कारबाहीपछि एमाले कार्यकर्ताको आक्रोश : कालोलाई कालो र गोरोलाई गोरो भन्न छाडिँदैन
सत्तारुढ नेकपा (एमाले)ले पार्टी अनुशासनको नाममा नेतृत्वको गलत कदमविरुद्ध औँला उठाउने नेतामाथि कारबाहीको डण्डा चलाएपछि पार्टीपंक्ति तरंगित भएको छ । प्रश्न उठाएकै कारण कारबाही गरिनु गलत हुने जनाउँदै विभिन्न तहका नेता–कार्यकर्ताले विरोध जनाइरहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको ठाडो प्रस्तावमा हिजो बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलको सदस्यता खोस्नुका साथै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले एमालेको तल्लो तहसम्मै खैलाबैला मच्चिएको छ ।
यो निर्णयलाई नेतृत्वमा रहेको निरंकुश, अलोकतान्त्रिक र स्वेच्छाचारी चरित्रको नाङ्गो रुप भनी टिप्पणी भइरहँदा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शान्तकुमार वलीले नेता त्रयमाथिको कारबाही गलत भएको प्रतिक्रिया दिएका छन् ।
उपाध्यक्ष विष्णु पौडेलनिकट मानिएका उनले नेतृत्वको आलोचना गरेकै कारण कारबाहीको डण्डा चलाउनु विडम्बना हो भन्दै गलतविरुद्ध बोल्न नछोड्ने बताए । ‘कालोलाई कालो र गोरोलाई गोरो भन्न नछाड्ने’ उनले प्रष्ट पारे ।
दशवर्षे सशस्त्र द्वन्द्वताका जीउधनको प्रवाह नगरी माओवादी आधार इलाका रोल्पामा एमालेको संगठन विस्तार गरेका वली तत्कालीन महासचिव माधवकुमार नेपाललाई चुनौती दिन्थे । वर्तमान अध्यक्ष केपी शर्मा ओली तत्कालीन ‘इतर खेमा’ को नेता रहँदा उनी सो समूहको राप्ती क्षेत्रका भरपर्दा सारथी मानिन्थे ।
एमाले रोल्पाका पूर्वअध्यक्ष समेत रहेका वलीले भनेका छन्, ‘नखाउँ भने दिनभरिको शिकार खाउँ त कान्छा बाबुको अनुहार अर्थात् माने मान नमाने कान वा काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर, कालोलाई कालो गोरोलाई गोरो भन्न छोडिँदैन, बसिँदैन दासी बनेर ।’
कतिपय केन्द्रीय सदस्यहरूले पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीका कारण इमान्दार नेता–कार्यकर्ताहरूलाई तर्साउनका लागि कारबाहीको तरबार उज्याइएको जिकिर गरेका छन् ।
टिप्पणीहरू