राष्ट्रपतिको हुलिया बदल्ने ती बालिका
हे शिक्षक !
मलाई थाहा छ र मान्छु पनि
न सच्चा हुन्छन्,
तर, तिमीले सिकाउनुपर्ने हुन्छ कि
को असल छन् अनि को खराब !
दुष्ट व्यक्तिहरुको साथै आदर्श प्रणेता पनि हुन्छन्
स्वार्थी राजनीतिज्ञहरुको साथै समर्पित नेता पनि हुन्छन्
शत्रु हुन्छन्, मित्र पनि हुन्छन्
सबै चित्र बिरुप हुँदैनन् सुन्दर चित्र पनि हुन्छन् ।
समय लागोस् तर
सकिन्छ भने सिकाउनु
सित्तैमा पाएको ५ वस्तुभन्दा मूल्यवान हुन्छ
आफ्नै कमाइले बनाएको एउटा वस्तु ।
पराजयबाट कसरी सम्हालिने, यो पनि सिकाउनु
विजयको खुशी कसरी मनाउनु
सकिन्छ भने इष्र्या र द्वेषबाट टाढै राख्नु
र, जीवनभित्र लुकेर बसेको मन्द मुस्कानको महत्व दर्शाउनु ।
जति सकिन्छ त्यति छिटो थाहा पाउन दिनु
कि अरुलाई आतंकित पार्ने ब्यक्ति स्वयंमा कमजोर हुन्छ,
ऊ भयभित र चिन्तित हुन्छ,
किनभने उसको मनमा चोर पसेको हुन्छ ।
उसलाई यो पनि सिकाउनु कि सहृदयसँग सहृदय हुनु
कठोरसित कठोर
सबैको कुरो सुन्ने क्रममा मनको कुरो पनि सुन्नु,
हरेक तथ्यबाट सत्यता खोज्न लगाउनु
सकिन्छ भने दुःखमा पनि हाँस्न सिक्नु भन्नु
आँशु बग्छ भने बग्न दिनु
यसमा लाज नमान्न भन्नू ।
यो सबै तिमीमा मेरो अनुरोध हो
तर तिमीलाई यी काम गर्न सक्छौ जस्तो लाग्छ ?
तिम्रो र मेरो, हामी दुबैको ऊसित एउटा नाता छ
त्यसो त, मेरो छोरा मायालु, र असल छ ।
अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने स्कूलका शिक्षकलाई लेखेको कवितात्मक पत्रको अंश हो यो । लिंकनलाई असल राष्ट्रपतिको रुपमा चिन्हाउने यो पत्र लेख्दाको समय उनी राष्ट्रपति बनिसकेका थिएनन् । दासप्रथा उन्मुलन गर्ने उनै पात्र अब्राहम संघर्षको अर्को नाउँ हो । गरीब परिवारमा जन्मेर राष्ट्रपति बन्दासम्म उनले गरेको संघर्ष सबैका लागि प्रेरणादायी छ । उनको सोझोपन, इमान्दारिता, योग्यतासम्बन्धी प्रेरणादायी धेरै घटना सार्वजनिक हुने गरेको छ भने कतिपय मिथक पनि छन् । अमेरिकामा भर्खरै डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपतिमा दोहोरिएका छन् तर अब्राहम लिंकन मात्र त्यस्ता व्यक्ति हुन् जसको तारिफ गर्न विश्वका जनता कहिल्यै थाक्ने छैनन् ।
लिंकन ६ फुट ४ इन्च अग्ला र निकै दुब्ला थिए तर शारीरिक परिश्रम गर्ने गरेकाले मांसपेशीहरु तगडा थियो । हातखुट्टा लामा थिए भने हत्केला र पैताला ठुल्ठूला । उनी गोरा थिएनन्, निधार चौडा थियो तर युवावस्थामै चाउरी परिसकेको । पोशाकप्रति लापरवाह थिए । प्यान्ट यति छोटो हुन्थ्यो कि जुत्ता, मोजा र पाइन्टबीचको दूरी लामो, प्यान्टलाई अड्काउने सस्पेन्डर लगाउँथे तर कम्मरमाथि न कमिज हुन्थ्यो न कोट । युवावस्थामा दाह्री जुंगा पाल्दैनथे, सफाचट भएर हिँड्थे । सन् १८६० सम्म राजनीतिमा शीर्ष नेताको रुपमा स्थापित भइसकेका थिए । त्यही वर्षको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन दलले उनलाई उम्मेदवार बनायो । त्यसबेला उनी ५१ वर्षका थिए । निर्वाचनको बेला घरघरमा आफूहरुलाई मन पर्ने उम्मेदवारको पोस्टर भित्तामा टाँगिन्थ्यो । न्यूजर्सी राज्यको वेष्टफिल्डस्थित एउटा घरमा पनि लिंकनको पोष्टर यसरी नै टाँगिएको थियो । उक्त घरकी ११ वर्षकी बालिका ग्रेस बेडेल लिंकनलाई मन पराउँथिन् । तर जब घरको भित्तोमा टाँगिएको पोष्टरमा फोटो देखिन् उनलाई लिंकन निकै ख्याउटे लाग्यो । दाह्री भइदिएको भए अझ सुन्दर र परिपक्व देखिन्छन् भन्ने लाग्यो । उनी निर्वाचनमा जसरी पनि लिंकनले जितुन् भन्ने चाहन्थिन् त्यसैले एकजना शुभेच्छुकको हैसियतले लिंकनलाई सम्बोधन गरी हत्त न पत्त पत्र लेखी हालिन् ।
श्रीमान लिंकन, अभिवादन !
म वेष्ट फिल्डकी बालिका हुँ । तपार्इंको शुभेच्छुक । तपाईं हामी सबैका पृय नेता हुनुहुन्छ । म चाहन्छु, तपाईं हाम्रो राष्ट्रपति बन्नुहोस् । ढुक्क हुनुस्, मेरो बुबा र ३ जना दाजुहरुको मत तपाईंले पाउनु हुनेछ । तपाईंको तस्वीर भर्खर देखेँ । तस्वीरले निकै आकर्षित ग¥यो । तर, त्यो अनुहारमा मैले एउटा चिज देखिन– दाह्री । त्यहाँ दाह्री भइदिएको भए तपाईं अझ बढी परिपक्व देखिनु हुन्थ्यो र सम्पूर्ण अमेरिकी जनताले पाको अभिभावकको रुपमा लिन पाउँथे भन्ने मलाई लाग्छ । दाह्रीले पक्कै तपाईंको अनुहार थप आकर्षक बनाउँछ । घरमा तपाईंको मजस्तै सानी छोरी छन् कि छैन थाहा छैन । छन् भने उनलाई मेरो प्रेम सुनाइदिनुहोला । तपाईंलाई मेरो यो पत्रको जवाफ दिन फुर्सद हुन्न भने उनलाई भए पनि पत्रको जवाफ लेख्न लगाउनुहोला । सफलताको शुभकामना !
– ग्रेस बेडेल वेष्टफिल्ड, न्यूजर्सी पत्र पाउनेबित्तिकै प्रत्युत्तर लेखेर लिंकनले बालिका ग्रेसलाई धन्यवाद दिए । तर, दाह्री पाल्न शुरु गर्ने वचन भने दिएनन् । पत्र यस्तो थियो–
स्प्रिंगफील्ड, अक्टोबर १९, १८६०
सुश्री ग्रेस बेडेल,
मेरी प्यारी सानी शुभेच्छुक, तपाईंको सुझावसहितको पत्र प्राप्त भयो । दुःखका साथ भन्नु परिरहेको छ कि मेरा कुनै छोरी छैनन् । छोरा मात्र छन् – एक सत्र, एक नौ र अर्को सात वर्षका । तिनीहरू आफ्नी आमासँग बस्छन् र यो नै मेरो सम्पूर्ण परिवार हो । जहाँसम्म दाह्रीको प्रश्न छ, मैले कहिल्यै पाल्ने गरेको छैन । यदि मैले यसलाई अहिले नै पाल्न थालें भने मानिसहरूले यसलाई मेरो मूर्खतापूर्ण प्रभाव नभन्लान् र ?
तपाईंको हार्दिक शुभेच्छुक,
अब्राहम लिंकन ।
एकदिन चुनावी प्रचारप्रसारको क्रममा लिंकन र उनको टोली वेष्टफिल्ड पुगे र ग्रेस बस्ने नगरमा सभा सम्पन्न गरिसकेपछि फर्कनु अगावै बालिकासित भेट्ने इच्छा ब्यक्त गरे । यो कुरा सुनेर ग्रेस निकै खुशी भइन् र भेट्न पुगिन् । ग्रेसलाई लिंकनले भने– ‘ल हेर्नुस्, तपाईंको सुझाव मानेर मैले दाह्री पाल्न थालें नि !’
छुट्ने बेला उनले ग्रेसको निधार चुमेका थिए । सानी बालिकाको सुझावलाई समेत महत्व दिने लिंकनले साँच्चै चुनाव जिते र १६ औं राष्ट्रपति बने । यसपछि कहिल्यै दाह्री पाल्न छोडेनन् । यसपछिका प्रायः सबै फोटोमा उनलाई दाह्रीमै देखिन्छ । ग्रेसले सन् १८६४ मा राष्ट्रपति लिंकनलाई संबोधन गरेर अर्को पनि पत्र लेखिन् । त्यसबेला उनी १५ वर्षको भइसकेकी थिइन् । पत्रमा उनले आफूले आमा–बुबालाई सघाउन खोजेकाले ट्रेजरीमा जागिर खान मद्दत मागेकी थिइन् । लिंकनले ग्रेसको यो पत्र पाउँदै पाएनन् वा प्रत्युत्तर दिन उपयुक्त सम्झेनन् । पत्र लेखेको केही समयपश्चात ग्रेसको सैन्य अफिसर जर्ज बिलिङससंग बिहे भयो र उनीहरु ओटावामा बसाइँ सरे । उता, सन् १८६५ को अप्रिल १५ मा लिंकन मारिए । हत्या हुँदा दोश्रो कार्यकाल शुरु भएको ४२ दिन मात्र बित्दै थियो । ग्रेसको निधन भने यो घटनाको धेरै पछि सन् १९३६ मा भयो ।
टिप्पणीहरू