहिर आलोचना र टिप्पणी नगर्न अनुरोध गर्नुभएको सहभागी एक जना नेताले बताए । उहाँको भनाईको निचोड थियो, ‘संसदमा एकजुट भएर अध्यादेश पास गर्नुपर्छ ।’
प्रधानमन्त्रीले एकसरो धारणा राखेपछि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दल विभाजनसम्बन्धी ऐन संशोधन र थ्रेस होल्डको प्रसङ्ग राख्दै तराई मधेसका धेरै जनामाथि लागेको मुद्दा फिर्ता लिने यसअघिको निर्णय कार्यान्वयन नभएकोमा दुःखेसो पोखेका थिए ।
ठाकुरको मर्का सुनेलगत्तै प्रधानमन्त्रीको जवाफ थियो, ‘त्यस्तो अहिले केही सोचेका छैनौं । थ्रेस होल्ड घटबढबारे छलफल भएकै छैन, हाम्रो कुनै सोच नै छैन । जबकी संविधान संशोधनको प्रक्रिया पनि छलफल गरेर मात्रै अघि बढाउँछौं,ढुक्क हुनुहोस् ।’
ठाकुरको मर्का सुनेलगत्तै प्रधानमन्त्रीको जवाफ थियो, ‘त्यस्तो अहिले केही सोचेका छैनौं । थ्रेस होल्ड घटबढबारे छलफल भएकै छैन, हाम्रो कुनै सोच नै छैन । जबकी संविधान संशोधनको प्रक्रिया पनि छलफल गरेर मात्रै अघि बढाउँछौं,ढुक्क हुनुहोस् ।’
मधेशका कतिपय मुद्दाको सम्बन्धमा अदालतले नै प्रश्न उठाएकाले यसअघिको सहमति कार्यान्वयनमा समस्या उत्पन्न भएको उहाँको जवाफ थियो । बैठकमा जनमत पार्टीका सभापति सिके राउतले विभेदको प्रसंग उठाएको स्रोतको दाबी छ । उनको भनाई थियो, ‘मिटिंग नियमित भएन,ग्याप भयो । मधेशी र पहाडियाबीच विभेद कायम छ ।’
राउतलाई जवाफ दिने क्रममा प्रधानमन्त्रीले त्यस सम्बन्धमा आफूहरुको नियत सफा रहेको बताउनुभयो । ‘नियत सफा भएकाले कहीं कतै कमजोरी भए सुधार्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
बैठकको अन्तमा प्रधानमन्त्रीले छेउमा रहेका देउवातर्फ संकेत गर्दै केही बोल्न आग्रह गर्नुभएको थियो । तर, मुन्टो हल्लाउँदै देउवाको जवाफ थियो, ‘मेरो पनि भनाई त्यही हो ।’
बैठकमा सरकारको निरन्तरतातर्फ संकेत गर्दै प्रधानमन्त्रीले पहिले सत्तापक्ष र प्रतिपक्षमा हुँदासमेत काँग्रेस र एमालेबीच संवाद हुने गरेको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँको भनाई थियो, ‘हामी र देउवाबीच पहिले सत्ता र प्रतिपक्षमा हुँदासमेत सरसल्लाह हुन्थ्यो ।’ त्यसबेला पनि देउवाले मुन्टो हल्लाएर ‘हो हो’ भनेको स्रोतको दाबी छ ।
आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारको सर्भिस डेलिभरी र चीनसँग भएको हालैको बिआरआई सम्झौताबारे कुनै उच्चारण नभएको बताइन्छ ।
टिप्पणीहरू