बाथरुममा घण्टौं बसेर नुहाउन बिर्सने यी विद्वान
सम्भवतः वैज्ञानिकमध्ये सबैभन्दा बढी चर्चा अल्बर्ट आइन्स्टाइनकै होला । जर्मनीको एउटा यहुदी परिवारमा जन्मेका उनले भौतिकशास्त्रमा ठल्ठूलो खोज र उपलब्धि हासिल गरेका छन् तर सबैले उनलाई सापेक्षताको सिद्धान्त प्रतिपादकका रूपमै चिन्ने गरेका छन् । बाल्यकालमा सबैले बुध्दु भनेर गिज्याउँथे, किनभने ३ वर्षको हुँदासम्म उनी मन्द बुद्धिका थिए । बोल्न पनि सक्थेनन् । ६ वर्षमा बल्ल पाठशाला टेके तर स्कुलका शिक्षकहरूले ‘मूर्ख बालक’ नै भने र गिज्याए । तर उनै मन्द बुद्धिका बालकले २६ वर्षको उमेरमा सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेर दुनियाँलाई छक्क पारिदिए । पिण्डलाई शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिए । उनको प्रख्यात सूत्र थियो– भ्=ःऋ² . यसपछि भने प्रख्यात विश्व वैज्ञानिकको सूचीमा नाउँ लेखाउनबाट उनलाई कसैले छेक्न सकेन ।
सन् १९०५ मा आइन्स्टाइन विश्वप्रसिद्ध बनिसक्दा पनि विज्ञान विषयमा अध्ययनरत धेरैभन्दा धेरै बिद्यार्थी सापेक्षताको सिद्धान्तबारे रनभुल्लमै थिए । त्यसैले आइन्स्टाइनलाई आफूले प्रतिपादन गरेको सूत्र के हो ? भनेर बुझाउन विभिन्न कलेज, विश्वविद्यालय धाउनुपरेको थियो । एकदिन विश्वविद्यालयको प्रांगणमा बसेर विद्यार्थीहरू छलफल गर्दै थिए । एकजनाले भने ‘मैले अझै पनि सापेक्षताको सिद्धान्त के हो भन्ने बुझेको छैन ।’
अर्कोले भने, ‘मेरै मनको कुरो भन्यौ । वास्तवमा मैले पनि चुरो कुरो बुझेकै छैन ।’
दुई जनाको संवाद सुनेपछि तेस्रोले पनि भन्योे, ‘मलाई त झन यो विषयको ‘क ख ग’ नै थाहा छैन । तीनै जना विज्ञान पढाउने शिक्षकसामु पुगे । शिक्षकले धेरै प्रकारबाट सम्झाउने प्रयास गरे तर ती बिद्यार्थीको दिमागमा घुस्दै घुसेन । त्योबेला आइन्स्टाइन सोही कलेजमा आगन्तुक प्राध्यापकको हैसियतमा थिए । विज्ञान शिक्षकबाट पनि समस्या समाधान नभएपछि उनीहरू सिधै उनको कक्षमा पुगे । आइन्स्टाइन जिज्ञासा सुनेर मुसुक्क हाँसे । र, भने, ‘सापेक्षताको अर्थ एकदम सजिलो छ । म तिमीहरूलाई यसको व्याख्या सरल तरिकाले दिन्छु ।’ तीनै जनाले उत्साहित हुँदै भने ‘हुन्छ सर, व्याख्या गरिदिनुस् ।’
आइन्स्टाइनले भने ‘तिमीहरू जब मन पर्ने व्यक्तिसँग घण्टौं बिताउँछौं तैपनि लाग्छ कि भर्खरै केही मीनेट मात्र भयो, यसको बिपरित मन नपर्ने व्यक्तिसँग ५ मीनेट बिताउँदा पनि घण्टौं बिताइसकेको अनुभूति हुन्छ, सही अर्थमा यो नै सापेक्षता हो ।’ कुरा सुनेर तीनै जना छात्र दंग परे । र, भने ‘सर, तपाईंले एउटा उच्चस्तरको सिद्धान्तको बारे कति सरल अर्थमा हामीलाई बुझाउनु भयो । तपाईं त्यसैले महान् हुनुहुन्छ र अरुभन्दा पृथक पनि ।’
आइन्स्टाइन काममा दत्तचित्त भएर लाग्ने पात्र हुन् भने उत्तिकै सन्काहा पनि । एकपटक नुहाउन बाथरूम छिरेको निकैबेरसम्म पनि ननिस्केपछि बहिनी माजा डराइन् । भित्र दाजुलाई केही भयो कि भन्ने आशंका पालेर बसिन् र फेरि एकछिन कुरिन् । तैपनि दाजु ननिस्केपछि ढोका ढक्ढक्याउँदै बोलाइन् । बल्ल आइन्स्टाइन निस्के । तर, उनी जसरी पसेका थिए त्यसरी नै हातमा टावेल बोकेर निस्केको देखेपछि माजा अचम्ममा परिन् । बल्ल आइन्स्टाइनको होश खुल्यो र ‘आइ एम सरी, आफ्नै बिचारमा हराउँदा मैले नुहाउनै बिर्सेछु’ भन्दै फेरि बाथरूम छिरे । दाजुको ताल देखेर माजा निकैबेरसम्म हाँसिरहिन् ।
आइन्स्टाइनले दुईचोटि बिहे गरे । पहिलो पत्नी थिइन् मिलेभा मारिक, जोसँग १६ वर्ष बिताए । तर उनीहरू सम्बन्धबिच्छेद हुनु ५ वर्षपूर्व नै अलग्ग बस्न थालिसकेका थिए । आइन्स्टाइनले मिलेभासित कानूनीरूपमा छुटेको साढे तीन महिनापछि दिदी नाता पर्ने एल्सा आइन्स्टाइनसित बिहे गरे । यो सम्बन्ध ७ वर्ष पुरानो र दुवै जनाको दोस्रो बिहे थियो । एल्सा अल्बर्टभन्दा ३ वर्षले जेठी थिइन् । लेखक वाल्टर इसाक्सनले आफ्नो पुस्तक ‘आइन्स्टाइनः हिज लाइफ एण्ड युनिभर्स’ मा आइन्स्टाइन र मिलेभाको सम्बन्धबारे खुलेर लेखेका छन् । उनको भनाइमा आइन्स्टाइनले दाम्पत्य जीवन बचाउन निकै प्रयास गरेका थिए तर यो कोसिस युद्ध लड्नुभन्दा कम गाह्रो भएन, जुन युद्धमा उनी पराजित बने ।
वास्तवमा प्रेमप्रति आइन्स्टाइनको दृष्टिकोण हस्तक्षेप गर्ने खालको थियो । वैज्ञानिक पत्नी मिलेभासितको दाम्पत्य जीवनमा खटपट शुरु भएपछि कडा नियमको एउटा सूची नै जारी गरेका थिए । छोराछोरीको कारणले मात्र सँगै रहन चाहेका उनको यो नियम पालन गर्दा मिलेभा प्रेमिका, पत्नी होइन, नोकर्नी बन्न पुग्थिन् जबकि उनी युरोपका औंलामा गन्न मिल्ने ती स्त्रीमध्येकी थिइन् जसले रसायनशास्त्र र गणितमा ठूलो सफलता हासिल गरेकी थिइन् । त्यस्ती विलक्षण पत्नीको सामु उनले यस्तो वाहियात सर्त तेस्र्याएका थिए, जसले गर्दा लोग्नेको घरमा नोकरसमान बिताउनुपर्दथ्यो ।
आफूलाई संसारकै सर्वश्रेष्ठ वैज्ञानिक ठान्ने उनको माग थियो– मिलेभाले दैनिक कोठाको सफाइ गर्नु पर्नेछ, उनका निम्ति दिनमा ३ समयको खाना तयार गर्नुपर्नेछ, खाना कोठामै ल्याएर ख्वाउनु पर्नेछ, लुगा धुने र धोएको लुगा व्यवस्थित तरिकाले दराजमा मिलाएर राख्नु पर्नेछ । आफ्नो बेडरूम र अध्ययन कक्ष सधैं सफासुग्घर भइरहनु पर्नेछ, आफ्नो डेस्क प्रयोग गर्न पाइने छैन । यी सबै कामको बदलामा केही नगर्न अपेक्षा गर्न पाइने छैन । शर्तमा लोग्नेसँग बस्ने र सँगै बाहिर जाने आशा नगर्न पनि भनिएको थियो । यहाँसम्म कि लोग्नेले नबोल भन्दा बोल्नसमेत पाइने छैन भन्ने बुँदा थियो । साथै, शयन कक्ष र अध्ययन कक्षबाट बाहिर जानु भन्नेबित्तिकै बिना बिरोध पालना गर्नुपर्ने शर्त पनि थियो ।
मिलेभाले शुरुशुरुमा त लोग्नेले अघि सारेका शर्तहरू आफूलाई स्वीकार्य भएको जस्तो गरी काम गर्न थालिन् तर केही समयपश्चात बर्लिन शहरै छाडेर हिँडिन् र स्वीटजरल्याण्डको ज्युरिच पुगी छोराहरूसँग बस्न थालिन् । उनले त्यहाँ ५ वर्ष बिताइन् र सन् १९१९ मा सम्बन्ध बिच्छेदको माग गर्दै निवेदन दर्ता गरिन् । मिलेभाको दावी थियो– आइन्स्टाइनको थुप्रै केटीसाथीसँग सम्बन्ध थियो । उनले निवेदनमा एल्साको भने नामै किटान गरेकी थिइन् । स्मरणीय छ, एल्सासँग बिहे गरिसकेपछि पनि आइन्स्टाइनले आफ्नी सहायिका बेट्टी न्युमैनसित सम्बन्ध राख्ने गरेका थिए । आइन्स्टाइनको निधन सन् १९५५ मा भयो भने मिलेभाको सन् १९४८ र एल्साको सन् १९३६ मा ।
यो पनि स्मरणीय छ कि प्रथम राष्ट्रपति चाइम वाइजमैनको १७ नोभेम्बर १९५२ मा देहान्त भएपछि इजरायलले राष्ट्रपति बनिदिन आइन्स्टाइनसमक्ष प्रस्ताव पठाएको थियो तर उनले आफूसँग समय नभएको, नागरिकसित ठीक ढंगले व्यवहार गर्ने खुबी नभएको भन्दै त्यसलाई खारेज गरिदिए । वाइजमैन रुसी यहुदी थिए र इजरायल देश बन्नुअघि यहुदी संगठनका अध्यक्ष थिए ।
टिप्पणीहरू