केपी ओली बरु घर जान तयार

केपी ओली बरु घर जान तयार
सुन्नुहोस्

कांग्रेस देखाएर माओवादीलाई दवाबमा राख्ने अनि माओवादीको काँधमा बन्दुक राखेर कांग्रेसतिर पड्काउने– तत्कालीन पाँचदलीय गठबन्धन टुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो रणनीति अपनाउनुभयो । पाँच वर्ष सत्ता चलाउने उद्घोषका साथ मिलेर चुनाव लडेका कांग्रेस र माओवादीलाई बीचैमा फुटाउने रणनीति सफल हुँदा सत्ता हात लाग्यो ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा अहिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । सत्ता राजनीतिका दुई खेलाडी शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई ‘तर्साएर’ सत्तामा पुनरागमन गर्नुभएका ओलीले पार्टीभित्रको आन्तरिक राजनीतिमा पनि ‘एकातिर बन्दुक तेस्र्याएर अर्कोतिर पड्काउने’ त्यही शैली अपनाउनुभएको देखिन्छ । एमालेमा ओलीको विकल्प खोज्न केही नेता भित्रभित्रै सक्रिय रहेको विषय अब नौलो रहेन । त्यसनिम्ति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्काएर नेतृत्वमा स्थापित गर्न एउटा पंक्ति लागिरहँदा ओली सन्तुष्ट नरहेको कुरा पनि लुकेको छैन। 

पार्टीको विधानबाट ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान निलम्बन गराएर अर्को एक कार्यकाल अध्यक्ष खाने तयारी छ । पार्टीमा सर्वस्वीकार्य नेता बन्ने महत्वाकांक्षी योजनाका साथ फरक मत राख्ने भीम रावलहरूलाई निश्कासनदेखि नेताहरूको कार्यविभाजन आफूअनुकूल गराइसक्नु भएको छ । नेतृत्वमाथि प्रश्न उठाउनेहरूलाई किनाराकृत गर्ने क्रम जारी नै छ । तैपनि, सौराहा महाधिवेशनमा जस्तै ११औं महाधिवेशनमा पनि ‘सर्वसम्मत अध्यक्ष’ हुने ओलीको रहर पूरा हुनेमा भने आशंका भैरहेको छ । सौराहामा भीम रावल बाधक बनेजस्तै पूर्वराष्ट्रपति विद्याको सम्भावित आगमनले चुनौती दिन सक्ने चर्चा भैरहेको छ।

यो सन्दर्भमा हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले कोट्याएको एउटा सन्दर्भले एमाले पंक्ति तरंगित छ । प्रसंग थियो– पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष डाक्टर भीमबहादुर रावलको । बैठकमा कर्ण थापा, झापट रावललगायत सुदूरपश्चिमका केही नेताले खुलेरै उनीमाथिको कारवाही फिर्ता लिन माग गरेका थिए । तर, ओलीले भने रावलका गतिविधि पार्टीको लागि घातक रहेकाले उनीमाथि कारबाही गर्नुपरेको प्रष्टीकरण दिनुभयो । रावल संगठन गरेर नभई झलनाथ खनालको सल्लाहकारका नाताले पार्टीमा स्थापित भएको र धम्क्याउनेबाहेक अर्थोक काम केही नगरेकाले हटाउनुपरेको भनियो । ०७२ मा विष्णु पौडेलले हत्ते गरेकै कारण उनलाई उपप्रधानमन्त्री बनाउनुपरेको उल्लेख गर्दै ओलीले ०७४ पछि धम्क्याउने क्रम शुरु भएको दावी गर्नुभयो । 

मध्यपहाडी लोकमार्ग यात्राका क्रममा रावलले गृहजिल्ला अछाममा आफूलाई स्वागत नगरेकामा चित्त दुखाएका ओलीले बैठकमा भन्नुभयो – बरु, माओवादी र कांग्रेसका नेताहरूले ठाउँ–ठाउँमा लाइन लागेर स्वागत गरे, उनी आफ्नै गृहजिल्लामा पनि आएनन् । त्यस्तै गौरापर्वको अवसरमा टुँडिखेलमा आफूविरुद्ध नारावाजी हुँदा रावल रमाएको जस्ता सन्दर्भ जोड्दै ओलीले रावलले जहिल्यै पार्टी नीति र नेतृत्वको विरोध गरेर अप्ठ्यारो पारेको निश्कर्ष सुनाउनुभयो । र, कारबाहीसम्बन्धी निर्णयको बचाउ मात्र गर्नुभएन, गुट चलाउने कसैलाई पनि नछोड्ने चेतावनी दिनुभयो । 

त्यसक्रममा विगतमा अध्यक्षमा पराजित हुनेलाई दोस्रो वरीयताको वरिष्ठ नेता बनाउने गरेका कारण गुटबन्दी मौलाएको दाबी गर्दै आफ्नो कार्यकालमा त्यसो हुन नदिने स्पष्ट पार्नुभयो । भीम रावललाई गाली गर्दै उहाँले आफू अध्यक्ष रहँदासम्म पूर्वराष्ट्रपतिलाई पार्टीमा ठाउँ नरहेको घुमाउरो सन्देश दिनुभएको बैठकमा सहभागी एक नेताले बताएका छन् । ‘म पनि कि एक नम्बरकै नेता रहन्छु नत्र घर गएर बस्छु । वरिष्ठ, सम्मानित नेताको नाममा अध्यक्षलाई सताउने काम गर्दिनँ’, अध्यक्षको भनाइको व्याख्या गर्दै एक केन्द्रीय सदस्य भन्छन्, ‘प्रसंग भीम रावल भए पनि यो राष्ट्रपतिको सक्रिय राजनीतिप्रति गरिएको अप्रत्यक्ष कटाक्ष हो ।’

केन्द्रीय कमिटीमा ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ शैलीमा प्रस्तुत हुनुभएका ओलीले पार्टीका भेला, बैठक, कार्यक्रममा भने धेरै पटक पूर्वराष्ट्रपतिलाई उकास्ने काम नगर्न नेताहरूलाई चेतावनी दिनुभएको छ । पूर्वराष्ट्रपतिको पक्षमा बोलेकै कारण नेताहरू अध्यक्षको ‘कर्के नजर’ मा परेको भनिँदै छ । एमाले काठमाडौँका पूर्वइञ्चार्ज तथा सांसद कृष्ण राईले हालै एक सञ्चार माध्यममा विद्या भण्डारी पार्टी अध्यक्ष हुन सक्ने आशयको अभिव्यक्ति दिएबापत पछिल्लो सचिवालय बैठकमा कारबाहीको प्रसंग चलेको थियो ।

‘राष्ट्रपति भइसकेको मान्छे पार्टीमा दुई नम्बरको नेता भएर बस्ने कुरा हुँदैन । यदि, उहाँ पार्टीमा आउनुभयो भने ओली दुई नम्बर वरीयतामा वरिष्ठ नेता भएर बस्नुपर्ने हुन्छ’, केन्द्रीय कमिटीमा ओलीले बोलेका कुरा अथ्र्याउँदै ती नेता भन्छन्, ‘उहाँले म सेकेण्डम्यान भएर बस्दिनँ, बरु घर जान्छु भनेपछि प्रसंग भिन्नै भए पनि विद्यालाई रोक्न चाहेको अर्थ लागेन र !’

टिप्पणीहरू