ठाउँ–ठाउँमा देखिँदै ऊँट, कति बोल्नु झूठ ?

ठाउँ–ठाउँमा देखिँदै ऊँट, कति बोल्नु झूठ ?

नेपालमा ऊँट भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, विभिन्न स्थानमा साधुहरूले ऊँट डोहोर्‍याउँदै हिँडिरहेको देखिन्छ । ऊँट गर्मी ठाउँमा पाइने जनावर हो । विशेषतः मरुभूमि भएको देशमा ऊँट पाइन्छ । सामान बोक्नु तिनको मुल प्रयोजन हो । छिमेकी मुलुक भारतको दक्षिण भेग, पाकिस्तान, अफगानिस्तान र खाडी मुलुकमा ऊँटले यातायातको काम गर्दै आएको छ । 

गर्मी मौसम रुचाउने ऊँट ठण्डीको बेला कसरी नेपाल भित्र्याइयो होला ? सुन्दा छक्क परिन्छ । सरोकारवालालाई भने ऊँट भित्रिएकोबारे कुनै जानकारी नै छैन । यसले सीमानाकामा कतिसम्म लापरवाही हुने गर्छ भन्ने प्रष्ट पार्दछ । केही दिनअघि पाल्पाको तानसेनमा ऊँट देखियो । अझ पाल्पा हुँदै मुक्तिनाथ हिँडेका एक भारतीय साधुले डोरीले तान्दै ऊँट डोहोर्‍याइरहेका थिए । जाडो मौसममा नेपाल भित्र्याइएको ऊँट कसरी बाँच्ला ? भनेर धेरैले चिन्ता व्यक्त गरेका छन् । काइँल्दाइले सामाजिक सञ्जालमा साधु त पुग्लान् तर यो चिसोमा ऊँटको हालत के होला ? भन्दै प्रश्न गरेका छन् । त्यसैमा शरद पाण्डे छप्छन्, ‘आफ्नो स्वार्थ र कमाइको जरिया नै बनाए यिनीहरूले ।’ नारायण अधिकारी भन्छन्, ‘यसले ऊँट जिउँदो फर्काउने भएन ।’ अकालले ऊँटलाई के आधारमा सीमा पार गराइयो भन्दै जवाफ माग गरेका छन् । उनी लेख्छन्, ‘जनावरलाई केका आधारमा सीमापार गराइयो ? साइटिस सन्धि केका लागि ?’

केही महिनाअघि सिन्धुलीमा पनि यसरी नै ऊँट देखिएको थियो । हरिहरपुरगढी गाउँपालिकामा भेटिएको सो ऊँट सर्लाहीमा पालिएको खुलेको छ । बागमती नगरपालिकाको वडा नम्बर १२ स्थित भरततालमा लाग्ने मेलामा देखाउनका निम्ति ल्याइएको ऊँट हरिहरपुरगढी पुगेको हो । ऊँट देखेपछि स्थानीय आतंकित भएका थिए । डिभिजन वन कार्यालय, मरिणका अधिकृतहरूका अनुसार केही स्थानीयले ऊँट पालेका छन् । ऊँट हेर्न त्यहाँका लागि टाढाटाढाबाट पर्यटक आउने गरेको अधिकृतहरूको भनाइ छ । एक अधिकृतले भने, ‘तराईमा एकाधले आफ्नो घरमा ऊँट पाल्नुभएको छ । तर, कसरी ल्याइयो त्योचाँहि थाहा भएन । उहाँहरूले सानैमा ल्याएर पाल्नुभएको हुन सक्छ ।’ पैसा कमाउनका लागि जनावरको जीवनसँग खेलबाड गर्न नमिल्ने पशु अधिकारकर्मीहरू बताउँछन् ।

श्वास भएका हरेक प्राणीलाई दुख्छ, पीडा हुन्छ । बोलेर भाव व्यक्त गर्न सक्दैनन् भन्दैमा जनावरलाई पीडा नहुने होइन । पछिल्लो समय मानवीयता हराउँदै गएको छ । पशुमाथि ज्यादती दिनप्रतिदिन बढ्दै छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपन्छीसम्बन्धी हकबारे उल्लेख छ । दफा २९० मा पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने भनिएको छ । उपदफा १ मा लेखिएको छ, ‘कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्नसक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्नुहुँदैन ।’ ऐनमा पशुपंक्षीलाई कुनै किसिमको यातना दिन नपाइने स्पष्ट उल्लेख छ । मान्छेले खप्न नसक्ने ठण्डीमा ऊँट भित्र्याएर रमिता देखाइएको छ । अन्तर्राष्ट्रिय जनावर एक मुलुकबाट अर्कोमा लैजानका लागि अनुमति लिनुपर्छ । तर, अनुमति नलिईकन धमाधम ऊँट नेपाल भित्र्याइरहेको पाइएको छ । 

ऊँट नेपालमा पाइने जनावर होइन । भारतबाट लुकीछिपी भित्र्याइएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य नेपालमा ऊँट ल्याइएकोबारे कुनै जानकारी नभएको बताउँछन् । ऊँट ल्याउनका लागि स्वीकृति नलिइएको उनको भनाइ छ । ‘विभागलाई यसबारे जानकारी गराइएको छैन । अनुमति लिएर ल्याइएको होइन । वन्यजन्तुको हिसाबमा ऊँट ल्याइएको होजस्तो मलाई लाग्दैन’, उनले भने । यता, लोपोन्मुख जनावरको संरक्षण र गैरकानुनी व्यापार रोक्नका लागि विश्व संरक्षण संघको संयोजकत्वमा ‘दुर्लभ वन्यजन्तु तथा अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)’ कार्यान्वयनमा ल्याइएको छ ।

नेपाल पनि साइटिसको सदस्य राष्ट्र हो । साइटिसले लोप हुन लागेको जनावरको अवैध ओसारपसारमा नियन्त्रण र नियमनमा जोड दिएको छ । साइटिसमा परेका जनावरहरूको ओसारपसार र व्यापार गर्न इजाजत लिनुपर्छ । उता, भैरहवा भन्सार कार्यालयले पनि ऊँट नेपाल भित्रिएकोबारे कुनै जानकारी नभएको जनाएको छ । खुल्ला सीमानाका कारण प्रशासनको आँखा छलेर भित्र्याएको हुनसक्ने कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताए । ‘हाम्रो भन्सार कार्यालयबाट दर्ता भएरचाँहि जाँदैन । आजसम्म यहाँ एउटा पनि ऊँट दर्ता भएको छैन । खुल्ला सीमा भएका कारण विभिन्न बाटो हुँदै लुकाएर लगेको हुनसक्छ’, उनले जनआस्थासँग भने ।

 

टिप्पणीहरू