श्रीलंकाले हामीलाई के दियो सन्देश ?

श्रीलंकाले हामीलाई के दियो सन्देश ?

श्रीलंकामा वामपन्थीहरूको शानदार विजय भएको छ । गत सेप्टेम्बरमा मात्र वामपन्थी नेता अनुरा कुमारा दिसानायकेलाई राष्ट्रपति चुनेका त्यहाँका जनताले दुर्ई महिना नबित्दै संसदमा पनि दुर्ई तिहाइ सिट जिताएर वामपन्थीलाई सबैभन्दा सशक्त शक्तिको रूपमा स्थापित गरिदिएका छन् ।

प्रजातान्त्रिक निर्वाचनमार्फत राष्ट्रपतिमा निर्वाचित अनुरा दक्षिण एशियाकै प्रथम कम्युनिष्ट नेता हुन् भने दुई–दुई पटक सरकारविरुद्ध सशस्त्र विद्रोह गरिसकेको कम्युनिष्ट दल जनता विमुक्ति पेरामुना (जेभिपी) सरकार विश्वको त्यो बलियो सरकार हो,  जसले संसदमा दुई तिहाइ पाएको छ । श्रीलंकामा वामपन्थीलाई लगातार प्राप्त सफलताबाट विश्व जनमत तीनछक्क पर्दै छ, किनभने गत साता सम्पन्न निर्वाचनमार्फत २ सय २५ सदस्यीय संसदमा १ सय ५९ सिट जित्न सफल जेभिपीको अघिल्लो चोटि मात्र ३ सिट थियो । जेभिपीले निर्वाचन ‘राष्ट्रिय जनशक्ति’ नामक गठबन्धन बनाएर लडेको हो, जसमा मुख्य शक्ति र निर्वाचित प्रायः सबै सांसद जेभिपीकै थिए । 

दक्षिण एशियाकै पछिल्लो ३५ वर्षको राजनीतिमा कम्युनिष्टले बलियो उपस्थिति देखाउन सकेको मुलुक नेपाल नै हो । कम्युनिष्टले छिटपुट प्रान्तीय,  जिल्ला तथा स्थानीय सरकार बनाउन सके पनि केन्द्रमा सरकार बनाउन सकेका थिएनन् । नेपालमै हो पहिलोपटक २०५१ सालमा कम्युनिष्ट नेता मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेको । यसपछि एमाले नेता केपी ओली ४ पटक प्रधानमन्त्री बने,  एमालेकै माधव नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री बने । सशस्त्र संघर्षबाट उदाएका माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३ पटक र सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराई पनि सत्तामा पुगे । यसबाहेक  कम्युनिष्ट पार्टी गठबन्धन सरकारमा सामेल हुन सफल भएका थुप्रै उदाहरण छन् । तर,  यति छोटो अवधिमा पटक–पटक सरकारमा जान सफल नेपालका कम्युनिष्टले देश र जनताको निम्ति उल्लेखनीय काम गरेर देखाउन नसकेकै कारण आज उनीहरूको लोकप्रियता ओरालो लाग्दै छ ।

श्रीलंकाली कम्युनिष्ट आन्दोलन दक्षिण एशियाली मुलुक नेपाल,  भारत,  बंगलादेशको तुलनामा कमजोर नै थियो । यद्यपि,  जनता विमुक्ति पेरामुनाले दुई पटक असफल सशस्त्र विद्रोह नगरेको होइन । उसले सन् १९७१ मा गरेको विद्रोहमा ५ हजार र सन् १९८७–१९८९ को दोश्रो विद्रोहमा ६० हजारको ज्यान गएको थियो । दोश्रो विद्रोहमा त ‘श्रीलंकाली स्टालिन’ को नाउँले चर्चित सर्वोच्च नेता रोहना बिजेविराले समेत ज्यानको आहुति दिनुपरेको थियो । यी दुइटै घटनाबाट हण्डर खाएपछि भने जेभिपी सम्हालियो । सोभियत संघलगायत पूर्वी युरोपेली कम्युनिष्ट सत्ता पनि ढलिसकेको थियो । विश्वभरिका अधिकांश कम्युनिष्ट पार्टीले आफ्नो रणनीतिमा बदलाव ल्याइसकेका थिए । परिवर्तित यो स्थितिबाट पाठ सिक्दै जेभिपी अघि बढ्यो । निजी सम्पत्तिको विरोध गर्न छोड्यो । उग्रधार त्याग्दै निर्वाचनमा होमियो । नभन्दै खुला राजनीतिमा होमिएलगत्तै मूलधारको एक प्रमुख राजनीतिक पार्टी बन्न सफल भयो । 

वर्तमान राष्ट्रपति अनुराको नेतृत्व रहेको जनता विमुक्ति पेरामुना (जेभिपी) सन् १९६५ मै गठित कम्युनिष्ट पार्टी हो । विश्व कम्युनिष्ट आन्दोलन सोभियतसंघ र चीन पक्षीय दुई धुरीमा विभाजित हुन पुगेको बेला यसका प्रमुख नेता पाताबेण्डी डोन जिनादासा नान्डासिरी विजेविरा उर्फ रोहना विजेविराले यसलाई माओ त्सेतुङको पथमा डोहो¥याए, जबकि उनी मस्कोबाटै दीक्षित विद्यार्थी थिए । स्मरणीय छ,  सोभियत संघले जेभिपीलाई सन् १९७८ मा मात्र मित्रशक्ति मानेको हो ।

विजेविराकै नेतृत्वमा जेभिपीले सन् १९७१ मा सशस्त्र विद्रोह गर्‍यो । त्यसबेला त्यहाँ सिरिमाओ भन्डारनायकेको सरकार थियो । जेभिपीले आफ्ना १२ हजार सशस्त्र जनमुक्तिसेना र ८० हजार स्वयंसेवकको बलमा सरकारी सेनासित लडेको थियो । विद्रोहलाई स्थानीय समाजवादी विद्यार्थी संघ र उत्तर कोरियाले साथ दिएका थिए । विद्रोह दबाउन श्रीलंकाली सेनाको सहयोगार्थ भारत,  पाकिस्तान र सोभियत संघले सेना पठाएका थिए । सरकार ३ महिनापछि विद्रोह दबाउन सफल भयो । विजेविरा विद्रोहअघि नै पक्राउ परिसकेका थिए भने सन् १९७७ मा मात्र रिहा भए । 

विद्रोह असफलतामा टुंगिएपछि जेभिपी कमजोर बन्न पुग्यो । नेता र धेरै कार्यकर्ता जेल परे । राष्ट्रपति जेआर जयवर्धनेको सरकारसँग भएको सहमतिअनुरूप बिजेबिरा जेलबाट छुटेलगत्तै प्रतिबन्ध फुकुवा भयो र सहमतिअनुरूप पार्टीले खुला राजनीति शुरु गरी सन् १९७८ को स्थानीय निर्वाचनमा भाग लियो । ४ वर्षपछि राष्ट्रपतीय निर्वाचनमा विजेविरा स्वयं उम्मेदवार बने । र,  तेस्रो भए । यसबीच,  सन् १९८७ मा तामिल विद्रोहलाई दबाउने नाउँमा भारतीय शान्तिसेना श्रीलंका पस्यो । जेभिपीले यसको चर्को विरोध गर्‍यो र सरकारविरुद्ध पुनः हतियार उठायो । यो विद्रोहमा झन् धेरैको ज्यान गयो । सरकारी दमन तीव्र बन्यो । यसपछि जेभिपीले राष्ट्रिय मुक्ति मोर्चाको नाउँबाट निर्वाचनमा भाग लिन थाल्यो । पहिलो पटक सन् २००४ पछि बनेको सरकारमा सामेल भयो । एकीकृत जनस्वतन्त्र गठबन्धनको एउटा घटकको हैसियतले । यो गठबन्धन चन्द्रिका कुमारातुंगाको दल फ्रिडम पार्टी र जेभिपीको थियो, कुमारातुंगाको सरकारलाई जेभिपीका ३९ जना सांसदले समर्थन दिएका थिए । उक्त सरकारमा वर्तमान राष्ट्रपति अनुराले कृषि,  पशुपालन,  भूमि र सिञ्चाइ मन्त्रालय सम्हाले । गठबन्धन १६ महिना मात्र टिक्यो र जेभिपी सरकारबाट हट्यो । 

यसबीच जेभिपीले आफ्नो नीतिमा ठूलो परिवर्तन ल्याइसकेको थियो । सन् २०१४ को फेब्रुअरीमा पार्टीको १७ औं महाधिवेशन भयो, जसले ४६ वर्षीय अनुरालाई नेता चयन गर्‍यो । लगत्तै निर्वाचन जितेर उनी सांसद बने । अनुरा  वामपन्थी सबै एकजुट नभई सत्तामा पुग्न सकिन्न भन्ने मत राख्थे । त्यसैले वामपन्थीलाई एकजुट गर्नतिर लागे । उनैको प्रयासले सन् २०१९ मा ‘राष्ट्रिय जनशक्ति’ गठन सम्भव भयो । स्थापनादेखि आजपर्यन्त उनी यो गठबन्धनको प्रमुख नेता हुन् । दुई तिहाइ दिलाएको यो गठबन्धनमा जेभिपी मुख्य शक्ति हो भने यसमा अन्य २० वटा वामपन्थी दल र पेशागत संगठन छन् । पछिल्लो निर्वाचनमा गठबन्धनले कुल सदर मतको ६१ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचनबाट श्रीलंका सन् १९४८ मा बेलायतसँग स्वतन्त्र भएदेखि नै राजनीति र सत्तामा हालिमुहाली गर्दै आइरहेका प्रमुख दलहरू बढारिएका छन् । पटक–पटक प्रधानमन्त्री र राष्ट्रपति भइसकेका खुँखार नेताहरू महेन्द्रा राजापाक्ष र उनका भाइ तथा जुलाईको जनविद्रोहताका राष्ट्रपति गोटाबाया राजापाक्षको दल श्रीलंकाली जनमोर्चा, पुरानो दल युनाइटेड नेशनल पार्टी, रनिल विक्रमसिंघेको डेमोक्रेटिक फ्रन्ट क्रमशः ३,  ४० र ५ सिटमा खुम्चिन पुगेका छन् । 

पहिलोपटक तामिल बाहुल्य क्षेत्र जाफ्ना प्रायद्वीपमा समेत कम्युनिष्टहरूले झण्डा गाड्न सकेका छन् । गम्भीर आर्थिक र राजनीतिक संकटमा फँस्न पुगेको श्रीलंकाका जनताले राहत खोजिरहेका छन् । मुलुक विदेशी ऋणमा चुर्लुम्म डुबेको छ,  ब्यापार घाटा,  महँगी,  बेरोजगारीले आकाश छोएको छ । अर्थतन्त्रको मेरुदण्ड बनेको पर्यटन क्षेत्र धराशायी छ । दुई महिनाअघि मात्र राष्ट्रपति बनेका ५५ वर्षीय अनुराले यी सबै क्षेत्रमा सुधारलगायत कर नीतिमा संशोधन,  भूमिसुधार,  भ्रष्टाचार नियन्त्रण,  विदेश नीतिमा बदलाव,  राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने आश्वासन दिएका छन् ।

निर्वाचनको क्रममा उनले विगतमा भएको सशस्त्र विद्रोहका कारण भएको जनधनको क्षतिलाई लिएर क्षमा मागिसकेका छन् । दुई महिनाको कार्यकालमा सरकारको तर्फबाट कुनै अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलाप हुन पाएन । प्रशासनबाट कुनै धरपकड भएन । त्यहाँका लागि यो नौलो कुरा थियो । सरकार चलाउने उनको यो शैलीलाई पुराना दल र नेताप्रति निराश जनताले रुचाए । संसदीय निर्वाचनको नतिजा वामपन्थी पोल्टामा पर्न जानुमा यी सबै सकारात्मक कुराले काम गरेको देखिन्छ । यसबाहेक आर्थिक चुनौती सामना गर्ने,  गरिबीविरुद्धको कार्यक्रम ल्याउने,  सरकारी खर्चमा कटौती गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विगतमा ठूला पार्टीले गरेका गल्ती नदोहो¥याउनेजस्ता उनको एजेण्डाले जनताको मन जितेको देखिन्छ । 

सबैतिरबाट निराश जनतालाई धेरथोर मात्र राहत प्रदान गर्न र भ्रष्टाचारमुक्त सरकार चलाउन मात्र सकेमा पनि आगामी दिन वामपन्थीको निम्ति थप उज्ज्वल बन्नेमा शंका छैन । त्यहाँ वामपन्थी सरकार सफल र बलियो हुनु भनेको पटक–पटक सत्तामा पुगेर पनि उल्लेखनीय काम गरी जनताको मन जित्नतिर नलाग्ने नेपालका कम्युनिष्टको लागि पनि राम्रो पाठ हुनसक्छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा श्रीलंका र त्यहाँका जनताको अवस्था अनि नेपाल र नेपालीको स्थितिमा खासै भिन्नता देखिँदैन । 

फरक यत्ति हो,  श्रीलंकाका जनताले राजापाक्ष,  रनिल,  प्रेमादासाहरूबाट वाक्कदिक्क भएर कम्युनिष्टलाई रोज्न पुगे भने विडम्बना, नेपालीहरू कम्युनिष्ट–कांग्रेसको विकल्प सामाजिक सञ्जालका ‘हिरो व्यक्ति’ र ‘नयाँ पार्टी’ हो भन्दै कुद्न थालेका छन् । को ठीक नेपाली जनता कि श्रीलंकाली ? विश्व जनमत रनभुल्लमा छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू