१९ पटक फुटेर फेरि जुट्दै मधेशी दल
मधेशकेन्द्रित दलहरू एउटै मोर्चा बनाउने अभियानमा जुटेका छन् । जनता प्रगतिशील पार्टीको अध्यक्षसमेत रहेका हृदयेश त्रिपाठीले नौ महिनादेखि शुरु गरेको मोर्चा बनाउने अभियान पछिल्लो पटक तीव्र बनेको छ ।
‘जनतामा यति धेरै निराशा यसअघि कहिल्यै थिएन, यस्तो परिवेशमा मुख्य दुई दल कांग्रेस–एमाले मिलेर बनेको सरकारले पनि आसलाग्दो काम गर्न नसकेपछि मोर्चाको आवश्यकता अरु बढ्यो’, मधेशी दललाई एकै ठाउँ ल्याउन प्रयास गरिरहेका त्रिपाठी भन्छन् ।
जनता प्रगतिशीलसहित वृषेशलाल कर्ण नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी र जनमत पार्टीबीच नौ महिना अघि नै मोर्चाको अभ्यास शुरु भइसकेको थियो । माघे संक्रान्तिको अवसर पारेर भएको जमघटमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनप्रगतिशील, राष्ट्रिय मुक्तिमोर्चा, तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरू सहभागी थिए । उपेन्द्र यादव र रेशम चौधरी माघी पर्व मनाउन गाउँ गएका कारण अनुपस्थित भए पनि एउटै मोर्चामा आबद्ध हुने कुरामा विमति नरहेको त्रिपाठीले जानकारी दिए । एमाले महासचिव शंकर पोखरेलले दुईदलीय व्यवस्थाको पक्षमा दिइरहने अभिव्यक्ति र संविधान संशोधन गरी थ्रेस होल्ड बढाउने विषयले मधेशी दललाई सहकार्य गर्नैपर्ने बाध्यता देखिन्छ ।
अहिले कांग्रेस–एमालेसहितको सत्ता गठबन्धन र एकीकृत माओवादी केन्द्रसहित विपक्षी दलका अलग अलग मोर्चा छन् । विपक्षमा पनि माओवादी, एकीकृत समाजवादीलगायतको छुट्टै मोर्चा सक्रिय छ । प्रायः सबै मधेशवादी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिई सत्तामा गएर वा बाहिरै बसेर भएपनि समर्थन दिएका थिए । अशोक राई नेतृत्वको जसपा र लोसपा सरकारमै छन् । सरकारमा भएका र समर्थन गर्ने मधेशी दलले पनि सरकारलाई विश्वास गर्न र प्रतिपक्षको मोर्चालाई पत्याउन नसकेको देखिएको छ ।
२०७९ को आमनिर्वाचनमा सूर्य चिह्नबाट प्रतिष्पर्धा गरेर अर्बपति व्यापारी विनोद चौधरीको पैसाको छेलोखेलोका कारण पराजित त्रिपाठीको दावी अर्कै छ । भन्छन्– बहुमत आउँदैमा केहि हुँदैन भन्ने कुरा त २०४८, २०५६ र २०७४ को परिणामले पनि देखायो नि !लोसपाका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाका अनुसार अहिले उठिरहेको दुई दलीय व्यवस्था र संविधान संशोधनको विषयले मधेशवादी दलमा सहकार्यको खाँचो अरु बढी खड्किएको छ । ‘मोर्चा बनाउने कुरामा कुनै पनि मधेशी दलको बिमति छैन, बरु उच्चस्तरमा छलफल गरी अघि बढाउने सहमति गरेका छौं,’ शुक्ला भन्छन्, ‘एकता र विभाजन हाम्रो सामाजिक अंग भइसक्यो, भोलि एकता नहोला भन्न सकिन्न ।’ सहकार्यको अवधारणालाई संस्थागत गर्दै मोर्चा बनाउन लोसपाले वरिष्ठ उपाध्यक्ष शुक्ला संयोजक र नेता लक्ष्मणलाल कर्ण सदस्य रहेको उच्चस्तरीय समिति नै बनाइसकेको छ ।
साझा मोर्चा बनाए पनि मधेश केन्द्रित दलबीच एकताको सम्भावना भने अभियानकर्ताले देखेका छैनन् । मधेशी दलमा सैद्धान्तिक कारणले एकपटक मात्र विभाजन भएको दाबी गर्दै त्रिपाठी भन्छन्, ‘अरु सबै विभाजन पदको लोभ, लालच, सत्ता लिप्सा र व्यक्तिगत स्वार्थले मात्रै भएका हुन् । सद्भावना पार्टीका तत्कालीन अध्यक्ष बद्रिप्रसाद मण्डलले तत्कालीन राजासँग सहकार्य गरेका कारणले उनीसँग सैद्धान्तिक मतभेदका कारण विभाजन भएबेगर अरु सबै फुट स्वार्थका कारण मात्र भएको हो ।’
नेताहरूको सत्ता र शक्तिको स्वार्थले मधेशी दलमा अहिलेसम्म १९ पटक विभाजन भएको छ । ०६४ को पहिलो संविधानसभा निर्वाचनबाट एमाओवादी, कांग्रेस, एमालेपछि मधेशी दल चौथो शक्तिको रूपमा उदाएको थियो । २०७४ मा ६ मधेशवादी दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो । २०७७ मा राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बन्यो । मधेश नै कब्जा गर्ने हैसियतमा पुगेको यो एकता पनि लामो समय टिकेन । महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अशोक राईले जनता समाजवादी पार्टी बनाए ।
अहिले राजनीतिमा चलेको अर्को नारा छ, मिशन २०८४ । यो रणनीतिमा कांग्रेस, एमाले, माओवादी केन्द्र अलि बढी सक्रिय छन् । ‘देशको अवस्था यति गम्भीर छ कि, यस्तै अवस्था रहे २०८४ सम्म नै पुगिँदैन,’ त्रिपाठीको दाबी छ । अहिलेका दल र नेता काम लाग्दैनन् भन्ने भाष्य निर्माण भएको र यसलाई सरकारका कामले चिर्नुपर्नेमा नसकेको बुझेका उनले सामाजिक, राजनीतिक र आर्थिक निराशालाई तत्काल आशामा बदल्ने काम भएन भने प्राप्त उपलब्धि नै गुम्ने खतरा देखेका छन् ।
टिप्पणीहरू