चितवनका चलचित्र पत्रकार र हल मालिकहरुको गुनासो
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग चितवनका चलचित्र पत्रकार र हल मालिकहरुले आफ्ना गुनासा पोखेका छन् । चलचित्र पत्रकार संघ चितवनले आज आयोजना गरेको ‘मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरुको सम्बन्ध’ विषयका अन्तरक्रियामा आफ्ना कुरा राखिएका हुन् ।
उनीहरुले जिल्लामा चलचित्र सम्बन्धी गतिविधिहरु धेरै भएपनि राजधानीका मिडियामा खासै समाचार नभएको धारणा राखेका थिए । पत्रकारहरु आर्थिक प्रलोभनमा पर्ने गरेका कुरा पनि अन्तरक्रियामा राखिएको थियो । चलचित्र सम्बन्धी समाचारहरु जिल्लाकै प्रिण्ट मिडियामा प्रथम पृष्ठमा नछापिने गरेको असन्तुष्टि त्यहाँ पोखियो ।
हलवालाहरुले आवश्यक पर्दामात्र पत्रकारलाई बोलाउने, अरु बेलामा वास्ता नगर्ने गरेकोमा पत्रकारहरुको चित्त दुःखाइ थियो । तर निर्माता र हलवाला रिसाउँछन् कि भनेर समाचारमा सम्झौता गर्न नहुने कुरा पनि सहभागीहरुले राखे । पछिल्लोसमय नेपाली चलचित्रहरु पनि राम्रा–राम्रा बनिरहेको र दिनको २०–२२ घन्टासम्म हल प्याक हुने गरेको अवस्थामा फिल्महलको व्यवस्थापनमा अलि बढी ध्यान दिन आवश्यक भएको बताइएको छ ।
अन्तरक्रिया कार्यक्रमअघि उपस्थित सञ्चारकर्मीहरुसँग अन्तरिक छलफल गर्दै बोर्ड अध्यक्ष डिसी भन्दै थिए, ‘हामीसँग स्टुडियो छैन, बनाउन खोज्दा मुद्दा परेको छ । मुद्दा हामी नै जित्छौं, हामीलाई स्टुडियो चाहिएको हो, त्यो ठाउँको जग्गा होइन ।’ पहिलेका अध्यक्षको पालामा भएका केही निर्णय ठिक नलागेर अहिले आफूले परिवर्तन गरेको पनि उनले सुनाए ।
पत्रकार संघले आयोजना गरेको संवाद कार्यक्रममा विगतमा भुवन केसीसँग विवाद भएको प्रसंग कोट्याउँदै अब त्यो ढंगको कार्यक्रम गर्न नहुने, बहस भएपनि सोधिने प्रश्न र शब्दमा ध्यान दिएर कार्यक्रम गर्न उनले आग्रह गरे । सो अवसरमा उनी अध्यक्ष भएपछि बोर्डद्वारा १०० दिनमा गरिएका कामहरुको संक्षिप्त विवरण लेखिएको पर्चा पनि सञ्चारकर्मीमाझ बाँडिएको थियो ।
चलचित्र पत्रकार संघको विभिन्न जिल्ला शाखा र प्रदेश शाखाका सञ्चारकर्मीहरु उपस्थित रहेको उक्त छलफल स्थानीय होटल ह्याप्पी होममा गरिएको थियो । नारायणगढको इन्द्रदेव, जलमा र क्यूएफएक्स सिनेमा हलका सञ्चालक पनि उक्त अन्तरक्रियामा सामेल थिए ।
टिप्पणीहरू